झापामा दुई महिला पालिका प्रमुखमा निर्वाचित

लोकपथ
42
Shares

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी बनेकी हुन् ।

झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो । मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र भएका हुन् । एमालेले दमकमा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो । अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित भए।

यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो । कार्की एमालेका बलदेव गोम्देनसँग पराजित बनिन् भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी बनिन् ।

झापामा अघिल्लो निर्वाचनमा कमल गाउँपालिकाले मात्र महिला अध्यक्ष पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?