साझा प्रकाशनमा चर्कियो लफडा : व्यवस्थापन ‘चुकेपछि’ बाइस दिनदेखि पूर्वकर्मचारीको आन्दोलन (फोटो/भिडियो)

काठमाडौं । संस्था जोगाउन भन्दै साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले दुई वर्षअघि १ सय २८ जना कर्मचारीको राजीनामा स्वीकृत गरेका थिए । संस्था घाटामा गएको, तलब खुवाउने पैसा समेत नभएको लगायतका विभिन्न कारण देखाएपछि स्वेच्छिक अवकाश लिएका कर्मचारी यतिबेला आन्दोलनमा उत्रेका छन् । उनीहरुले अहिलेसम्म पनि पाउनुपर्ने तलब नपाएपछि आन्दोलनमा उत्रेका हुन् ।

साउन १ गतेदेखि पूर्वकर्मचारीहरू साझा प्रकाशनको कार्यालयमै गएर आन्दोलन गरिरहेका छन् ।

अवकाश दिए पनि समयमै पाउनुपर्ने रकम नदिएपछि पूर्वकर्मचारीहरुले आन्दोलन चर्काएका हुन् । पूर्वकर्मचारीहरुले महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा 'असक्षम' भएको भन्दै राजीनामा माग समेत गरेका छन् ।

पूर्वकर्मचारीहरूले असक्षम महाप्रबन्धक राजीनामा दे, कर्मचारी के भन्छ राजीनामा ले भन्छ, डोलिन्द्रको मतियार… होशियार, यो जीएम किन आयो? पाण्डुलिपी लिन आयो, हत्यारा महाप्रबन्धक राजीनामा दे लगायतका नाराबाजी समेत गरे ।

उनीहरुका अनुसार पाउनुपर्ने दुई जना कर्मचारीको परिवारले समयमा रकम नपाउँदा ज्यान गुमाउनुपरेको छ ।

साझा प्रकाशनको कार्यालयमा जताततै नारा लेखिएका पर्चा टाँसिएका छन् । पूर्वकर्मचारी मात्र नभएर कर्मचारीले पनि पूर्वकर्मचारीलाई अघोषित रुपमा साथ दिएका छन् ।

संस्थाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले वि.सं. २०७३ फागुन १४ गते पूर्वकर्मचारीलाई तलब सुविधा दिने भनेर लिखित हस्ताक्षर गरेका थिए तर रकमको केही हिस्सा पाए पनि अन्य रकम भने उनीहरूले पाएका छैनन् ।

पछि फेरि वि.सं. २०७५ वैशाख २१ गते पनि लिखित सम्झौता भएको थियो । 

लिखित सम्झौतामा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले रकम जोहो गरी असार मसान्तभित्र सबैलाई संस्थाबाट पाउनुपर्ने सम्पूर्ण रकम उपलब्ध गराउनुपर्ने प्रविवबद्धता व्यक्त गरिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

तर, कर्मचारीलाई साझा प्रकाशनले रकम दिएको छैन । पूर्वकर्मचारीले पहिले आफूहरुले ‘सेवा’ गरेको रकम पाउनुपर्ने माग गर्दै आन्दोलन शुरु गरे पनि अब भने महाप्रबन्धकको राजीनामा नभएसम्म आन्दोलन नरोक्ने बताए ।

यता वैशाखमा प्रतिबद्धता जनाउँदै तोकिएको समयमा रकम उपलब्ध नगराए आन्दोलनमा उत्रेका पूर्वकर्मचारीलाई यथावत् रुपमा पुनर्वहाली गर्ने तथा उमेर हद सेवा निवृत्त कर्मचारीलाई करार नियुक्ति गर्ने प्रतिबद्धता पत्रमा डोलिन्द्रप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

तर, अहिले भने महाप्रबन्धकले  कर्मचारीको माग सुनुवाइ गर्नका साटो उल्टो प्रहरी परिचालन गरेको कर्मचारीले आरोप लगाएका छन् । साझा प्रकाशनमा कर्मचारीले आन्दोलन चर्काएपछि कार्यालयमा प्रहरी समेत खटाइएको छ ।

‘असार मसान्तसम्म पाउनुपर्ने सम्पूर्ण रकम दिन्छौँ भनेर महाप्रबन्धकले लिखित सम्झौता गर्नुभएको थियो, अहिले उहाँहरुले मिल्दैन भनेर आलटाल गरिरहनुभएको छ’, २२ दिनसम्म आन्दोलनमा उत्रेका पूर्वकर्मचारीमध्येका सुरेश गिरीले भने, ‘उहाँ अहिले सुरक्षा घेरामा राज गरेर बसिरहनुभएको छ, यता हामी आन्दोलन गरिरहेका छौँ, अब रकम नपाएसम्म भने आन्दोलन जारी रहन्छ ।’

साथै उनले महाप्रबन्धक भ्रष्टाचारमा समेत मुछिएकाले सरकारले छानबिन समिति बनाएर आन्दोलनलाई सहजीकरण गराउनुपर्ने आशा व्यक्त गरे ।

साथै पूर्वकर्मचारीले अब साझा बचाउनकै लागि भए पनि महाप्रबन्धकको राजीनामा नभएसम्म यो आन्दोलन नरोकिने बताए । अवकाश पाएका पूर्वकर्मचारीले पाउनुपर्ने तलब वर्षौंदेखि नपाएको बताइरहँदा यता बहालवाला कर्मचारीमध्ये कतिले अझै पनि तलब नपाएको बताए ।

एक कर्मचारीले नाम नबताउने शर्तमा भने, ‘यो आन्दोलन पूर्वकर्मचारीको जस्तो देखिएको छ, तर हामीमध्ये कतिले चार महिनादेखि तलब पाएका छैनौँ, म आफै पनि बाहिर काम गरेर कमाएको पैसाले परिवार पालेको छु ।’

अर्का कर्मचारीले भने आफूले समयमै तलब पाएको बताए । तलब को–कसले पाइरहेको छ भन्नेमा मत बाझिए पनि कसैले पाउने तर कसैले नपाएको भने देखिएको छ ।

महाप्रबन्धकको प्रवेश नै गलत थियोः तारा चालिसे

आफूहरुले पाउनुपर्ने रकम नपाएको भन्दै लामो समयदेखि बोल्दै आएकी पूर्वकर्मचारी तथा पूर्वविभागीय प्रमुख तारा चालिसेले साझा प्रकाशनमा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको प्रवेश नै साझा प्रकाशनको नियमावली विपरीत भएको बताइन् । साथै उनले डोलिन्द्रप्रसाद शर्मा पैसाको ‘चलखेल’ मा साझा प्रकाशनको महाप्रबन्धक भएको आरोप समेत लगाइन् ।

‘साझा प्रकाशनको प्रशासन नियमावलीमा समान व्यवसाय गरेका व्यक्तिले साझा प्रकाशनको कुनै पनि पदमा रहन पाइने छैन भनिएको छ’, उनले थपिन्, ‘म यहाँ कर्मचारी भएँ भने मेरो परिवारले नै पुस्तक प्रकाशन या पुस्तक राख्न नपाउने व्यवस्था छ, तर डोलिन्द्रको आफ्नै प्रकाशन गृह छ, यस्तो भयो भने कालो धन्दा हुन्छ, तर महाप्रबन्धक चाहिँ पैसा खुवाएर साझा प्रकाशनको महाप्रबन्धक हुनुभएको हो ।’

अझ उनले महाप्रबन्धक साझा प्रकाशन प्रवेश गर्नुको उद्देश्य साझा प्रकाशनको अमूल्य सम्पत्तिलाई आफ्नो बनाउनु भएको पनि आरोप लगाइन् । साझा प्रकाशनको कार्यालयमै भेटिएकी चालिसेको भनाइमा अन्य कर्मचारीले पनि सहमत जनाएका थिए ।

साझा प्रकाशनका सबैभन्दा बढी बिक्ने ‘सबैको नेपाली’, ‘लिंक इङ्गलिश’ र ‘एक चिहान’ बाट पहिले कर्मचारी पालिने भए पनि पछि डोलिन्द्रप्रसाद शर्माको आगमनपछि पुस्तक विक्रीको सङ्ख्यामा गिरावट आएको आरोप पूर्वकर्मचारीले लगाए । उनीहरुका अनुसार महाप्रबन्धकले ती पुस्तक आफ्नै प्रकाशन गृहबाट सुटुक्क छापेका थिए ।

‘पहिले १ सय २८ जना कर्मचारी हटाउनुभयो, अहिले फेरि ८० कर्मचारी थप्नुभएको छ, महाप्रबन्धक ज्यूले आसेपासे र आफूलाई काम लाग्नेलाई नियुक्ति दिनुभएको छ’, तारा चालिसेले भनिन्, ‘शुरुमा हामीलाई संस्थाको हालत खराब भएको भन्दै राजीनामा दिन लगाइएको थियो, त्यही बुझेर हामीले पनि राजीनामा दियौँ ।’

यता कर्मचारीले कुनै पनि हालतमा आन्दोलन नरोक्ने बताएका छन् । पहिले आफ्नो एजेन्डा आफूले पाउनुपर्ने रकम भएपनि अब भने ‘असक्षम’ महाप्रबन्धकले राजीनामा माग गरेका छन् ।

महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले भने आफूले पूर्वकर्मचारीका माग पहिले नै पूरा गरेको तर स्वेच्छिक अवकाश लिने कर्मचारी नै अहिले विनाकारण आन्दोलन गरिरहेको प्रतिक्रिया दिए ।

तस्वीर/भिडियो: सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?