नुवाकोटमा बाढी पहिरो : ककनीकाे १० घर जोखिममा, कहाँ कहाँ के भयो ?

लोकपथ
936
Shares

नुवाकोट । निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ ।

केही दिन देखिको निरन्तर वर्षाको कारण आएको बाढी पहिरोले ककनी, लिखु, शिवपुरी लगायत जिल्लाका विभिन्न स्थानमा जनजीवन प्रभावित बनेको हो ।

केही दिनदेखि आएको वर्षाको कारण लिखु गाउँपालिका वडा नं ३ मा एक घर पुरिएको छ । त्यसैगरी अन्य ४/५ घर जोखिममा परेको लिखु गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सिताराम पुलामी मगरले लोकपथलाई जानकारी दिए । पहिरोमा पुरिएर एउटा खसी समेत मरेको उनले बताए ।

‘निरन्तर आएको वर्षाको कारण लिखु-३ एउटा घर पहिरोले पुरिएको र अन्य ४÷५ वटा घर जोखिममा परेका छन् । पहिरोमा पुरिएर एउटा खसि मरेको छ ।’ उनले भने ।

त्यसैगरी पालिकाभरिका धेरै स्थानहरुमा बाढी र पहिरोको जोखिम रहेको उनको भनाइ रहेको छ ।

लिखु ३ को प्रभावित क्षेत्रमा भने वडाको पहलमा डोजर परिचालन गरेर उद्धार कार्य भइरहेको छ ।

‘बाढी पहिरोबाट हालसम्म कुनै पनि मानवीय क्षती भने भएको छैन । वडाको पहलमा डोजर परिचालन गरेर उद्धारको काम भइरहेको छ ।’ उनले भने ।

यता ककनी गाउँपालिकाको पनि पहिरोका कारण विभिन्न स्थानहरुमा जोखिम बढेको गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए ।

ककनी-५ को ढुंग्यान भन्ने स्थानमा माथिबाट पहिरो खस्न थालेपछि जोखिम बढेका कारण त्यहाँको १० घर विस्थापित गरि अन्यत्र सार्न लागिएको उनले बताए ।

‘ढुंग्यान टोल भन्ने ठाउँमा माथिबाट पहिरो खस्न थालेपछि त्यहाँको करिब १० घरपरिवार जोखिममा परेको छ । गाउँपालिकाको पहलमा सबैलाई त्यहाँबाट अन्यत्र सारी टहरोमा राख्ने व्यवस्था गरिरहेका छौँ ।’ उनले भने ।

त्यसैगरी अन्य वडा र समग्र पालिकामा धेरै स्थानमा पहिरोले असर पुर्याएपनि ठूलो धनजनको क्षती नभएको उनको भनाइ रहेको छ ।

केही दिनयता परेको वर्षाको कारण जिल्लाका विभिन्न स्थानहरुबाट जोखिमका सूचनाहरु प्राप्त भइरहेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले लोकपथलाई जानकारी दिए । उनका अनुसार जिल्लाको शिवपुरी ६ मा केही घरहरुमा क्षती भएको छ । त्यसैगरी गुर्जेभञ्ज्याङ, सामरी भञ्ज्याङमा बाढी पहिरोको कारण बाटो अवरोध भए पनि अहिले अवरोध हटेको छ ।

‘जिल्लाका विभिन्न स्थानहरुबाट बाढी पहिरोको जोखिमका कारण समस्या परेको भन्ने खबरहरु आइरहेको छ । धेरै जसो शिवपुरी-६, ककनी ५ र अन्य स्थानहरुमा धेरै घरहरुमा क्षती पुगेको भन्ने सूचना प्राप्त भइरहेको छ । यता गुर्जेभञ्ज्याङ, सामरी भञ्ज्याङको बाटो बन्द भएपनि अहिले खुलेको छ ।’ उनले लोकपथसँग भने ।

त्यसैगरी स्थानीय तह र सुरक्षाकर्मीहरुको समेत सहकार्यमा जोखिममा रहेका स्थानहरुमा उद्धारको काम भइरहेको उनले बताए । ‘हालसम्म जोखिममा रहेका स्थानहरुमा स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी समेतको पहलमा उद्धारको काम भइरहेको छ ।’ उनले भने ।

केही दिन यता नेपालमा मनसुन सक्रिय हुँदा देशका विभिन्न स्थानहरुमा बाढी पहिरोको कारण जनजीवन प्रभावित भएको समाचारहरु आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?