राजधानीका फुटपाथ, आकाशे पुल, साँघुरा गल्लीहरुमा बरालिरहँदा दैनिक साक्षात्कार हुने पात्रमध्ये एक हुन्, माग्नेहरु ।
हरेक दिन भेटिने माग्नेहरुको आ–आफ्नै विशेषता छ । कोही बालक, कोही वृद्ध, कोही जवान, कोही शारीरिक अशक्तता भएका कोही मानसिक । कोही बाध्यताले गरिब, कोही रहरले । कोही सक्कली माग्ने अनि कोही ‘डुप्लिकेट’ ।
कुनै माग्ने हेर्दा साँच्चै मन पग्लिएर आउँछ ।
रत्नपार्कको आकाशे पुल मुन्तिर एक वृद्ध लम्पसार परेर लडिरहेका हुन्छन् । उनको दुई हात, दुई खुट्टा नै छैनन् । उनमा सास छ, तर जीवन छैन । ठुटे मुडाजस्तै लडेका छन् उनी ।
कोही आफ्नो प्रतिभा देखाएर माग्न बस्ने पनि भेटिन्छन् ।
जमलको आकाशे पुलमा एक दृष्टिविहीन युवक आफ्नो सुमधुर आवाजलाई प्रयोग गरेर माग्न बसेका हुन्छन् । यसरी मागेकै पैसाले आफ्नो दैनिकी राम्रैसँग चलाइरहेका छन् उनले ।
रत्नपार्कबाट असन जान प्रयोग हुने आकाशे पुल माग्नेहरुले कब्जा गरेका छन् ।
तिमीले बाटो मोड्यौ अरे….अर्कैलाई रोज्यै अरे
गीतहरु घन्किरहन्छन् । बटुवाको मनमा चसक्क भयो भने पाँच दश रुपैयाँ भए पनि झरिहाल्छ कि भन्ने आशमा ।
त्यस्तै, ‘माग्नु’ लाई नै आफ्नो कमाइ खाने भाँडो बनाउनेहरु पनि प्रशस्तै भेटिन्छन् । प्रत्येक चोकमा, प्रत्येक मोडमा ठोक्किइने यस्ता माग्नेहरुमध्ये को सक्कलीे र को नक्कली भनेर छुट्याउन हम्मेहम्मे पर्छ ।
हिजोआज माग्नेहरुले पनि आफ्नो ‘ग्रुप’ र ‘एरिया’ तोकेका छन् । त्यो एरियामा अर्को नयाँ माग्ने आयो भने रैथाने माग्ने समुहले सम्झाएर पठाउँछन् । नभए लखेट्छन् । तर यो नदेखिने शैलीमा हुन्छ ।
उनीहरुले हात फैलाएर माग्दै गर्दा हामीसँग दुईवटा विकल्प हुन्छ : पहिलो, गोजीबाट ५,१० रुपैयाँ झिकेर थमाइदिने । दोस्रो, ‘इग्नोर’ । किनकि दिनभरी भेटिने सबै माग्नेलाई पैसा दिन सम्भव पनि हुँदैन ।
यसरी छरपष्ट भएर बसेका माग्नेहरुको व्यवस्थापन गर्ने विषयमा सरकार पनि मौन देखिन्छ । सरकारको मौनताले उनीहरुलाई मागेरै खान झनै प्रोत्साहन पो गरेको हो कि ?
राजधानीका केही महत्त्वपूर्ण ठाउँहरुमा यसरी मागिरहेका हुन्छन् माग्नेहरु । यो दृश्यले एक त वर्तमान सरकारको समाजवादको नारालाई गिज्याइरहेको छ भने अर्कोतर्फ शहरको सुन्दरतामा ह्रास आएर राजधानी अव्यवस्थित बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया