एक निवर्तमान मेयरकाे धन्यवाद पत्र…

लोकपथ
5.8k
Shares

काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिकाका निवर्तमान मेयर पर्शुराम नेपालले आफ्नो पाँचवर्षे कार्यकालको समाप्तिसँगै सम्पूर्ण नगरवासीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

नेपालले नगरवासीलाई धन्यवाद दिँदै अ‍ाफ्नाे कार्यकालमा भएका कामकाे समीक्षासमेत गरेका छन् । त्यस्तै पालिकामा भर्खरै निर्वाचित भएका नयाँ नेतृत्वलाई नयाँ कार्यकालकाे शुभकामनासमेत व्यक्त गरेका छन् ।

उनले दिएकाे धन्यवाद वक्तव्य यस्ताे छ ।

धन्यवाद वक्तव्य :

सबैलाई धन्यवाद । आदरणीय महालक्ष्मी नगरबासी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु आजभन्दा करिब पाँच वर्षअघि यहाँहरुको जनमत र शुभेच्छाले मैले यस नगरपालिकाको नगरप्रमुख जस्तो गरिमामय पद हासिल गर्ने अवसर प्राप्त गरे । यहाँहरुको घरदैलोमा हरेक पटक आउँदा नगरपालिकालाई यहाँहरुको कुनै न कुनै सुझाभ र अपेक्षा हुन्थ्यो । निर्वाचनका दौरान हाम्रो टिमले गरेका प्रतिवद्धतालाई पूरा गर्न यहाँहरुको निरन्तर खबरदारी रहन्थ्यो । हरेकपटक यहाँहरुको घरबाट फर्कदा मलाई नयाँ उर्जा प्राप्त हुन्थ्यो हाम्रो नगरपालिकाका निर्वाचित जनप्रतिनिधी साथीहरुको सल्लाहमा मैले यहाँहरूका सुझाब र अपेक्षालाई व्यवहारमा परिणत गर्न हरदम प्रयास गरेको छु । स्रोत जुटाउन दिनरात खटिएको छु । मेरो प्रयासमा यस नगरमा जे जती काम भएका छन् त्यसको प्रमुख हकदार यस नगरपालिकाका सम्पूर्ण नगरवासी महानुभावहरु हुनुहुन्छ । इतिहासले म र मेरो टिमलाई एउटा सुकर्म गर्ने अवसर दियो आज गाउँका चौतारीमा बाआमा सुस्ताउने फलैचा बनेका छन् । बालबालिकाका लागि भुलाउने पार्क बनेका छन् । हाम्रो नगरपालिकाको जुनसुकै ठाउँको नागरिक अर्को जोडिएको पालिकाको जुनसुकै ठाउँमा पनि सहजरुपमा आवतजावत गर्न सक्ने पूर्वाधार निर्माण भएको छ ।

विद्यालयका बालबालिकाले अपठेरो पर्दा नगरपालिकाका जनप्रतिनिधी सम्झिन्छन् । गाउँघरका बिरामी तथा ज्येष्ठ नागरिकले औषधि छुटेको बेला नगरपालिका सम्झिनुहुन्छ यहाँहरूले दिनुभएको एउटा ठूलो जिम्मेवारी पूरा गर्ने क्रममा भएका हाम्रा कर्म मैले मेरो टिमले यो विश्वास कायम गर्न सकेका जिल्लाकै सबैभन्दा कान्छो र स्रोत साधनको हिसाबले पछि परेको हाम्रो नगरपालिकामा हाम्रा अपेक्षाकृत कामहरु हुन सकेका छैनन् ।

