भारतको अनुदान सहयोगमा पोखरामा विद्यालय निर्माण

लोकपथ
39
Shares

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन भएको छ ।

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले आज कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी हुन् ।

श्री आर्वा विजय माध्यमिक विद्यालय कास्की जिल्लाको एक पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल ३ करोड ६३ लाख रुपैयाँको लागतमा यस विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव”अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?