आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाइँदै, के छ यसको महत्व ?

लोकपथ
77
Shares

काठमाडौं । आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाइँदै छ ।

नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ । यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यकाभित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइँदै छ ।

यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रही आएको छ । साथसाथै रोटीसहितका मिष्ठान परिकार समेत खाने गरिन्छ । सरसफाइ गरिसकेपछि सो स्थानमा पूजाआजा पनि गरिन्छ ।

मंगलटोल सुधार समितिका सदस्य रविन कपाली ढुंगेधारा, इनार, कुवा लगायतको सरसफाइ र पूजाआजा गरेर मनाउने नखः पर्व नेवार समुदायको विशेष पर्व रहेको बताउँछन् ।

काठमाडौं उपत्यकाको पुरातात्विक, धार्मिक तथा ऐतिहासिकतालाई झल्काउने ढुंगेधाराहरुको संरक्षणमा सरकारले चासो नदेखाएकोमा उनले दुःख व्यक्त गरे । हालसम्म स्थानीयको जागरुकताले ढुंगेधाराहरु बचाउन सकिएको भए पनि पानीको मुहान बिस्तारै सुक्दै गएको उनको भनाइ छ । सरकारले ढुंगेधाराको संरक्षण गर्नका लागि र पानीको मुहान नसुकोस् भन्नका लागि अनुसन्धान गर्नुपर्ने उनले बताए ।

यस दिनमा भगवान शिवजीका पुत्र कुमारको पनि पुजाआजा गर्ने गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?