सिंहदरबार वैद्यखानाको १ करोड रुपैयाँ बैंकबाटै गायब

लोकपथ
42
Shares

काठमाडौं । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।

धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो ।

काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने यो समिति आफैँ उपचार गर्नुपर्ने अवस्थामा पुगेकामा कार्यालय प्रमुखका रूपमा निमित्त कार्यकारी निर्देशक परिवर्तन भएपछि उत्पादन सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रूपमा निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादवलाई पठाएपछि उनको अग्रसरतामा शुक्रबारदेखि उत्पादन सुरु भएको हो ।

औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला पूर्वनिमित्त कार्यकारी निर्देशक डा. सबरी साहले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका थिए । डा. साहले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने जनाउँदै काम नभएको बेलामा पनि तलब खुवाएर राखेको दाबी गरेका थिए । उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन । शुक्रबारदेखि उत्पादन सुरु भएको त्रिफला केही दिनदेखि समितिको बिक्री कक्ष एवं बजारमा समेत पठाइने जनाइएको छ । षडबिन्दु तेललगायत अन्य उत्पादन पनि केही दिनमै सुरु हुने भएको छ ।

एक करोडको कोष गायब

समितिको नाममा बैंक अफ काठमाडौँ लुम्बिनीमा राखिएको १ करोड गायब भएको विषयले कर्मचारीबीच हल्लीखल्ली मच्चिएको छ । बैंकको मुद्दती खातामा राखिएको रकम कहाँ गयो भन्नेबारेमा जानकारी माग गरे पनि व्यवस्थापनले जवाफ दिएका छैनन् ।

अवकाश कोषमा राख्ने भनिएको १ करोड एनआइसी एसिया बैंकमा स्थानान्तरण गरी गायब बनाइएको कर्मचारीको गुनासो छ । समितिका पूर्व निमित्त कार्यकारी निर्देशक डा साह आफू आउनुभन्दा अघिको घटना भएकाले आफूलाई १ करोडका विषयमा थाहा नभएको बताए ।

समितिका लेखा अधिकृत रामप्रवेशप्रसाद जयसवाल भने १ करोड स्थानान्तरण गरी कार्यालयका नियमित काममा खर्च गरिएको दाबी गरे । त्यसबेला आफू लेखा अधिकृतको जिम्मेवारीमा नभएकाले यसको विस्तृत जानकारी भने आफूसँग नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?