‘डोजर मालिक आफैँ अपरेटर र इञ्जीनियर बन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’

लोकपथ
0
Shares

बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी दिए ।

पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्र्रियामा बोल्दै उनले अत्यावश्यक ठाउँमा सडक खन्न परे सम्बन्धित वडाको सिफारिस र कार्यपालिका बैठकको निर्णय चाहिने उल्लेख गरे । “भएका सडकलाई स्तरोन्नति गरिन्छ, बाह्रैमास चल्ने बनाइन्छ”, उनले भने, “डोजर मालिक आफैँ अपरेटर बन्ने, आफैँ इञ्जीनियर बन्ने प्रवृत्तिको अब अन्त्य गर्नुपर्छ ।”

उनले सडक पु¥याउन आवश्यक देखिएका ठाउँमा नगरपालिकाका इञ्जीनियरबाट प्राविधिक नापजाँच गरेर मात्र काम अघि बढाइने बताए । नगरप्रमुख श्रेष्ठले मनलागीरूपमा जहाँ पायो त्यहीँ सडक खन्ने कुरालाई कडाइका साथ रोकिने प्रतिबद्धता जनाए ।

जथाभावी सडक खन्दा भूस्खलन बढ्ने, प्राकृतिक प्रकोप निम्तने र गाउँठाउँको सौन्दर्य पनि नासिने भएकाले कडाइ गर्न लागिएको हो । नगरप्रमुख श्रेष्ठले वर्षायाममा बाढीपहिराका कारण हुनसक्ने सडक अवरोधलाई दृष्टिगत गरी उपकरण र जनशक्तिलाई तयारी हालतमा राखिने बताए ।
पत्रकारहरूले नगर क्षेत्रका जल्दाबल्दा समस्याबारे नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए । अस्तव्यस्त ट्राफिक, ढल निकास, खानेपानी, सडक, फोहर व्यस्थापन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रका समस्या समाधानमा नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?