पोर्चुगल पठाइदिन्छु भन्दै नक्कली कागजात दिई ठगी गर्ने पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भन्दै नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका(६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठ रहेका छन् ।

रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ एवं हवाई टिकटको लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो ।

साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?