भारत सरकारको सहयोगमा सर्लाहीमा निर्माण भएको विद्यालय भवन उद्घाटन

लोकपथ
21
Shares

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगञ्जस्थित श्रीफौद सिंह जनता माध्यामिक विद्यालयको दुईतले भवन उद्घाटन भएको छ ।

शनिबार एक कार्यक्रमकाबीच मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा भारतीय महावाणिज्यदूत नितेश कुमारले दुई तल्ले भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

भारत सरकारको ७.८३ मिलियन (७८,३०,०००)सहयोगमा निर्माण भएको उक्त परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने आजादी का अमृत महोत्सवअन्तर्गत नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरू मध्ये एक हो।

नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्‍याउने विश्वास लिएको नेपालस्थित भारतीय महावाणिज्यदूतावासले जनाएको छ ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान पन्ध्र वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको हो ।

सन् २००३ देखि, भारतले नेपालमा ५२७ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपीहरू) लिएको र सातवटै प्रदेशहरूकै तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७१ परियोजनाहरू पूरा गरेको जनाइएको छ। तीमध्ये २० आयोजनाहरू सर्लाही जिल्लामा छन् । यी बाहेक भारत सरकारले विभिन्न स्वास्थ्य चौकी र एनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको बताइएको छ ।

उक्त विद्यालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रम अन्तर्गत निर्माण गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका जनता लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?