छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

लोकपथ
14
Shares

काठमाडौं । रुपन्देही, मोरङ र झापामा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । रूपन्देहीको ओमतिया गाउँपालिका-४ बालापुरस्थित सडकमा लु.३ च ५५६४ नम्बरको पिकअप र लु.४० प ३२५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सोमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका-४ मटेरिया बस्ने २० वर्षीय अखलेस यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ गुप्ता नर्सरीस्थित सडकमा लु.४० प ५९८९ नम्बरको मोटरसाइकल मंगलबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मर्चवारी गाउँपालिका-१ बस्ने १९ वर्षीय रामचन्द्र केवट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङको विराटनगर महानगरपालिका-१४ राघाकृष्ण राईस मिल नजिक सडकमा ना.६ ख १८३४ नम्बरको ट्याङ्करको ठक्करबाट सोमबार साईकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही महानगरपालिका-१३ बस्ने ५५ वर्षीय विजय बानिया रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको बुद्धशान्ति गाउँपालिका-४ बर्नेस्थित सडकमा को.२ च २०६३ नम्बरको पिकअपले मे.१ ह ४६४४ नम्बरको अटोलाई सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटो चालक सोही गाउँपालिका-७ बस्ने ४१ वर्षीय भानु खड्का रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका भानुको सिटी अस्पताल हुँदै बी एण्ड सी अस्पताल विर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सिटी अस्पताल र अर्का एक जनाको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?