दाङका दुई वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी

लोकपथ
208
Shares

दाङ । दाङका दुई वटा पालिकाका दुई वडामा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका दुई उम्मेदवारहरुले दलका उम्मेदवारहरुलाई हराउँदै चुनाव जितेका हुन् ।

स्थानीय तह निर्वाचनमा गठवन्धन दल र अन्य दलहरुसंग प्रतिस्पर्धा गरेका दुईजना उम्मेदवारहरु वडा अध्यक्षमा निर्वाचित भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ र शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारहरु बिजयी भएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएका तुलसीपुर–१६का शिवानन्द डाँगी र शान्तिनगर–२ का सुनिल वलीले राजनीतिक दलका उम्मेदवारहरुलाई फराकिलो मतान्तरले पछि पार्दै जननिर्वाचित जनप्रतिनिधिको रुपमा स्थापित भएका छन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवानन्द डाँगी बिजयी भएका छन् । गठवन्धनदल र नेकपा एमालेलाई हराउँदै उनी वडा अध्यक्षमा बिजयी भएका हुन् । उनले १ हजार ३ सय ४४ मतसहित वडा अध्यक्षमा बिजयी भएका हुन् । गठबन्धनतर्फका भूपबहादुर केसीले ४ सय ६७ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका अमर बहादुर खड्काले १ हजार १ सय ५९ मत प्राप्त गरेका थिए । डाँगी र एमालेका खड्का विचको मतान्तर १ सय ८५ मत रहेको छ ।भने डाँगी र गठवन्धनका केसी विचको मतान्तर ८ सय ७७ मत रहेको छ । डिसी तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडामध्येमा स्वतन्त्रतर्फबाट वडा अध्यक्षमा बिजयी हुने एक्लो उम्मेदवार हुन् ।

पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएका सुनिल वली बिजयी भएका छन् । वलीले ६ सय २९ मत प्राप्त गरी शान्तिनर गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा निवार्चित भएका हुन् । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका पदका लागि नेपाली कांग्रेसले टिकट नदिएपछि वलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

वडाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५ सय ९७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार टोपेन्द्रा खड्काले ३ सय ३१ मत प्राप्त गरेकी थिइन् । यसैगरी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय ३४ मत प्राप्त गरेका थिए ।

वडा अध्यक्षमा बिजयी भएका वली र माओवादीका केसीविचको मतान्तर मत ३२ रहेको छ भने वली र एमालेका पूर्णवहादुर वली विचको मतान्तर २ सय ९५ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?