पर्दामा देखिने चकचके धुर्मुस, जो बने सबैका प्रेरणाका पात्र

काठमाडौं । चकचके स्वभावको धुर्मुस चरित्र । हास्य टेलिश्रङ्खला ‘मेरी बास्सै’ मा उनको भूमिका चकचके बाँदरको जस्तो थियो/छ । समाजलाई सताउने, आफ्नै बुबालाई पनि दिक्क पार्ने स्वभावको त्यो चरित्रमार्फत दर्शकलाई मनोरञ्जन दिइरहे धुर्मुसले । धेरैलाई लागेको थियो, धुर्मुसको जीवन यसरी नै मजाकमा बित्छ, हँसाएरै जीवन बिताउँछन् । तर, सीताराम कट्टेल (धुर्मुस) पछिल्लो समय समाजसेवासँग जोडिएर दर्शकको दुःखको 'इलाज' बन्ने कोशिश गरिरहेका छन् ।

‘मेरी बास्सै’ मा उनको पात्र जीवित छ ।

झापाबाट हिँड्दा १७ सय रुपैयाँ बोकेर काठमाडौं छिरेका धुर्मुसलाई त्यतिबेला काठमाडौंमा चिन्ने कोही थिएनन् । अहिले उनै धुर्मुस सारा नेपालीसँग परिचित छन् । धेरैका लागि प्ररेणा बनेका छन् उनी ।

अहिले परिवारका लागि त्यति धेरै समय छैन धुर्मुस र सुन्तलीसँग । उनको धेरै समय समाजसेवामा जान्छ । बाँकी समय कलाकारितामा जान्छ ।

व्यक्तिगत जीवन त छँदैछ ।

हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेललाई टेलिश्रंखला ‘मेरी बास्सै’ ले धुर्मुस बनाएर चौतर्फी चिनायो । हुन त उनी धुर्मुस बाहेक पनि अरु थुप्रै भूमिकामा देखिए । ती सबै भूमिकालाई दर्शकले उत्तिकै रुचाइदिए पनि । तर, चकचके धुर्मुसले त उनको वास्तविक नामलाई नै छायाँमा पारिदियो ।

पछिल्ला केही वर्षयता सीताराम कट्टेल (धुर्मुस) अभियन्ता तथा समाजसेवीका रुपमा पनि उत्तिकै सक्रिय छन् ।

‘धुर्मुस सुन्तली फाउन्डेसन’ को पहलमा चारवटा बस्ती निर्माण गरिसकेका धुर्मुस अहिले चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्न लागिपरेका छन् । उनका अनुसार चितवनमा बन्ने स्टेडियमको केही समयपछि औपचारिक घोषणा हुँदैछ ।

धुर्मुसले थालेको सामाजिक कामलाई हजारौँ युवायुवतीले साथ दिइरहेका छन् यतिबेला । धुर्मुस आफै पनि युवायुवतीलाई समाजका लागि केही गर्न हौसला दिइरहेका हुन्छन् ।

‘युवा बेलाको जस्तो जोश अरु समयमा हुँदैन, युवाले नै देश बनाउने हो, युवाले नै आफ्नो माटो परिवर्तन गर्न खोज्ने हो’, धुर्मुस सुनाउँछन्, ‘हो, अहिले विदेश जानुपर्ने बाध्यता छ, जुन देशमा गए पनि त्यो देशको सिस्टम बुझेर युवावर्ग आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ ।’

कुराकानी गर्दा पनि बेलाबेलामा ठट्टा मिसाउने धुर्मुस रमाइलो त गर्छन् तर समाजप्रति पनि उत्तिकै उत्तरदायी छन् ।

तीन वर्षअघि उनले थालेको सामाजिक अभियानले कैयन् युवायुवतीलाई यही बाटोमा डो–याएको छ । दैनिकजसो धुर्मुस सुन्तलीले गरेको अभियानलाई धन्यवाद र हौसला दिँदै थुप्रै युवायुवतीले सन्देश पठाइरहेका हुन्छन् । 

धुर्मुसका लागि ती सन्देश जोश र जाँगर हुन् । शक्ति हुन् ।

‘हामीलाई समर्थन गर्ने पनि धेरै युवा नै हुनुहुन्छ, हामीले नागरिक भएर एउटा जिम्मेवारी मात्र निभाएका हौँ, हाम्रो अभियान देखेर स्याबासी पाएका छौँ, साथ पाएका छौँ’, उनी भन्छन्, ‘गाली पनि आउँछन् तर डर लाग्दैन किनकि हामीले गल्ती गरेका छैनौँ नि, बरु सचेत भएका छौं ।’

उनी युवापुस्तालाई आग्रह गर्छन् – ‘युवावस्थामा कहिलेकाहीँ जोशसँगै डिप्रेशन पनि हुनसक्छ, आफैले आफैलाई सकारात्मक बनाउनतिर लाग्नुपर्छ ।’

केही महिनाअघि धुर्मुस–सुन्तली फाउन्डेसनले वीर अस्पताल रंगरोगन गरेर चिटिक्क पारेको थियो । यतिबेला उनी आफूले अनौपचारिक रुपमा घोषणा गरेको फिल्म ‘एन्टिभाइरस’ को तयारीमा पनि छन् । अर्कातिर चितवनमा निर्माण हुने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको सपना त छँदैछ ।

त्यो समय

झापाबाट काठमाडौंमा हानिँदा यहाँ आफ्नो भन्ने कोही थिएन । आफै सङ्घर्ष गर्नुपर्ने थियो । बरु दुई/चार रुपैयाँ कमाएर बा–आमालाई पठाउनुपर्ने थियो । तर, काठमाडौंमा त्यस्तो सजिलो कहाँ थियो र?

