इलामले पायो लेप्चा समुदायबाट पहिलो वडाध्यक्ष

लोकपथ
156
Shares

इलाम । इलामको रोङ गाउँपालिकामा लोपन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह कार्यान्वयनपछि लेप्चा समुदायबाट उनी पहिलो वडाध्यक्ष हुन् । राज्य पुनस्संरचनाको क्रममा रोङ लेप्चा भाषाबाट राखिएको पालिकाको नाम हो । राजकुमार लेप्चा त्यही पालिकाको वडा नम्बर ४ बाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

लेप्चा समुदायबाट पहिलो संविधानसभामा दुई जनाले प्रतिनिधित्व गरेका थिए । सकुन्तला लेप्चा र टिकाराम सुब्बा लेप्चा संविधानसभा सदस्य भएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकामा बीरबहादुर लेप्चा कार्यपालिका सदस्य निर्वाचित भएका थिए । जिल्लाको विभिन्न पालिकामा गरेर पाँच जना वडा सदस्यमा निर्वाचि भएका थिए ।

रोङ गाउँपालिका–४ मा निर्वाचित राजकुमार लेप्चाले स्वतन्त्र उम्मेदवारलाई पराजित गरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका लेप्चाले ४१० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सुर्य राईले ३४१ मत पाएका थिए ।

अन्य वडा सदस्यहरुमा एमालेका हर्कबहादुर राईले ३५३ मत, दलित महिला एमालेकै बालकुमारी विश्वकर्माले ३९७ मतसहित विजयी भएका छन् भने एक जना महिला सदस्य एमालेकै मिना देवी तामाङ यसअघि नै निर्विरोध भएकी थिइन् ।

यसैबीच रोङ गाउँपालिकाको ३ मा नेपाली काग्रेसका मात्रिका बराल विजयी भएका छन् । उनले ८८५ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका दिलिप राईले ८६५ मत पाएका छन् । बराल यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए । वडाध्यक्षबाहेक सबै सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा प्रेमराज गुरुङ र लिला राउत, इन्दिरा देबी विश्वकर्मा, अमृत भुजेल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?