नेपाल चीन लगानी सम्मेलनका लागि सहयोग गर्न महासंघको आग्रह

लोकपथ
52
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।

कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच बिहीबार महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो आग्रह गरेका हुन् ।

महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौँ, कार्यवाहक अध्यक्ष ढकालले भने ।

नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्न आवश्यक रहेकोमा पनि उनको विशेष जोड थियो । कोभिडपछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनियाँ लगानी ल्याउने कार्यमा हाम्रो कुटनीति सक्रिय रुपमा लाग्नुपर्ने उनको सुझाव थियो । कार्यवाहक अध्यक्ष ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवर्द्धन गर्ने कार्यमा र नेपालमा चिनीया पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

कार्यवाहक अध्यक्षले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनिया परिषदबीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा पनि जोड दिए ।

महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन १९९६ मा स्थापित नेपाल चीन गैरसरकारी सहयोग मंच मार्फतबाट समेत दुई देशबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, शीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कुटनीतिक तवरबाट पनि सहयोग हुनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा राजदूत श्रेष्ठले महासंघसँगको भेटघाट उपलब्धिमुलक भएको बताए । उनले भेटवार्ताका क्रममा महासंघबाट आएका सुझावलाई आफूले प्राथमिकताका साथ अगाडि लैजाने विश्वास दिलाए । उनले कृषि क्षेत्रको विकासको लागि सहकार्य गर्न चिनियां प्रविधि तथा लगानी भित्राउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकताको एक पक्ष रहेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?