आफूले पहिलेदेखि स्कूलमा सिके/जानेको पेन्टिङको काम बागबजारका पसलमा नपाएपछि उनी पत्रिकामा छापिएको विज्ञापन हेरेर मार्केटिङ गर्न थाले । उनले त्यतिबेला ग्यासको रेगुलेटर, कराई लगायतका घरायसी साम्रगी बेच्थे । पैसा कमाइ हुनको दिन टन्न खाएर सुत्थे । कमाइ नहुँदा आधा पेट सुत्थे ।

‘मेरी बास्सै’ परिकल्पना हुनुअघि धुर्मुसलाई अरुले चिन्ने कुरै भएन । उनलाई आफन्त र सानो समूहले बाहेक अरुले चिनेकै थिएनन् । पहिले फाटफुट टेलिश्रङ्खलामा अभिनय गरेकाले उनलाई आफ्नो समूहका केही संघर्षरत कलाकारले चिनेका थिए । पछि तिनै कलाकारको टिममध्ये केहीले मेरी बास्सै निर्माण गर्ने योजना बनायो ।

त्यसपछि फेरियो ‘धुर्मुस’ को कथा ।

धुर्मुसको ‘मेरी बास्सै’ मा देखिने जुन पहिचान र भेषभुषा थियो, त्योभन्दा बिल्कुलै फरक थियो उनको अनुहार र स्वभाव पनि । कतिपटक त उनलाई विभिन्न महोत्सवमा प्रहसन गर्न जाँदा नचिनेर गेटमै रोकिदिन्थे । आयोजकलाई फोन गरेपछि बल्ल उनलाई महोत्सवमा प्रवेश दिइन्थ्यो ।

अहिले धुर्मुस मेरी बास्सैमा छैनन् । उनीसँगै सुन्तली पनि देखिँदैनिन् । सामाजिक काममै व्यस्त छन् । धुर्मुस र सुन्तली ‘मेरी बास्सै’ का पात्रझैँ खुशी छन् तर चकचके छैनन् ।

देश बनाउने अभियान

अहिले हजारौं युवाले उनीसँगै हातेमालो गर्छन् । देश तथा विदेशमा हुने नेपालीले उनले गर्ने काममा खुलेर सहयोग गर्छन् ।

‘हाम्रो अभियान भनेको राष्ट्र निर्माणको अभियान हो, विचलित नभइकन कलाकारितासँगै सामाजिक काममा लाग्ने लक्ष्य हो’, धुर्मुस अगाडि थप्छन्, ‘अभियानले समाजमा सकारात्मक प्रभाव पारेको छ, ठाउँठाउँमा विभिन्न समूह बनेर सामाजिक काम हुन थालेका छन् ।’

बहत्तर सालमा भूकम्प गएपछि उनी आफै भूकम्प प्रभावित ठाउँमा गएर भूकम्पपीडितको सहयोग गर्न थाले । विभिन्न काममा सहयोग गर्न थाले । उतिबेला नै कतिले त घरको कोठामा बसेर सामाजिक सञ्जालमार्फत धुर्मुसले देखाउनका लागि सामाजिक काम ग–यो भन्ने आरोप पनि लगाइरहेका थिए ।

उनलाई भने सामाजिक काम गर्दा आफ्नो पहिलेको समयको याद आउँछ । सेवा गर्नुपर्छ भन्ने लाग्छ ।

‘सामाजिक काम भनेको देखिने काम पनि हो, चारवटा बस्ती निर्माण गरिसक्दा हामी आफै त्यहाँ नपुगेको भए, आफैले भारी नबोकेको भए ती बस्ती निर्माण गर्न सम्भव थिएन, समाजमा छरिएका मान्छेलाई एउटै समूह बनाउन गाह्रो छ’, धुर्मुस थप्छन्, ‘समाज परिवर्तनमा चुनौती हुँदाहुँदै पनि कलाकारितासँगै सामाजिक काममा लागिपरेका छौँ ।’

कति युवायुवतीले धुर्मुसलाई सोध्छन् – दाइ, हामीले के गरौँ?

कतिको चाहना सामाजिक काम गर्ने हुन्छ । उनले अरु युवालाई पनि सामाजिक कार्यका लागि आग्रह गर्छन् । भन्छन्, ‘तीन वर्षमा थुप्रै युवायुवती प्रभावित हुनुभएको छ, अझै बाँकी छ, यहाँ हामी मात्रै हैन, धेरैभन्दा धेरै धुर्मुस सुन्तलीहरु जन्मिनुपर्छ, अनि मात्र देश बन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?