काठमाडौं । कैलाली, टिकापुर नगरपालिका-९ स्थित खक्रौला चेकपोष्टबाट ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित बर्दिया राजापुर नगरपालिका-७ बस्ने २५ वर्षीय लक्ष्मण सुनारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो भे.१ ह् ४२७४ नम्बरको अटोलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सुनारसहित ४ जनालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, बाराको महागढीमाई नगरपालिका-१ स्थितबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर रक्सिराङ्ग गाउँपालिका-१ बस्ने २७ वर्षीय रमेशकुमार बल समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो गढीमाई मन्दिरको दक्षिण पट्टी शंकास्पद मानिसहरु बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बरियारपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका-६ बड्सारेबाट नियन्त्रित लागूऔषधसहित ३ जना किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नुरफिन १ सय एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन १ सय ९७ एम्पुल, नुरफिनको स्टिकर ९ सय १५ थान, मोबाईल ४ थान र १ थान पावर बैङ्कसहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने पारसनाथ गुप्ताको घरमा लागूऔषध प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-१ सिखर चोक बस्ने ३६ वर्षीय विपिन भन्ने वीरबहादुर थापालाई २ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागूऔषध सेवन तथा विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिरहाको औरही गाउँपालिका-५ स्थितबाट करिब २० केजी अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ दुई वटा जेब्रा झोला बोकी ३ जना मानिसहरु जादै गरेको अवस्थामा प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त गाजा फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया