बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रंशसनीय रहेको जनाउँदै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए ।
कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारूले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्णखोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चित घोषणा गरेको जानकारी गराए ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवा प्रदान गरेको बताइन् ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्णखोप घोषणा गर्नका लागि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस, जिल्ला खोप समन्वय समितिबाट भेरिफिकेसन गरी पूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी गराए ।
उनले बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथि पूर्णखोप लगाएका एक लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारी दिए । उनले नौ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया