काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेसनले यहि आगामी जेठ महिनाको १२ देखि १४ गतेसम्म अर्थात ‘मे’ महिनाको २६, २७ र २८ तारिखका दिन काठमाडौंको भृकुटी मण्डपमा प्लाष्ट नेपाल २०२२ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
फाउण्डेसनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको संस्थाले जानकारी दिएको छ ।
अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेसिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् ।
प्लाष्ट नेपाल फाउण्डेसनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, र हामीले नेपालमा प्लाष्टिकको दिगो वृद्घिको लागि निरन्तर काम गरिरहेका छौँ । नेपाली उत्पादनलाई प्राथमिकता दिने देखि, प्लाष्टिकको रिसाईकल र फोहोर व्यवस्थापनमा सबैतिर संस्थाले सरकार र उद्योगीहरु सँग मिलेर काम गरिरहेको छ ।
नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया