जिससको निर्वाचन नसकिएसम्म राजनीतिक दलले जनप्रतिनिधि राखेर भेला नगर्न नपाउने

लोकपथ
299
Shares

काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन नसकिएसम्म कुनै पनि राजनीतिक दलले जनप्रतिनिधिहरु राखेर कुनै पनि प्रकारका भेला नगराउन आग्रह गरेको छ ।

आयोगले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका निर्वाचनलाई प्रभावित गर्ने गरी कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरू आयोजना नगर्न र नगराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्पूर्ण राजनीतिक दल एवं अन्य सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

साथै, जिससको निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न आयोगले सबै स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रहसमेत गरेको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था रहेको छ ।

 

यस्तो छ आयोगले जारी गरेको विज्ञप्ति :

यहि मिति २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गाउँ कार्यपालिका तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका, २०७८ को दफा ९४० बमोजिमको अवधिभित्र हुनेगरी गाउँकार्यपालिका तथा नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भैरहेको छ र सो पश्चात जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका, २०७८ को दफा ९५० बमोजिमको अवधिभित्र हुनेगरी यथाशिघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगवाट निर्देशन गरिसकिएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था रहेको छ निर्वाचनको कार्यक्रम शुरु भैसकेपछि कानूनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने र बीचमा रोक्न नमिल्ने भएकोले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि उक्त निर्वाचनलाई प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरू आयोजना नगर्न नगराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्पूर्ण राजनीतिक दल एवं अन्य सरोकारवालाहरूलाई आयोग हार्दिक आग्रह गर्दछ । साथै, जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत आयोग हार्दिक आग्रह गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?