काठमाडौं । मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।
यसवर्षको मनसुनजन्य विपदबाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरुले बताइरहेका छन् । यस वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् । यसवर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट पश्चिमका क्षेत्रमा अत्याधिक वर्षा हुने मौसमविद्हरुको आकलन छ ।
त्यस्तै, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पुर्याउन सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरुको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पुर्याउनुपर्ने बताइन् । उनले बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्रै सारेर बेलैमा व्यवस्थापन गर्नुपर्ने बताइन् । सचेतक भुसालले विगतका घटनाहरुबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताइन्। सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्।
नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताए । उनले मनसुनबाट हुने क्षतिलाई अहिले नै अनुमान गर्न नसकिने भन्दै कमभन्दा कम क्षति हुनेगरी पूर्वतयारीमा जुट्नुपर्ने बताए । घटनापछि तत्काल ‘रेस्पोन्स’ गर्न सक्नुपर्ने उनले बताए ।
नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्याधिक रुपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताए । उनले विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने बताए । विपद्को सम्बन्धमा सरकारले सचेतना फैलाउनुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर राख्नुपर्ने पनि उनको भनाइ छ । उनले सरकारले कुनै पूर्वतयारी नगरेको बताए ।
सांसद पाठकले विपद् व्यवस्थापनमा स्थानीय तहले विशेष रुपमा ध्यान दिनुपर्ने बताए । उनले स्थानीय तहले पनि पर्याप्त बजेट विपत व्यवस्थापन र पूर्वतयारीका लागि छुट्याउनुपर्ने बताए । साथै विपद् परेको अवस्थामा तत्काल उद्धार गर्नका लागि एउटा युनिट गठन गरिराख्न पनि उनले स्थानीय तहलाई आग्रह गरे।
त्यस्तै, जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यसवर्ष प्रदेश १ को हिमाली भूभाग र मधेस प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताए । उनले विशेष गरी काठमाडौंबाट पश्चिमका क्षेत्रहरुमा बढी पानी पर्ने भएको भन्दै सरकारले माप पूर्वतयारी थाल्नुपर्ने बताए । उनले हरेक जिल्लामा पूर्व सूचना प्रणालीको विकास गरेर र सुरक्षा निकायहरुलाई सजग गराएर राख्नुपर्ने अवस्थाको थालनी गर्न ढिलाइ गर्नुनहुने बताए ।
विज्ञ उप्रेतीले ७५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपत्कालीन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्व तयारी थाल्नुपर्ने बताए । बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकोले त्यसतर्फ सचेत रहनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया