लमजुङ अस्पतालबाट एक वर्षमा सात हजारले लिए निःशुल्क सेवा

लोकपथ
21
Shares

लमजुङ । लमजुङ जिल्ला अस्पतालबाट एक वर्षमा सात हजार सेवाग्राहीले निःशुल्क उपचार सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा उपचारका लागि आएका ६ हजार नौ सय ५७ जनालाई अस्पतालले निःशुल्क सेवा दिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

निःशुल्क सेवा लिनेमा तीन हजार चार सय सात जना पाँच वर्षमुनिका बालबालिका छन् । अस्पताल प्रमुख श्रेष्ठकाअनुसार विभिन्न रोग र समस्या लिएर अस्पतालमा उपचारका निम्ती आएका गरिब, असाहाय, अपाङ्ग, ज्येष्ठ नागरिक लगायतलाई निःशुल्क सेवा दिएको हो ।

अस्पतालले निःशुल्कका स्वास्थ्य सेवा दिने क्रममा करिब दुई करोड रुपैयाँको सेवा दिएको प्रमुख श्रेष्ठले बताए । एक करोड ७२ लाख १० हजार तीन सय ७८ रुपैयाँ बराबरको निःशुल्क सेवा दिएको हो ।

अस्पतालले पाँच वर्षमुनिका बालबालिकाका निम्ती मात्रै ७४ लाख ७५ हजार नौ सय ९७ रुपैयाँ बराबरको सेवा दिएको अस्पतालले जनाएको छ ।

मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालित लमजुङ जिल्ला अस्पतालमा ११ महिनामा मात्रै ६३ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएको अस्पतालको तथ्यांक छ ।

११ महिनामा आठ हजार पाँच सय ४५ जनाले आकस्मिक सेवा लिएका छन् भने एक हजारभन्दा बढीले प्रसुति सेवा लिएका हुन् ।

नेपाल सरकारको स्वामित्वको यो १५ शैयाको अस्पताल ०५८ सालमा मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा आएको हो । अस्पतालमा हाल ६२ शैया रहेका छन् ।

अस्पतालले लमजुङलगायत वरपरका छिमेकी जिल्ला तनहुँ, गोरखा र मनाङका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?