दशगजामा चीनले तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा प्रदर्शन

लोकपथ
52
Shares

काठमाडौं । उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले सोमबार राजधानीमा प्रदर्शन गरेको छ। दशगजाभित्रै चीनले तारबार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

माइतिघरबाट सुरु भएको विरोध र्‍याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो। विरोध र्‍यालीमा ‘गो ब्याक चाइना, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाईएको थियो।

बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सम्बोधन गर्दै उनले चीनले दशगजामै तारबार र भौतिक संरचना बनाउँदा समेत नेपाली प्रशासन मुकदर्शक भएर बसेको भन्दै आक्रोश व्यक्त गरे।

सीमा सम्बन्धि अन्तर्राष्ट्रिय मान्यता अनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउन वा तारबार लगाउँन पाईदैन। त्यसका लागि दुईपक्षीय सहमति आवश्यक पर्छ। तर, रुईला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ।

दशगजामा तारबार लगाएपछि नेपाल–चीन आवतजावत बन्द छ। अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। त्यहाँ चीनले सीसी क्यामेरा राखेर निगरानी समेत गर्ने गरेको छ।

यसअघि चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो। तर, पछि त्यसलाई हटाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?