झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्घाटन

लोकपथ
65
Shares

ललितपुर । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा आएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाईट जडान गरि संचालनमा ल्याएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकउमेश राज जोशीलेउक्त नयाँ ट्राफिक लाईटको स्वीच अन गरी उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालयका वडा अध्यक्ष गोपाल महर्जनले ट्राफिक लाईट जडानबाट आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने कुरामा जोडिन पाउँदा हर्षित रहेको र सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताए ।

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । हाल उपत्यकाको मुख्य ४० चोकहरुमा ट्राफिक लाईटबाट सवारी व्यवस्थापन हुदैँ आएको छ भने १३ स्थानमा परिक्षण गरी सञ्चालनको प्रकियामा रहेको र सात स्थानमा जडान कार्य भइरहेको छ ।

 

ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा ट्राफिक लाईटको पूर्ण पालना गरि ट्राफिक व्यवस्थापन सहयोग गर्न सम्पूर्ण सवारी चालक तथा पैदलयात्रीहरूलाई ट्राफिक कार्यालयले विशेष अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?