बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन

लोकपथ
0
Shares

भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले आइतबार रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गरेका छन् ।
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा सो उद्घाटन सम्पन्न भएको हो ।

रक्सौलमा अवस्थित र भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरुको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरुले सुसज्जित आधुनिक प्रयोगशाला हो । यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्नेे नेपालस्थित भारतीय दूतावासले जनाएको छ । हाल यी नमुनाहरुको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको छ ।

लामो समयदेखि नेपाली व्यापारीहरुले रक्सौलमा खाद्य प्रयोगशालाको निर्माणका लागि अनुरोध गर्दै आएकोमा अहिले आएर सो पूरा भएको छ । यस खाद्य प्रयोगशालाको निर्माण “छिमेकी पहिलो” नीति अनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घताको अर्को प्रतिबिम्बको रुपमा रहेको दूतावासको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?