बागलुङको ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

लोकपथ
315
Shares

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनः विजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

नेपालीले पाँच हजार ७३५ मत प्राप्त गर्दा अर्यालले पाँच हजार १३५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका धनबहादुर कायत विजयी भएका छन् । काँग्रेसका कायतले पाँच हजार ६५० मत प्राप्त गरेका छन् ।

यस्तै वडा नम्बर १ को अध्यक्षमा काँग्रेसका बानबहादुर छन्त्याल ६८२, वडा नम्बर २ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री ७२८ मत प्राप्त गरी विजयी भएका छन् । वडा नम्बर ३ को अध्यक्षमा एमालेका खिमबहादुर सुनार ५९०, ४ को अध्यक्षमा एमालेका तिलक पुन ९०५, ५ मा एमालेका दीपेन्द्र पुनमगर ७९७, ६ मा एमालेका उमेशकुमार बुढामगर ७८१, ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै ४९७, ८ मा माओवादीका भद्रमणि सुनार ७०९ र वडा नम्बर ९ मा एमालेका खीमबहादुर घर्तीमगर ४०२ मतले विजयी भएका छन् ।

बरेङमा जनमोर्चाका शर्मा र उपाध्यक्षमा काँग्रेसका पुन
बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी भएका छन् । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । गठबन्धनका उम्मेदवार शर्माले तीन हजार ६०१ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत मनीराम ज्ञवालीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप थापाले दुई हजार २३२ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका दिलीपकुमार पुन विजयी भएका छन् । पुनले तीन हजार ६८२ मत प्राप्त गर्दा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले एक हजार ९५५ मत प्राप्त गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन एक हजार ४४१ मत प्राप्त गरी विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा जनमोर्चाकै हिराबहादुर घर्ती ८९९ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका शेरबहादुर खनाल क्षेत्री ८४१ मत प्राप्त गरी विजयी भएका छन् । वडा नम्बर ४ मा काँग्रेसका किसनबहादुर खत्री ३२९ मत प्राप्त गरी विजयी भएका छन् भने वडा नम्बर ५ मा काँग्रेसका अमरबहादुर शेरवुजा ४४५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?