काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापानसमक्ष आग्रह गरेको छ ।
उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो ।
नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षणका लागि आफूहरुले सरकारसँग पहल गर्ने बताए ।
उनले भने, ‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्ष सम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जपानी लगानी सुरक्षण गर्न हामी प्रतिबद्धता जनाउँछौं ।’
जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रियरुपमा बढी माग हुने वस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार राजदूत युताकासँग आग्रह गरे ।
जापानी निजी क्षेत्रसँग आफूहरुले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले भने, ‘नेपाल र जपानबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको छ । जपानले जाइकालगायत आफ्ना विभिन्न दातृ निकायहरुमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । दुई मुलुकबीच आर्थिक सम्वन्ध पनि उच्च छ । यसलार्य व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ ।’
सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूत युताकासँग आग्रह गरे । राजदूतसंगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रवर्द्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तर्राष्ट्रिय लगानीका लागि महत्वपूर्ण अवसर रहेको बताएका थिए ।
चेम्बर पदाधिकारीसँगको भेटपछि राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक भएको बताए । उनले भने, दुई देशबीचको सम्बन्ध बलियो छ । यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहन्छौँ । राजदूत युताकाले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धता समेत जनाए ।
नेपाल सरकारलाई जपान सरकारका तर्फबाट र आफ्ना दातृनिकायमार्फत लामो समयदेखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जपानको लगानी भित्र्याउनका लािग नेपालले आफ्नो अन्तराष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया