मर्स्याङ्दीमा बेपत्ता भएकाहरुको खोजी गर्न गोताखोरको प्रयोग

लोकपथ
343
Shares

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएर मर्स्याङ्दीमा खस्दा बेपत्ता भएकाहरुको खोजी गर्न प्रहरीले गोताखोरको प्रयोग गरेको छ ।

आज बिहान अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा एउटा कार पनि परेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार गोताखोरले नदिबाट दुई जनाको शव निकालेका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । कारमा कति जना थिए भन्ने केही खुलेको छैन ।

सडक भासिएपछि मुग्लिन–पोखरा सडकखण्डमा सवारी आवागमन बिहान ५ बजेदेखि अवरुद्ध भएको छ । सवारीसाधनलाई पोखरा र मुग्लिन आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ ।

अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?