ऐतिहासिक महत्त्व हुँदाहुँदै ओझेलमा चिम्टेश्वर

लोकपथ
5.5k
Shares

धेरै समयदेखि एउटा दृढ चाहनाले कुत्कुत्याइरहेको थियो । हाम्रा घरतिरका मानिसहरू पहिला–पहिला मालिकास्थान जाने भन्थे । खासमा त्यहाँ मालिकास्थान होइन महादेवस्थान छ भन्ने कुरा मैले पछि मात्रै थाहा पाएको हुँ ।

सानै उमेरदेखि त्यहाँको बारेमा सुनेको र त्यहाँ बाग छ भन्ने कुराले निकै डरलाग्दो बिम्ब दिमागमा बसेको थियो । त्यो बाटो हिँड्दा बाघ देखेको अनुभव सुनाउँदा एक प्रकारको डर दिमागमा बसेको थियो । पछि बिस्तारै त्यो डर हराउँदै गयो । त्यसपछि त्यहाँ पुग्ने उत्कण्ठा अरु तीव्र भएर आउन थाल्यो ।

नुवाकोटकै पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने त्यो स्थान मेरो घरबाट त्यति टाढा त होइन तर नजिकको तीर्थ हेला भनेझैँ टाढा–टाढा घुम्न जाने म आफ्नै घरको धुरीमा रहेको चिम्टेश्वर भने अहिलेसम्म पुग्न सकेको थिइनँ । यस पटक मेसो मिल्यो ।

स्थानीय चुनावमा उठेको उम्मेदवारलाई सहयोग गर्न भन्दै व्यक्तिगत बिदा लिएर घर गएको थिएँ । एक हप्ताको गाउँ घुमाइपछि मतदानको दिन आयो । उत्साहपूर्वक मतदान भयो र हाम्रो काम पनि सकियो । जित्ने हार्ने तपसिलको कुरा रह्यो । म फुर्सदिलो भएँ । ३१ गते मेरो ४१औँ जन्मोत्सव थियो ।

बिहानै उठेर नहाइधुवाइ गरेर बसेको थिएँ । जन्मोत्सवमा केक काट्ने संस्कारलाई मैले कहिल्यै आत्मसात् गरिनँ, बरु कुलपुरोहितलाई बोलाएर अष्टचिरञ्जीवीको पूजा गराउने गर्थेँ । यसपालि कुलपुरोहित बर्खीमा भएकाले त्यो पनि गरिनँ ।

घुम्न जानलाई गर्मीको डर थियो । देवीघाट पुगेर आउनुपर्ला भनेर सोचिरहेको थिएँ । त्यही बेला प्रकाश नेपाल आइपुगे । उनी यसै महिनाको अन्त्यतिर स्नातकोत्तर पढ्न जापान जाँदै छन् ।

प्रकाश आएपछि एकाएक चिम्टेश्वर जाने कार्यक्रम बन्यो । हामी खाना खाएर जाने भयौँ । खाना पाकेकै थियो । खासमा प्रकाश काफल खाने बहानाले जाने तयारी गर्दै थिए । मचाहिँ चिम्टेश्वर जाने लामो उत्सुकताले उद्वेलित बनेको थिएँ ।

खाना खाएर पाँचखलेमा निस्कँदा ९ बजेको थियो । गल्छी–देवीघाट खण्डको बालुवाखानीबाट दुई लेनको पक्की बाटो पाँचखले हुँदै बेल्कोटगढी नगरपालिकाको कार्यालय भएको बाघखोरसम्म पुगेको छ । बीचमा अलिकति पिच गर्न बाँकी छ ।

हामी त्यही बाघखोर जाने बाटो उकालो लाग्यौँ । केउरेनीसम्म पिच भएकाले सजिलै गयौँ त्यसपछि कच्ची बाटो हिँड्दाको राम्रा/नराम्रा पक्षलाई आत्मसात् गर्दै हामी पौने घण्टामा बाघखोर पुग्यौँ । समय त्यति धेरै लाग्ने त होइन, हर्रे पुगेपछि हामी चढेको मोटरसाइकलले धोका दिन खोजेको जस्तो ग-यो । तर जसोतसो उक्लियौँ । क्लजतार खुकुलो भएको रहेछ । बाघखोरमा पुगेर त्यो बनायौँ । त्यसपछि भने कुनै समस्या आएन ।

सिउरेनीको पल्लोछेउ पुगेपछि हामी चिम्टेश्वरतिर उकालो लाग्यौँ । दुई घुम्ती उक्लिएपछि प्रकाश एकाएक खुसी हुँदै कराए । उनले बोटभरि कालै भएर पाकेको काफल देखेका थिए । मोटरसाइकल रोकेर काफल खायौँ र हेर्यौँ जताततै काफल पाकेको थियो । जङ्गलमा अधिकांश बोट काफलका थिए र सबैमा राताम्मे र कालाम्मे भएर काफल पाकिरहेको देखिरहेका थियौँ ।