यद्यपी हरेक क्षेत्रमा एउटा आधार तयार भएको छ । पाँचवर्षको हाम्रो कार्यकालको सीमा करिब साँढेचार वर्ष मात्रै रह्यो । दुई वर्ष हामी कोरोना महामारीसँग जुघ्न बाध्य भयौँ । विकासका अन्य योजनालाई थाती राखेर कोरोनाबाट हाम्रा पालिकाका जनतालाई जोगाउन अहोरात्र खटियौँ । घरघर पुग्यौँ । हामीलाई भर्खर जन्मिएको शिशु र अकालमै ज्यान गुमाएको एउटा युवक दुवैको परिवारको संरक्षण गर्ने दायित्व थियो । गरिबीले थलापरेर उपचार गर्न नसक्ने विपन्न परिवारलाई कोही नहुँदा मेरो सरकार मसँगै छ भन्ने अनुभूति दिलाउनु थियो । संसारलाई नै चुनौती दिइरहेको कोभिडलाई हामी सबै मिलेर परास्त गर्न सफल भयैँ । हामीले तय गरेका पूर्वाधार विकासका योजनाको स्रोतलाई हाम्रा जनताको रक्षाका लागि उपयोग गर्‍यौँ । स्थानीय तहको निर्वाचन सम्पन्न भई हाम्रो नगरपालिकाले भर्खरै नयाँ नेतृत्व पाएको छ ।

निर्वाचित सबैलाई म हार्दिक बधाई ज्ञापन गर्दछु । नगरप्रमुखको रुपमा मैले प्रतिनिधीत्व गर्ने दलभन्दा फरक दलको प्रतिनिधी हुनुहुन्छ । यद्यपी उहाँ मेरो टिमको एक सदस्य हुनुहुन्थ्यो उपप्रमुख । मैले प्रतिनिधित्व गर्ने दलबाट पुनः निर्वाचित हुनुभएको छ । हामी सँगै मिलेर काम गर्दा सिकेका अनुभव प पनि यहाँहरुले उपयोग गर्नुहुनेछ । महालक्ष्मीको समृद्धि र विकासका लागि मेरो अनुभवको आवश्यकता कतै परे म जुनसुकै बेला पनि यहाँहरुसँग हातेमालो गर्न तयार छु । करिब पाँच वर्षको कार्यकालमा नगरप्रमुखको भूमिका निर्वाह गरिरहँदा मसँग केहि विशिष्ठ जिम्मेवारीहरु थिए यो जिम्मेवारी पुरा गर्ने क्रममा मैले कहिल्यै कसले कता भोट हाल्यो सोधिन । को मान्छे कुन भेगको हो वास्ता भएन । कुन मान्छे कुन पार्टीको हो भनेर कार्यालनमा विभेद गरिन । हामी जुनसुकै पार्टीबाट निर्वाचित भएपनि निर्वाचित भइसकेपछि जनताका सेवक हो । पार्टीको कार्यकर्ताभन्दा माथि हामीसँग मानवीय संवेदना छ । यो संवेदनामा दलगत स्वार्थ हावी हुनुहुँदैन यस नगरपालिकाको नेतृत्व सम्हाल्न तत्पर नवनिर्वाचित जनप्रतिनिधीलाई मेरो यही सन्देश छ ।

अन्तमा , निर्वाचनका दौरान हाम्रो पार्टी नेकपा एमालेलाई जिताउन अहोरात्र खट्नुहुने सहयोद्धा कमरेडहरु , हामीले नगरप्रमुखमा हाम्रो दलको उम्मेदवारलाई जिताउन सकेनौँ । कतिपय ठाउँमा हामीले अपेक्षा गरे विपरीतको नतीजा आएको छ । यो विषम परिस्थितिमा चारैतिरबाट बादल मडारिएर केहि समय घालाई छेकेको हो । बादलले अन्धकार छेक्न सक्दैन । अन्धकार छेक्न घाम अस्ताउनुपर्छ । हामी अस्ताएका हैनो बादलको घेराबन्दीमा परेका हौँ । प्रतीक्षा गरौँ एकदिन महालक्ष्मीको मैदानमा घाम उदाउने छ र उज्यालो हुनेछ । निर्वाचन सम्पन्न गर्न जुट्नुहुने सबै कर्मचारी साथीहरु , सुरक्षाकर्मी , पत्रकार मित्रहरुलगायत महालक्ष्मी नगरपालिकाका मतदाता र शुभेच्छुक सबैलाई हार्दिक आभार प्रकट गर्दछु । मेरो कार्यकालमा म र मेरो टिमबाट कुनै गल्ती कमजोरी भए एउटा मानवीय कमजोरीको उपज सम्झेर हामीलाई माफी दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

धन्यवाद
पर्शुराम नेपाल निवर्तमान नगर प्रमुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?