मेयर सा‘प पुँजीपति मात्र होइन विद्यार्थी पनि अनसनमा छन् है !

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बुधबार खुमलटारमा रहेको नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा पुगे । पुँजीबजारको सुधारको माग गर्दै आमरण अनशन बसेका तिलक कोइरालाई भेट्न र उनको अनसनलाई समर्थन गर्न मेयर बालेन खुमलटार पुगेका थिए ।

गत असार १ गतेदेखि पुँजीबजार सुधारको मागसहित तिलक कोइरालाई धितोपत्र बोर्ड अघि आमरण अनसनमा बसेका छन् । त्यहाँ पुगेर बालेनले पुँजीबजार सुधार र विस्तारका लागि लगानीकर्ताहरुले गरिरहेको आन्दोलनप्रति आफूहरुको साथ र समर्थन रहेको पनि बताए । उनले पुँजीबजारका लगानीकर्ताहरुको माग सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने पनि बताउन भ्याए । त्यती मात्रै होइन स्वतन्त्र पुँजी बजार संघका केन्द्रीय अध्यक्ष रोहन कार्कीका अनुसार अनसन परिसरमा मेयर बालेनले घुम्ति शौचालयसमेत उपलब्ध गराएका छन् ।

पुँजी बजारको पहिरोलाई रोक्न सुरु भएको आन्दोलनमा बालेनको समर्थन जायज छ । यसमा कसैको विरोध पनि छैन । तर, खुमलटारसम्म पुगेका मेयर बालेनको नजरमा विगत १४ दिनदेखि त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगंजमा आन्दोलनरत रहेका विद्यार्थीहरूमा किन पुगेन ? यो प्रश्न मेयर बालेनलाई ती आन्दोलनरत विद्यर्थीहरुको तर्फबाट हो ।

ललितपुर महानगरसम्म समर्थनको भारी बोकेर पुग्न सक्ने बालेन आफ्नै पालिकाभित्र विगत १४ दिनदेखि आफ्नो अधिकार माग्दै अनसनमा बसेका विद्यार्थीमाझ किन जान सकेनन् ?

त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान, महाराजगन्जले एमबिबिएस र बिडिएसको दोस्रो वर्षमा ४ पटकसम्म अनुत्तीर्ण हुनेलाई बिनाआधार मौका परीक्षाबाट वञ्चित गराएको भन्दै विगत १४ दिनदेखि विद्यार्थीहरू आन्दोलनमा छन् । तर, उनीहरूको माग बारे अहिलेसम्म कतैबाट पनि सुनवाइ हुन सकेको छैन ।

पीडित विद्यार्थीहरू सङ्घर्ष समिति नै गठन गरेर रिले अनसनमा छन् । लोकपथसँग कुरा गर्दै सङ्घर्ष समितिका संयोजक राजीव दास भन्छन्,‘महानगरको मेयरको हिसाबले त उहाँ यहाँ आएर हाम्रो जायज मागलाई समर्थन जनाउनुपर्ने हो । तर, मेयरसम्म हाम्रो पहुँच नपुगेरको हो की ?’

नियमानुसार एक जना विद्यार्थीले एमबिबिएस, बीडिएस शैक्षिक कार्यक्रमको दोस्रो वर्षको परीक्षामा ४ पटकसम्म परीक्षा दिन पाउँछन् । ४ पटकसम्म पनि अनुत्तीर्ण हुने विद्यार्थी स्वतः शैक्षिक कार्यक्रमबाट हटाइन्छन् । त्यस्तै त्रिवि दर्ता रजिस्ट्रेसनबाट समेत बाहिरिन्छन् ।

विद्यार्थीलाई मौका परीक्षा दिन संस्थानले यसअघि सहमति जनाएको थियो । तर, अहिलेसम्म कार्यान्वयन भने भएको छैन । ४ वर्षे ब्यारियरमा परेका एमबिबिएस र बिडिएसका विद्यार्थीहरूका लागि तत्काल मौका परीक्षाको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

‘मेयर सा‘प पुँजी बजारको अनसनमा त जानु भएछ अब हामी विद्यार्थीको पक्षमा बोल्न पनि आउनुहुन्छ की ?’ अनसनमा रहेका एक विद्यार्थीले भने, ‘हामी बाहिरी जिल्लाबाट यहाँ पढ्न आए पनि यो समस्या त सबैको हो नी ! यस समस्याको समाधान गर्न यहाँको मेयरले पनि चासो राख्नुपर्छ ।’

समग्रमा हेर्ने हो भने दुबै अनसन जायज माग गर्दै बसेको छ । तर, पहुँच भएकै भरमा कसैलाई समर्थनको ओइरो त कसैलाई पानी पानि सोध्न कोही नहुनेले चाँहि हाम्रो समाजको यथार्थतालाई छर्लङ्ग पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?