विनोद मृत्यु प्रकरण : ४ जना पुर्पक्षका लागि कारागार चलान

लोकपथ
133
Shares

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलकाअनुसार युवक शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

श्रेस्तदार पौडेलले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको बताए । अन्य फरार रहेकाहरुको खोजी गरेर पेश गर्न प्रहरीलाई आदेश गरिएको छ । हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाहीसहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको थिए ।

गत २१ जेठमा घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो तर, जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहितका तीन जना आरोपित विरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनीहरु प्रहरी कार्यालयबाटै छुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?