निर्वाचन समीक्षा : एमालेकाे गढ भत्काउँदै शंखरापुरमा राप्रपाकाे प्रवेश !

लोकपथ
663
Shares

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनको तुलनामा यस पटक अधिकांश पालिकामा नेतृत्व गर्ने दल परिवर्तन भएका छन् ।

एमालेले जितेका कतिपय पालिकामा यस पटक नेपाली कांग्रेसले इन्ट्री गरेको परिणाम सार्वजनिक भइसकेको छ भने कांग्रेसकाे स्थानमा एमालेलाई जनताले प्रवेश गराएका छन् ।

काठमाडौंको शंखरापुर नगरपालिकामा पनि यस पटक मतदाताले पालिकाको नेतृत्व तहलाई परिवर्तन गरेका छन् । यहाँ गठबन्धन भएको छैन । तथापि नेतृत्वालाई शंखरापुरवासीले सहजै परिवर्तन गरिदिए ।

२०७४ मा मेयर र उपमेयर दुवै पदमा एमालेले जितेको पालिकामा यस पटक राप्रपाले मेयर जितेको छ भने उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवारले जितेका छन् ।

राप्रपाका उम्मेदवार रमेश नापित यस पटक शंखरापुरमा मेयर पदमा निर्वाचित भएका छन् । उनले ४ हजार ७०० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एसका लक्ष्मी श्रेष्ठ ४ हजार २०२ मा रोकिए । उता उपमेयरमा नेपाली कांग्रेसकी समिता श्रेष्ठ ६ हजार ३६२ मतका साथ विजयी भइन् ।

२०७४ मा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका सुवर्ण श्रेष्ठ मेयर र एमालेकै सुक्रलक्ष्मी श्रेष्ठले नेतृत्व सम्हालेका थिए । तर यस पटक यहाँ एमालेले आफ्नो साख जोगाउन सकेन र परिणाम स्वरुप ठूला पार्टीलाई नै पाखा लगाउँदै नगरवासीले राप्रपालाई निर्वाचित गराए र अबको ५ वर्ष शंखरापुरको बागडोर राप्रपाकै हातमा थमाइदिए ।

यो जनमतको ताकत नै हो । जनताले जसलाई चुन्छन् उनीहरू नै जनप्रतिनिधि बन्छन् । तर, ती जनप्रतिनिधिले जनताको जनमतलाई कदर गर्न सकेनन् भने शंखरापुरको जस्तो परिवर्तन गर्न जनता पक्कै पनि हिचकिचाउने छैनन् ।

यहाँ नेताहरुलाई राजनीतिक परिवर्तन, दलको आन्तरिक द्वन्द्व, गठबन्धनजस्ता अनेकन बहानालाई कारण मानेर पछि हट्न पनि छुट छ । तर, के अब पनि जनताले त्यस्ता कुरा पत्याउलान् ? प्रश्न नेतृत्वमा बस्नेहरुलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?