फर्किँदा खाने भनेर हामी माथितिर लाग्यौँ । कच्ची बाटो एक/दुई दिनअघि आएको वर्षाले कतै–कतै खोतलेकाले मोटरसाइकलमा जान अलि गह्रो भइरहेको थियो तै पनि हामी कतै हिँडेर कतै चढेर चिम्टेश्वर क्षेत्रमा पुग्यौँ । त्यहाँ पुग्दा लाग्यो म सानो स्वर्गमा आइपुगेको छु ।

सम्म परेको घाँसे मैदान, स–साना थुम्का अनि सल्लाका रुख र अन्य झाडीले पनि त्यसको सुन्दरतालाई झल्काइरहेको थियो । चिम्टेश्वरको घाँसे मैदानमा पुग्नुअघि हामीले एक जना मानिसलाई बाटोमा भेटेका थियौँ । मैले उनीसँग जङ्गली जनावरबारे जिज्ञासा राखेको थिएँ । त्यहाँ बाघ, बँदेल र दुम्सीको बिगबिगी रहेको कुरा उनैबाट थाहा पाएँ । मनमा हल्ला डर पनि लाग्यो ।

जङ्गलको बीचमा मन्दिर कहाँ छ भनेर पहिले त हामीले चालै पाउन सकेनौँ । त्यहाँ गएका एक जना जो निस्फिक्री भएर घुमिरहेका थिए । उनलाई सोध्यौँ र मन्दिर गयौँ । मन्दिरमा खास कुनै तामझाम थिएन । कंक्रिटको प्रयोग गरेर भर्खरै बनाइएको हो । बाहिरतिर असाध्यै राम्रोसँग कुँदिएका ढुङ्गाहरू देखिँदै छ जो पर्खाल लगाउन प्रयोग गरिएका छन् ।

मन्दिरभित्र पुरानो ढुङ्गामा शिवलिङ्गको यौनी भाग कुँदिएको छ । बीचमा लिङ्गभागचाहिँ कालो पत्थरको छ, जो कुनै बेला भाँचिएको जस्तो पनि देखिन्छ । उत्तर–पश्चिम कोणमा पत्थरको नन्दी देखिन्छ, जसको टाउको भाग फुटेको प्रस्टै देखिन्छ । नन्दी एउटा ढुङ्गामाथि छ र त्यो ढुङ्गो पनि फुटेको छ । नन्दीको आकृति हेर्दा केही पुरानोजस्तो पनि देखिन्छ । सायद त्यो गोठालाले या त्यहाँ जाने कुनै भक्तले अतिश्रद्धावश नन्दीलाई घुमाउँदा फुटेको हुनुपर्छ ।

हामीले श्रद्धासाथ शिवलिङ्गमा ढोग्यौँ । मन्दिरमा मानिसको आस्था हुन्छ । हामीले पनि आस्थालाई ढोग्यौँ । मन्दिरभित्र घुम्दै गर्दा मनमा एकाएक आयो– ‘शरीर स्वस्थ रहोस् सबैभन्दा सुख र सम्पत्ति पनि त्यही हो । म स्वस्थ रहूँ ।’ त्यहाँबाट निस्किएर मैले केहीबेर सुनसान जङ्गलमा ध्यान गरेँ । मन पवित्र भयो । लाग्यो मेरो ४१औँ जन्मोत्सव खास भएको छ ।

भनिन्छ पृथ्वीनारायण शाहले यस ठाउँमा गढी बनाएका थिए । सायद नुवाकोट र बेल्कोटगढी आक्रमण गर्न तथा काठमाडौं उपत्यका हेर्न त्यो स्थान उपयुक्त ठानेका थिए । उनले त्यहाँ चिम्टेश्वर महादेवको आराधना गरेको किंवदन्ती पनि रहेको छ । चिम्टेश्वर महादेवको आफ्नै प्रकारको कथा पनि त्यहाँ सुनिन्छ ।

समुद्र मन्थनबाट निस्किएको विष खाएपछि महादेव उत्तरापन्थ लागेका र त्यो स्थानमा आइपुगेर चिम्टा छोडेका कारण त्यहाँ चिम्टेश्वर महादेव पुजिन थालेको कहानी त्यस स्थानसँग जोड्ने गरिएको छ । मन्दिरमा पूजा एक जना माताले गर्दै आएकी छिन् । हामीले उनको आफ्नै प्रकारको गुनासो सुन्यौँ ।

मन्दिरभन्दा माथिल्लो थुम्कोमा विकासको भद्दा रूप ‘भ्यु टावर’ बन्दै छ । परिवारसहित रात बिताउन मिल्ने स्तरीय होटल, स्थानीय उत्पादन र सेवा अनि सांस्कृतिक विशिष्टताको अभावमा ‘भ्यु टावर’ विकासको नाममा मजाक मात्रै हो भन्ने लाग्यो । त्यो डाँडो आफैँमा ‘भ्यु टावर’ हो । त्यहाँबाट लाङटाङ, गणेश, जुगल, दोर्जेलाक्पालगायत आधा दर्जन हिमश्रृङ्खलाका अतिरिक्त काठमाडौं उपत्यका, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, दोलखा, रामेछाप, धादिङजस्ता जिल्लाको केही भाग देख्न सकिन्छ ।

त्यहाँबाट तिब्बतको केरुङ पनि देख्न सकिन्छ भन्ने सुन्यौँ तर तुवाँलोले गर्दा देख्न सकिएन । वर्षको एक पटक हिउँ पर्ने गरेको कुरा सल्लाका फेदमा लागेका लेउले मौन भाषामै भनिरहेका थिए । हामी निर्माणाधीन टावरको माथिसम्म गयौँ र हेर्यौँ । बाटामा थुप्रै लालीगुराँसका बोटहरू देखिरहेका थियौँ । त्यो देखेर लाग्यो– यो ठाउँ पक्कै पनि दुई हजार मिटरभन्दा माथि छ ।

टावरबाट ओर्लिएर सम्म परेको घाँसे मैदान घुम्यौँ । जताततै बियरका बोतल फुटाएर फ्याँकिएको थियो । खुट्टामा बिझ्नुभन्दा पहिला मनमा बिझ्यो । माल पाएर चाल नपाएपछि के लाग्छ ! जुन स्थानले त्यहाँको स्थानीय जीवनमा आमूल परिवर्तन गर्न सक्छ त्यो स्थानलाई त्यति कुरूप बनाएको त्यहीँका मानिस टुलुटुलु हेरेर कसरी बस्न सकेका होलान् ! लाखौँ मानिसको मनलाई आनन्द दिनसक्ने त्यो स्थानलाई केही मानिसले नरक बनाइरहेका छन् । संरक्षण गर्ने निकाय र मानिसको अभावमा पनि त्यो मनलाग्दीले त्यो क्षेत्रलाई निकै जोखिम बनाएको महसुस गरेँ । फुटेका सिसाका टुक्रा मानिसको खुट्टामा बिझे के गर्ने होला ?

२०७० वैशाखमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायीको आयोजनामा रानीपौवादेखि चिम्टेश्वर हुँदै देवीघाटसम्मको पैदलयात्रा गरेपछि यो क्षेत्र पर्यटकीय हिसाबले चर्चामा आउन थाल्यो । त्यस बेलासम्म त्यो स्थान धार्मिक हिसाबले वरपरका मानिसको आस्थाको केन्द्र बनेको थियो । २०७० पछि आन्तरिक पर्यटक जान थाले तर बियरका कार्टुन बोकेर । खाए, रमाइलो गरे र त्यही फुटाएर हिँडे । आज त्यो क्षेत्र हिँडिनसक्नु भएको छ ।

बेल्कोटगढी नगरपालिकाले भर्खर–भर्खरै मोटरबाटो त्यहाँसम्म पु-याएको छ । काठमाडौंबाट रानीपौवा हुँदै ३५ किलोबाट पनि त्यहाँ पुग्न सकिन्छ । बेल्कोटको धमलेबाट बाघखोर निस्किएर पनि जान सकिन्छ । कोल्पुटारबाट सिधै उक्लिएर दुईपीपल हुँदै पनि जान सकिन्छ । यता कुमरीतिरको बाटो पनि त्यहाँ जोडिएको छ। माथि धेरै वातावरण दुषित नहोस् भनेर सिँढी पनि निर्माण गरिएको छ । हामी भने सिँढी नचढेर मोटरबाटोबाट गएका थियौँ ।

त्यहाँको पर्यटन विकासका लागि बागमती प्रदेश सरकारले पनि काम गरिरहेको छ । काठमाडौंबाट नजिक रहेको त्यति सुन्दर स्थान चिनाउनै नसकेर पछि प-यो भन्ने लागिरह्यो । ध्यान ग-यौँ । सुसेल्यौँ । नाच्यौँ । फोटो खिच्यौँ । घुम्यौँ । समग्रमा आनन्द लियौँ । निकैबेरको घुमाइपछि हामी तलतिर झर्यौँ ।

आउँदा सुनसान भएको जङ्गल मानिसको कोलाहलले भरिएको थियो । बाघखोरमा चुनावी परिणाम सुन्न आएका मानिसहरू काफल खान यता आएका थिए । जताततै काफल पाकेको थियो । प्रकाश र मैले एक डेढ घण्टा लगाएर २/३ किलो काफल टिप्यौँ र ओरालो लाग्यौँ ।

बाघखोरमा मानिसको भिड थियो । भोट गन्न भर्खरै सुरु गरिएको रहेछ । हामी हर्कको पसलमा चिया खाएर ओरालो लाग्यौँ । घर पुग्दा ५ बज्नै आँटेको थियो । घर पुगेपछि लाग्यो लामो समयदेखिको एउटा धोको पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?