बेँसीशहरका अधिकांश पसल मापदण्ड विपरित संचालित

लोकपथ
104
Shares

लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाका अधिकांश पसलहरु मापदण्ड विपरित रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङ र घरेलु तथा साना उद्योग कार्यालय लमजुङको संयूक्त बजार अनुगमनका क्रममा शुक्रबार बजारका विभिन्न पसलहरु मापदण्ड विपरित भेटिएका हुन् ।

बजार अनुगमनका क्रममा नगरको वडा नं. ७ र ८ मा रहेको विभिन्न पसल गरी ९ वटामा गरिएको अनुगमनमा ९ वटै विभिन्न पसलहरु मापदण्ड विपरित भेटिएको हो । घरेलु कार्यालयका प्रमुख मिताकुमारी थापाका अनुसार भिमसेनस्थान, नारायस्थान चोक, कृषि विकास बैंक टोलमा रहेका मसला उद्योग, किराना पसल, मेडिकल हल, भाडा पसल, रेष्टुरेन्ट, फेन्सी स्टोर्स, किराना तथा तरकारी फलफुल पसलमा अनुगमन गरिएको थियो ।

ती सबै पसलहरु मापदण्ड विपरित भेटिएको उनको भनाइ छ । उनका अनुसार मुल्य सूचि टाँस नगरिएको, बढि मुल्य लिएको, सरसफाई नभएको, म्याद गुग्रिएका सामाग्री रहेको, बिक्री बिल नदिने गरेको, मासु काठको मुढामा काट्ने गरेको, कपडा पसलमा कस्मेटिक सामाग्री दर्ता बिना बिक्री गरेको लगायतका मापदण्ड बिपरित गर्ने गरेको फेला परेको थियो ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले विभिन्न पसलहरु मापदण्ड विपरित भेटिएकाले उनीहरुलाई पहिलो चोटी भएकाले सामान्य जरिवाना मात्र गरिएपनि आगामी दिनमा पनि भेटिएमा कडा भन्दा कडा कानुन बमोजिम कारबाही गर्ने बताए । मापदण्ड अनुसार विभिन्न पसलहरु संचालन गर्नका लागि उनले अनुरोध समेत गरेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा गरिएको बजार अनुगमनमा घरेलु कार्यालयका प्रमुख थापा सहित, पत्रकार , सुरक्षाकर्मी लगायतको टोलीले अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?