राजधानीमै मोटरसाइकल बगाएको मनसुनले यसपाली के-के ताण्डव गर्ने हो !

काठमाडौं । आज देशका सबैजसो समाचार माध्यममा एउटा समाचारले प्राथमिकता पायो । समाचरकाे शीर्षकहरू थिए, ‘टुकुचा खोलाले बगायो मोटरसाइकल, चालकको उद्धार’, ‘टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगायो’, ‘लाजिम्पाटमा मोटरसाइकलसहित युवकलाई बगायो खोलाले’… आदि ।

समाचार समान्य नै भएपनि यो घटना घटेको थियो देशकै राजधानी भनेर चिनिने काठमाडौंमा । त्यो पनि राजधानीको व्यस्तमध्येको स्थान लाजिम्पाटमा ।

घटना यस्ताे थियाे :

काठमाडौंको लाजिम्पाटस्थित निल सरस्वतीस्थान नजिकबाट टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगाएको हो । वर्षाका कारण टुकुचाको बहाव बढ्दा बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल चालकसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

धापासी घर भएका २१ वर्षका मोटरसाइकल चालक सुरज अर्याललाई सकुशल उद्धार गरिएको छ । तर, बगाएको मोटरसाइकल भने फेला परेको छैन ।

यो त यस पटकको मनसुनको सुरूवाती अवस्था मात्र हो । यस वर्ष समयभन्दा हप्ता दिनअगाडि नै नेपालमा मनसुन प्रवेश गरेको छ भनेर जल तथा मौसम विज्ञान विभागले हप्ता दिनअघि नै सूचना जारी गरिसकेको थियो ।

विभागका अनुसार यस वर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा पूर्णरुपले मनसुन सक्रिय हुन भने अझै एक हप्ता लाग्ने विभागले जनाएको छ ।

मनसुनको सुरूवातीमा देशको राजधानीकै अवस्था यस्तो छ भने तरार्इ र पहाडी क्षोत्रमा कस्तो हुने हो सजिलै आकलन गर्न सकिन्छ ।

हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेकोमा यस वर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको छ । गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो ।

१५ वर्षपछि यस पटक समयअगावै मनसुन भित्रिएको हो । यसअघि २०६३ सालमा पनि जेठ १८ गते नै नेपालमा मनसुन प्रवेश गरेको थियो ।

समयअगावै मनसुन भित्रिँदा आत्तिहाल्नु पर्ने अवस्था छैन । तर यसो भनिरहँदा हामी सबैले सावधानीसँगै पूर्वतयारीमा भने रहनै पर्छ ।

चाँडै भित्रिएको मनसुनका कारण बाढीको सम्भावना पनि उति नै उच्च रहने भएकाले खोलानाता तथा नदीको तटीय क्षेत्र र पहिरोको जोखिममा रहेको पहाडी क्षेत्रमा बसोबास गर्नेहरुले भने समयमै सतर्कता अपनाउँदा सुरक्षित हुन सकिन्छ ।

बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आइतबारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल बताउँछिन् ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । गत वर्ष पनि सरदरभन्दा बढी नै वर्षा भएको थियो । तर समयमै सतर्कता अपनाएर सरकारले उचित कदम चाल्ने हो भने वर्षेनी जनताले भोग्दै आएका समस्याबाट छुट्कारा मात्र पाउने छैनन्, ठूलो मात्रामा हुने जनधनको क्षतिबाट पनि जोगिनेछन् ।

बाढी पहिरोबाट जनताको बिचल्ली भएपछि मात्र खुल्ने सरकारको आँखा यस पटक भने सममै खुलोस् । अनि हेलिकोप्टरबाट बाढी र पहिरोको दृष्य नियाल्दै पीडितको घाउमा नुन छर्ने सरकारको अनुगमन प्रणाली यसै वर्षदेखि खारेज होस् र जनताले सरकार भएको पूर्ण अनुभूति गर्न सकून् ।

आजको वर्षका कारण बालुवाटरमा रहेको प्रधानमन्त्री निवासअगाडि पनि खोला नै जसरी भल बग्यो ।

देशको प्रधानमन्त्री बस्ने स्थानको हालत त यस्तो दयनीय छ भने गाउँ–गाउँमा माटोको डिलमा घर बनाएर बसेका जनताको अवस्था के होला सजिलै अनुमान लगाउन सकिन्छ ।

यस पटकको मनसुनले सायद प्रधानमन्त्रीलाई नै पूर्वसूचना दिएको हुनुपर्छ । देशको अभिभाकको नाताले यस पटकको मनसुनमा कमसे कम क्षति हुनेगरी प्रधानमन्त्रीले बेलैमा कदम चालेनन् भने बालुवाटारको त्यो भल जनताको आँखासम्म पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?