होटलका कोठामा प्रयोग हुने प्लास्टिक हटाउने अभियानमा होटल संघ

लोकपथ
0
Shares

काठमाडौं । विश्वमा व्यापक रुपमा फैलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी यसबाट बाँच्न र बचाउनका लागि होटल संघ नेपालले सदस्य होटलका कोठामा कमभन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नहोस् भन्ने अभियान घोषणा गरेको छ । यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने गरिमा उँचो हुने विश्वास हानले लिएको छ।

सोही सन्देश विश्वसामु पुर्याउन सञ्चार माध्यमको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुँदा कोभिडपछिको पर्यटनलाई तीब्र गतिमा लयमा फर्काउने उद्देश्यले होटल संघ नेपालले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न “Campaign to Eliminate Single-Use Plastic from Hotel Rooms” सम्बन्धी औपचारिक कार्यक्रम सुरु गरेको छ ।

विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले संघले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्य राखेको छ ।

एक पटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक, तिनीहरूलाई फ्याँक्नु अघि एक पटक मात्र प्रयोग गरिन्छ । यी वस्तुहरू प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुहरु मूख्य रहेका छन् ।

आँकडा अनुसार हरेक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ । होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई न्यूनीकरण गरी विश्वव्यापी रूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना संघले गरेको छ । यसलाई निरन्तरता दिँदै संघ ले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरूमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको छ ।

संघले आफ्ना क्षेत्रीय संघका अध्यक्षहरू र कार्यकारी समितिका सदस्यहरूसँग एक कार्यशाला आयोजना गरेर वैकल्पिक उत्पादनहरू प्रदर्शन गरी सचेतना फैलाउने प्रतिबद्धता गरेको छ । सोही अभियानलाई केन्द्रित गरी कम भन्दा कम लागतमा पाहुनाहरुलाई सत्कार गरी वातावरणीय अनुकुलतालाई प्राथमिकतामा राखी पर्यापर्यटनमैत्री उत्पादनहरुको प्रयोगलाई अगाडि बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?