युवालाई स्वदेशमै आकर्षण गर्ने गरी सामाजिक सुरक्षा व्यवस्थित बनाउनुपर्छ : श्रममन्त्री कुँवर

लोकपथ
52
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगारका लागि ठुलो संख्यामा युवाहरु पलायन हुने क्रम बढिरहेकोले युवा पलायन रोक्नका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको ‘सामाजिक संरक्षणको दिगोपनाको लागि सामाजिक सुरक्षा कोषको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सो कुरा बताएका हुन् ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई सबल, सक्षम बनाउने कार्यमा सरकार सक्रिय भएको दाबी गरे । पछिल्लो समय युवा पलायन बढ्दा मुलुकको आयातमा मात्र भर पर्नुपरेको भन्दै यसले विदेशी मुद्राको सञ्चिति ह्रास आएको र राजस्वमा समेत गम्भीर असर पर्ने गरेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले पत्रकार र कलाकारहरुको समेत समाजमा ठुलो योगदान रहने भएपनि उनीहरुको भविष्य अन्धकार हुने गरेकाले पत्रकार र कलाकारहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्नेमा जोड दिए ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले १७ हजार रोजगारदाता संस्था रहेको मध्ये पाँच हजार संस्थाले मात्र सामाजिक सुरक्षा कोषमा आवद्धता जनाएकोले सबै रोजगारदाता कम्पनीहरुलाई कोषमा आवद्ध हुन आग्रह गरे ।

सचिव अर्यालले योगदानकर्ताले जीवनको उत्तरार्धमा पेन्सन पाउँछ, दुर्घटना हुँदा उपचार पाउँछ, घर बनाउँदा सहुलियत ऋण पाउँछ, बच्चा पढाउन पैसा पाइन्छ, त्यसैले सामाजिक सुरक्षा कोष आम श्रमिकवर्गका लागि जीवनपयोगी छ भन्दै सबै श्रमिकहरुलाई कोषमा आवद्ध हुन आग्रह गरे ।

आगामी आर्थिक वर्षको सुरुवातदेखि नै थप प्रभावकारि सामाजिक सुरक्षा कार्यक्रमहरु ल्याउने सचिव अर्यालले उद्घोष गरे । पछिल्लो समय ४५ लाख युवाहरु बैदेशिक रोजगारमा भएका जानकारी गराउनुहुँदै उनीहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन नेपाल सरकार र श्रम मन्त्रालय सक्रिय भएर लागेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?