बागमती प्रदेशका १३ जिल्लाको कुल औद्योगिक कर्जा ९ खर्ब ७३ अर्ब

लोकपथ
65
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच, वित्तीय समावेशिता र आर्थिक समृद्धिका जतिसुकै ठूला कुरा गरेको भएपनि व्यवहारमा भने कही कतै पनि त्यस्तो हुन नसकेको देखिएको छ । बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो लगानीको सुरक्षा र बजारलाई समेत हेरेर कर्जा प्रवाह गर्दा सुगम र सहरी क्षेत्रमा मात्र कर्जा केन्द्रित हुँदा राष्ट्र बैंकको वित्तीय पहुँच र वित्तीय समावेशिता खाली नारामा मात्रै सीमित देखिएको हो ।

नेपाल राष्ट्र बैंक स्वंयमले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धि बागमती प्रदेशको अर्ध–वार्षिक प्रतिवेदन अनुसार पनि बैंकिङ क्षेत्रको कर्जामा सबैको पहुँच स्थापित हुन नसकेको देखिएको हो । प्रतिवेदन अनुसार बागमती प्रदेशमा १३ वटा जिल्लाहरु रहेका छन् । चालू आर्थिक वर्षको छ महिनाामा बैंक तथा वित्तीय संस्थाले यो प्रदेशको औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ८ दशमलव ६ प्रतिशतले वृद्धि भई ९ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ९ दशमलव ८ प्रतिशतले वृद्धि भई ८ खर्ब ९६ अर्ब ४२ करोड पुगेको थियो । प्रतिवेदन अनुसार बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७ दशमलव ४ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ८ खर्ब ५६ अर्ब ४७ करोड अर्थात ८८ दशमलव  प्रतिशत कर्जा लगानीमा रहेको छ ।

तर यही बीचमा बागमती प्रदेशको दुर्गम मानिने रसुवा जिल्लामा भने सबैभन्दा कम ३२ करोड अर्थात ० दशमलव ०३ प्रतिशत मात्र कर्जा प्रवाह भएको छ । प्रतिवेदन अनुसार कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी अर्थात २७ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम निर्माण सम्बन्धी उद्योगमा (४ दशमलव ७ प्रतिशतले) वृद्धि भएको छ ।

यसैगरी, गैरखाद्य वस्तु उत्पादन सम्बन्धि उद्योगमा १७ दशमलव ७ प्रतिशत र विद्युत, ग्यास तथा पानी सम्बन्धि उद्योगमा ८ दशमलव ३ प्रतिशतले कर्जा बढेको छ भने खानी सम्बन्धि उद्योगमा ३ दशमलव २ प्रतिशतले र कृषि, वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा ८ दशमलव ५ प्रतिशतले घटेको छ ।

प्रतिवेदन अनुसार बागमती प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जा मध्ये दोलखामा ० दशमलव १२, सिन्धुपाल्चोकमा ० दशमलव ०६ छ, धादिङमा ० दशमलव ३३, नुवाकोटमा ० दशमलव २५, भक्तपुरमा १ दशमलव १३, ललितपुरमा ३ दशमलव ८०, काभ्रेमा ० दशमलव ७१ प्रतिशत कर्जा प्रवाह भएको छ । यसैगरी, रामेछापमा ० दशमलव ०७, सिन्धुलीमा ० दशमलव १७, मकवानपुरमा १ दशमलव ४० र चितवनमा ३ दशमलव ९२ प्रतिशत कर्जा प्रवाह भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?