२० बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियाे मधेस प्रदेशकाे प्रथम युवा महोत्सव

लोकपथ
0
Shares

जनकपुर । मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा शुभारम्भ भएको महोत्सव महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सम्पन्न भएको हो ।

महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हटिया, सांस्कृतिक साँझ र मधेसका मान कार्यक्रमपछि घोषणापत्र जारी गरिएको थियो ।

युवा अभियन्ता आनन्दकुमार सहनीले प्रस्तुत गरेको घोषणापत्रमा तीन वटै तहका सरकार युवामैत्री हुनुपर्ने निष्कर्ष निकालिएको छ । नगरहरू युवामैत्री नभई प्रदेश पनि हुननसक्ने भएकाले स्थानीय सरकारबाटै सुरुवात हुनुपर्ने सुझाव दिइएको छ ।

समुन्नत मधेस प्रदेशका लागि साझा अठोट नारा दिइएको महोत्सवको घोषणापत्रमा प्रदेशका सीमान्तकृत समुदायमा रहेका हरुवा चरुवा, दलित समुदाय, मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने युवालगायतका समूहहरूलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निस्शुल्क व्यवस्था गरी रोजगारीको सुनिश्चितता गर्ने प्रयत्न गरिने उल्लेख छ ।

युवाहरूको स्वरोजगार अभिवृद्धिका निमित्त स्थानीय तहसँगको समन्वयमा प्रदेश मन्त्रालयको पहलमा तालिम तथा वित्तीय साक्षरता कक्षाको सुनिश्चितता तथा सहुलियत रूपमा उचित पुँजी प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गरिने र सीमान्तकृत समुदायका युवाहरूलाई प्राथमिकता दिइने उल्लेख छ ।

बढ्दो डिजिटलाइजेसनसँगै युवाहरू प्रविधिको पहुँचमा पुगेको र उनीहरू गलत तथा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिको सिकार भइरहेको उल्लेख गर्दै यसबाट जोगाउनको लागि विभिन्न सचेतीकरण कार्यक्रमहरू सञ्चालन गरिने उद्देश्य लिइएको छ ।

युवाहरूलाई कुलतबाट जोगाउन विभिन्न नीतिगत व्यवस्था गर्दै आवश्यक सचेतीकरण कार्यक्रमहरू आयोजना गरिने घोषणापत्रमा भनिएको छ ।
मन्त्रालयको योजना तर्जुमामा अनिवार्य रूपमा युवाको सहभागिता गराइने र युवा विकासका लागि बजेट विनियोजन गरिने उल्लेख छ ।

विकास निर्माणमा युवाहरूको अर्थपूर्ण सहभागिताका लागि स्थानीय तहसँगको समन्वयमा प्रदेशभित्रका युवा समूहहरूको क्षमता विकास र संस्थागत विकासमा सहयोग र आबद्धताको व्यवस्था गरिने उल्लेख छ ।

प्रदेशका युवाहरूको संस्थागत रूपमा नै समग्र विकासका निमित्त उचित व्यवस्था गरिने र यसका लागि प्रदेश युवा परिषद्लगायतका आवश्यक संरचना निर्माणका निमित्त नीतिगत व्यवस्था सँगै अन्य पहल गरिने संकल्प लिइएको छ ।

भारतसँग सीमा जोडिएको मधेस प्रदेशको सीमा वारपार हुने कुलतको जोखिम, मानव बेचबिखन तथा अन्य आपराधिक क्रियाकलापहरूलाई रोकथामका निमित्त एउटा छुटै संयन्त्र निर्माण गरी परिचालन गर्न आवश्यक पहलकदमी गरिने महोत्सवको संकल्प छ ।

युवाका विचारहरूलाई प्राथमिकता दिँदै स्वरोजगारको विकास गर्नका निमित्त उचित विचारहरूलाई प्राथमिकता दिँदै उक्त विचारहरू कार्यान्वयन गर्नका निमित्त कोषको व्यवस्था गरी आवश्यक पहलकदमी गरिने घोषणापत्रमा भनिएको छ ।

सबै प्रकारका अपांगतामा रहेका युवाहरू, यौनिक तथा अल्पसंख्यक युवाहरू तथा पछाडि पारिएका युवाहरूको संरक्षण तथा विकासका निमित्त आवश्यक व्यवस्था गरिने उल्लेख गर्दै घोषणापत्रमा उनीहरूको राजनीतिक सहभागिताको सुनिश्चितता लागि पनि उचित पहल गरिने संकल्प लिइएको छ ।

समाजमा विद्यमान रहेका दाइजो प्रथा लगायत अन्य हानिकारक सामाजिक मूल्य मान्यताहरू न्यूनीकरणका निमित्त भएका कानुनहरूको उचित तथा प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी पहल गरिने उल्लेख गरिएको छ ।

प्रदेशअन्तर्गत युवा सम्बन्धी विषयमा गठन हुने विभिन्न समितिहरूमा युवालगायत सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्दै समावेशीकरणको सुनिश्चितता गरिने संकल्प घोषणापत्रमा लिइएको छ ।

घोषणापत्रमा युवाहरूका निमित्त औपचारिक शिक्षाका साथै जीवनोपयोगी शिक्षा तथा जीवन पर्यन्त सिकाइको व्यवस्था गरिने उल्लेख छ ।

विभिन्न अभियानमा संलग्न भएका युवाहरूको अभियानलाई उच्च कदर गर्दै उनीहरूलाई यस मन्त्रालयको कार्यक्रमहरूमा पनि उचित स्थान प्रदान गरिने, विभिन्न हिंसा तथा मानव बेचिविखनबाट प्रभावित महिलाहरूको संरक्षणका निमित्त मनोसामाजिक परामर्श, कानुनी संरक्षणको व्यवस्था लगायत अन्य आवश्यक उचित व्यवस्था गरिने प्रतिबद्धता घोषणापत्रमार्फत गरिएको छ ।

त्यसैगरी मधेस प्रदेश विपद् जोखिम संवेदनशीलतामा रहेकाले युवाहरूको नेतृत्वदायी सहभागिताका लागि विपद् न्यूनीकरणका गतिविधिहरू सञ्चालन गर्न आवश्यक व्यवस्था गरिने उल्लेख छ ।

मधेस प्रदेश कृषिको क्षेत्रमा उच्च रूपमा सम्भावना भएको क्षेत्र भएकाले यस कार्यमा लागेका युवाहरूको वृत्ति विकासका लागि आवश्यक सामग्रीलगायत क्षमता विकासका लागि आवश्यक व्यवस्था गरिने संकल्प गरिएको छ ।

प्रदेशमा रहेका युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलगायत जिमहरूको आवश्यक मात्रामा व्यवस्था गरिने र प्रदेशअन्तर्गत प्रदान गरिने स्वास्थ्य सेवाहरू युवा मैत्री बनाउनका निमित्त सम्बन्धित निकायहरूसँगको समन्वयमा आवश्यक पहल गरिने साँझ अठोट लिइएको छ ।
साथै युवाहरूको नेतृत्वमा सञ्चालन गरिने विभिन्न अनुसन्धान कार्यहरूको सहयोगका निमित्त आवश्यक व्यवस्था गरिने र सञ्चालित कार्यक्रमहरूको आवधिक रूपमा समीक्षा पनि सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।

अन्तिममा मधेस प्रदेशलाई देशकै युवा मैत्री प्रदेश निर्माणका लागि सरकारी पहल सँगै तमाम युवाहरू र सरोकार राख्ने सम्पूर्ण निकायसँग समन्वय, सहकार्य र सहयोग गरी यस अभियानलाई साझा अभियान बनाउँदै अगाडि बढिने संकल्प घोषणापत्रमार्फत गरिएको छ ।

मधेसका मानहरू सम्मानित

महोत्सवमा मधेसका मानहरू सम्मानित भएका छन् । मधेसमा जन्मिएर देश र विदेशमा आफ्नो काम र योगदानबाट नाम चम्काउन सफल मधेसका हिरोहरूलाई महोत्सवमा सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा डाक्टर रामजी राम, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी मैबुब आलम, उद्यमी अमर मण्डल, मिस नेपाल युनिभर्स सन्ध्या शर्मा, कल्याणपुर नगरपालिकाकी कम उमेरकी उपमेयर रेखाकुमारी यादव, कोरियोग्राफर अश्विनीकुमार झा, सुरेन्द्र महतो शारीरिक सुगठन खेलाडी, युवा अभियन्ता विकाशकुमार ठाकुर रहेका छन् ।

सम्मानित हुँदै डाक्टर रामले युवाहरूको प्रतिभा, जागरण जोस प्रोत्साहन गर्नुपर्छ भन्ने सोच मधेस प्रदेश खेलकुद मन्त्रालयमा देखिएको हर्ष व्यक्त गरे । ‘युवा अवस्थामा कठिनाइ हुन्छ । आँट हुँदैन । त्यसमा गुरुहरू हुन्छन् । आमाबुवा हुन्छन् । कठिनाइसँग सामना गर्दै गए सफल भइन्छ,’ उनले भने ।

देशलाई जुनसुकै परिस्थितिबाट ट्याकमा ल्याउने शक्ति युवा भएको उल्लेख गर्दै उनले मधेसमा आउने बाढीपहिरोमा युवा नै उद्धारका लागि अग्रस्थानमा जाने स्मरण गरे । युवाको जोसलाई केन्द्रित गरेर बाटो देखाइदिन उनले मन्त्रालयलाई सुझाव दिए ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आलमले मधेसको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको बताए । ‘राष्ट्रको नाममा कीर्तिमान, गिनिज बुक अफ रेकर्ड प्राप्त गरेको छु । मधेसको साथले, देशको साथले सफल भए,’ उनले भने, ‘१८ वर्षको उमेरदेखि खेलिरहेको छु । मधेसको हौसला र साथ सहयोगले मैले अझै प्रगति गर्नेछु ।’

वैदेशिक रोजगारीबाट फर्केर मधेसमा युवाको प्रेरणाको स्रोत बनेका उद्यमी मण्डलले युवालाई कृषि र उद्यमीमा जोड्नुपर्ने सुझाए । ‘आफ्नो उत्पादन आफै गर्ने, किनेर खाने प्रवृत्ति निर्मूल पार्ने लक्ष्य हो । यसका लागि सहायता गरिरहेका छौं । विद्युतीय मेसिन बनाउने प्रयास पनि गरिरहेका छौं । प्रयास गर्ने व्यक्ति सफल हुन्छ । विदेशमा कम एक लाख कमाउँथे । औजार मर्मतको काम गर्थे । आधुनिक अ‍ैजार ल्याउन प्रयत्न छौं,’ उनले भने ।

महोत्तरी निवासी मिस नेपाल शर्माले आफूले चुरे संरक्षणका लागि प्रयत्न गर्दै आएको भन्दै साथ दिन युवाहरूलाई अपिल गरिन् । ‘प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न चाहन्छु । युवाहरूलाई चुरे संरक्षणमा लाग्न अपिल गर्छु । चुरे संरक्षण अहिले नै गरिएन भने १० वर्षपछि ठूलो चुनौती आउनेछ,’ उनले भनिन् ।

शर्माले मधेस प्रदेश सोचमा पिछडिएको बताइन् । ‘यहाँ युवा उपमेयर छन् । म मिस नेपाल छु । यहीँबाट आशा सिंह एआईजी हुनुहुन्छ । हामी पछाडि परेको सोचले हो,’ उनले भनिन् ।

रिबन इन्टरटेनमेन्ट सञ्चालन गरेर मिसेज नेपाल कन्टेस्ट चलाउँदै आएका कोरियोग्राफर झाले प्रयत्न गर्दै गए सफलता प्राप्त हुने बताए । ‘सुरुमा मलाई बाधाहरू थिए । त्यसलाई चिर्दै गए । सफलता प्राप्त गर्न प्रयत्न गर्नुपर्छ । युवा ऊर्जालाई राज्यले उपयोग गर्नुपर्छ,’ उनले भने ।

शारीरिक सुगठन खेलाडी महतोले २४ घण्टामा १ घण्टा शरीरलाई दिन युवाहरू अपिल गरे । ‘१ घण्टा निकाल्न केही गाह्रो छैन । खेलमा स्टामिना चाहिन्छ । युवाहरू बलियो भयो भने देश चिनाउने अवसर हुन्छ,’ उनले भने ।

युवा अभियन्ता ठाकुरले ७ वर्षदेखि युवा क्षेत्रमा क्रियाशील रहेको र मिडिया उद्यमी पनि रहेको बताए । ‘युवा भनेको अफ्ठेरो र चुनौतीसँग खेल्ने अवस्था हो । मैले यही अठोटका सफलता हात पारे । यहाँका युवाहरूले पनि प्रयास गर्नुपर्छ । सफलताले आफैँ पछ्याउँछ,’ उनले युवाहरूलाई भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?