विराटनगर । विराटनगर महानगरपालिकामा यसपालिको स्थानीय निर्वाचनमा ८९ हजार ६७८ मत खसेको छ । त्यसमध्ये ४० हजार मत गणना गर्दा मेयरमा २५ प्रतिशत र उपमेयरमा ३८ प्रतिशत मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि यो महानगरपालिकामा खसेको मतको २४ दशमलव ७ प्रतिशत मत बदर भएको थियो ।
विराटनगरमा सत्तारुढ दलहरुबीच मेयर र उपमेयरमा गठबन्धन छ । त्यसमा मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् । कांग्रेसको उपमेयर उम्मेदवार र जसपाको मेयरको उम्मेदवार छैन ।
त्यसैगरी माओवादी केन्द्र र नेकपा एकीकृतका मेयर र उपमेयरका दुवै उम्मेदवार छैन । तर, तिनै उम्मेदवार नै नभएका सबै दलका चुनाव चिह्नमा समान मत परेको छ ।
प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकालाई बाहिरका मानिसले राजनीतिज्ञको बसोबासस्थल र शिक्षित सहरको नामले चिनिन्छ । तर महानगरका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिहरु चुन्न गरिएको मतदानको मत गणना गर्दा त्यसको ठीक उल्टो भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४० हजार मत गणना गर्दा मेयरमा मात्र १० हजार ३७७ मत र उपमेयरमा १५ हजार ६३७ मत बदर भएको छ । त्यसमध्ये ७० प्रतिशत मत उम्मेदवार नै नभएको चिह्नमा छ । उम्मेदवार नभएको चुनावचिह्नमा मत पर्दा र उम्मेदवार भएका मेयर र उपमेयरको अलग–अलग चिह्नमा दुई ठाउँमा मत दिँदा बदर मतको चाङ लागेको छ ।
गठबन्धनमा कांग्रेसको उपमेयरको उम्मेदवार छैन । तर कांग्रेसको उपमेयरको चिह्नमा मात्र ४ हजार बढी मत परेको छ । यसले गठबन्धन दलका शिर्ष नेताहरुको गठबन्धनलाई कांग्रेसी कार्यकर्ताले अस्वीकार गरेको पुष्टि हुन्छ । एमालेक्री शिल्पा निराला कार्कीले ४० हजार मत गणना गर्दा १२ हजार ४९७ मत ल्याएकी छन् भने गठबन्धनका उपमेयर उम्मेदवार यादवले ७ हजार ६२४ मत पाएका छन ।
यस्तै वडा नम्बर ४ को एक बुथको एक मतपत्रमा नालायक भष्ट्रचारी नेताहरु नो भोट नो रिक्स लेखिएको पाइएको छ । उक्त मतपत्रमा कुनैपनि चिह्नमा मत हालिएको छैन ।
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा र गठबन्धन दलका उम्मेदवारले पनि आ–आफनो स्वार्थमा मत माग्दाको यो परिणाम आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया