पञ्चायतकी नानीमैयादेखि गणतन्त्रका बालेनसम्म : स्वतन्त्रलाई काम गर्न कति सहज ? (भिडियोसहित)

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरे । योसँगै नेपालमा नयाँ ढंगले बहस सुरु हुन थालेको छ ।

राजनीतिक दलहरूको दबदबा रहेको यो समयमा वडातहदेखि महानगरपालिकासम्म स्वतन्त्र उम्मेदवारले जित हासिल गरेपछि दलहरूलाई चुनौती सिर्जना भएको छ ।

त्यसो त देशको सबैभन्दा चर्चामा रहने संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा समेत स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले जित हासिल गरेसँगै उनको कार्यकाल कस्तो रहला भन्ने कौतुहलता पनि आम मानिसमा देखिन्छ ।

३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकाको वडाहरूमा सबै राजनीतिक दलबाट आएका जनप्रतिनिधिहरू चुनिएका छन् । त्यसो हुँदा स्वतन्त्रबाट आएका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सहयोग होला ? भनेजसरी काम गर्न सक्लान् ? भन्ने आशंका पैदा भएको छ ।

त्यसो त अहिले मात्र होइन यसअघि देशमा पञ्चायती शासन रहेका बेलामा समेत स्वतन्त्रबाट जित हासिल गरेका थिए । तीमध्येकी एक महत्वपूर्ण पात्र हुन्, नानीमैया दाहाल ।

आजभन्दा ४१ वर्षअघि २०३८ सालमा तत्कालीन पञ्चायती सरकारले घोषणा गरेको विधायिका निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौंबाट जित हासिल गरेर इतिहास रचेकी उनै नानीमैया दाहालसँग लोकपथले कुराकानी गरेको छ ।

तत्कालीन समयमा उनले स्वतन्त्रबाट निर्वाचनमा होमिँदा धेरै चुनौतीहरू भोग्नुपरेको सुनाइन् । उनले नेपालमा हाल राजनीति गरिरहेकाहरुले चरित्रमा सुधार ल्याउनुपर्ने बताइन् । राजनीतिक दल र नेताकार्यकर्ताको चरित्रमा सुधार नआएकै कारण देशभरबाट यति धेरै स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेको उनको भनाइ छ ।

देशमा राजनीतिक दलको दबदबा रहे पनि जनताले चाहेमा जसरी पनि जिताउन सक्ने उनको विश्वास छ । पहिलेको कुरा सुनाउँदै उनले भनिन्, ‘जनताले चाह्यो भने जसरी पनि ल्याउँछ । मैले पनि स्वतन्त्र उपप्रधानपञ्जमा जितेँ ।’

निर्वाचित भएर आएपछि आफूमाथि विभिन्न लान्छाना लगाउने र खुट्टा तान्ने प्रवृत्तिले दुःख दिएको उनको अनुभव छ । राजनीतिमा सबै जना आफूलाई प्रधानता देखाउन खोज्ने कारणले पनि काम गर्न कठिन हुने उनको तर्क छ ।

‘२०३९ सालमा म स्वतन्त्रबाट निर्वाचित भएर आएँ । तर राजनीतिक दलबाट आएकालाई भन्दा स्वतन्त्रलाई गाह्रोचाहिँ हुन्छ । किनभने राजनीतिमा सबै जना मै हुँ भन्छन् । देशको भौगोलिकता र आकांक्षाअनुसार चल्ने बुद्धि आउँदो रहेनछन् । खुट्टा तान्नचाहिँ लाग्छन्’, उनले भनिन् ।

त्यसैगरी हालै सम्पन्न निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित बालेन साहसहित जनप्रतिनिधिहरूलाई अन्य पार्टीमा नगई स्वतन्त्र भएर काम गर्न उनको सुझाव छ ।

‘अहिले बालेन साहले जितेर आउनुभएको छ । स्वतन्त्र हुनुहुन्छ । अरु पनि धेरै स्वतन्त्र भएर आउनुभएको छ’, उनले भनिन्, ‘उहाँहरूले स्वतन्त्र जितेर आएअनुसार नै कुनै पनि पार्टीमा नगई पनि मेरैजस्तो अठोट लिएर म काम गर्छु भन्नुभयो भने काम गर्न सक्नुहुन्छ ।’

जुन बेला राजनीति गर्नेहरूलाई कठिन थियो त्यस्तो बेलामा राजनीति गर्छु भनेर अघि आउनु आफैँमा ठूलो चुनौती थियो । सोही प्रसंगमा तपाइँले किन राजनीति गर्छु भनेर सोच्नुभयो भन्ने लोकपथको प्रश्नमा गरिबदुःखीको दुःख हेर्न नसकेर राजनीतिमा आएको उनी बताउँछिन् ।

‘गरिबदुःखीको नाम लिएर अलि गतिलैले मात्रै आफ्नो स्वार्थ पूरा गर्ने मैले धेरै हेरेर आएँ । उपप्रधानपञ्च भएको बेलामा पनि हेरेँ । दुई/चार महिना प्रधानपञ्च भएर पनि हेरेँ’, उनले भनिन्, ‘मलाई जिल्ला सहकारी संघको सदस्य बनाएर पठाए, त्यहाँ सबै ठाउँमा नुनतेल लिनको लागि लाइन लाग्नुपथ्र्यो पहिला । जहाँसुकै नेपाल अधिराज्यमा नै यस्तो समस्या थियो । उहाँ भएर गर्न सक्छ भनेर पठाए, म गएँ साल्ट ट्रेडिङ, अनि मैले दिनभरि घाममा टट्टिएर राख्नुभन्दा बरु एक पैसा महँगो लिनुस् जनतालाई यसरी घाममा नसुकाउनुस् भनेर मैले सहयोग गरेको थिएँ ।’

त्यस्तै पहिले आफूलाई निर्वाचन जिताउनका लागि कांग्रेसका नेताहरूले सहयोग गरेको समेत बताइन् । पछि कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले पार्टीमा आउन आह्वान गर्दा पनि आफू स्वतन्त्र बसेको उनको भनाइ छ ।

हेर्नुहोस् लोकपथले गरेको कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?