ठूला पार्टीमा अस्तित्वको लडाइँ : कसको हातमा पर्ला त काठमाडौं महानगर ?

चुनावको मिति नजिकिएसँगै मुलुकको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरको नेतृत्व कसको पोल्टामा पर्ला भन्ने चासो बढ्दै गएको छ । काठमाडौंको मेयरमा एमालेको तर्फबाट केशव स्थापितको उम्मेदवारी छ भने गठबन्धनकोतर्फबाट कांग्रेसकी सिर्जना सिंहको उम्मेदवारी रहेको छ । साथै बालेनजस्ता अरु थुप्रै स्वतन्त्र उम्मेदवार पनि काठमाडौंको मेयरका लागि चुनावी मैदानमा छन् ।

विशेषतः नेपाली कांग्रेस र नेकपा एमालेको लागि यो एउटा चुनाव मात्र होइन प्रतिष्ठाको लडाइँ पनि हो । २०५४ मा एमालेले जित हातपारेको काठमाडौं २०७४ मा पनि एमालेकै पोल्टामा परेको थियो । एमाले २०५४ देखिको इतिहासलाई निरन्तरता दिँदै आफ्नो शाख जोगाउन चाहन्छ । नेपाली कांग्रेस भने इतिहासलाई भुलेर नयाँ अध्यायको सुरुवात गर्न चाहन्छ । काठमाडौंलाई नै आफ्नो लालकिल्ला बनाएर बसेको कांग्रेसलाई काठमाडौंका मतदाताले भने पत्याउन सकेका छैनन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उठेका एमालेका उम्मेदवार केशव स्थापित काठमाडौं महानगरमा स्थापित भएको नाम हो भने सिर्जना सिंह गणेशमान सिंहको परिवारलाई प्रतिनिधित्व गर्छिन् ।

काठमाडौंको चुनावमा यतिबेला पार्टीभन्दा पनि उम्मेदवार आफ्नो अस्तित्व रक्षाको लागि भएपनि जित्न चाहन्छन् । सत्ता गठबन्धनले विश्वास गरेर उम्मेदवार बनाएको कांग्रेसकी सिर्जना सिंहलाई आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन यो पटकको चुनाव जसरी पनि जित्नुपर्नेछ । उता मन्त्रीसमेत भइसकेका केशव स्थापितलाई आफ्नो शाख जोगाउन यो चुनाव जित्नै पर्ने प्रेसर छ । र, एमाले पनि केशव स्थापितलाई २५ वर्षपछि काठमाडौंको मेयर दोहोर्‍याउन चाहन्छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा यस पटकको चुनाव अलि फरक रहनेछ । २०७४ यता देशको राजनीतिमा थुप्रै परिवर्तन पनि भइसकेका छन् । देशको राष्ट्रिय राजनीतिमा आएको परिवर्तनको स्वाभाविक असर काठमाडौंको चुनावमा पनि देखिने नै छ । राष्ट्रिय राजनीतिको परिवर्तनका बीच यो स्थानीय तहको चुनावमा काठमाडौं महानगरभित्र दुई ‘हाइ प्रोफाइल’ राजनीतिक उम्मेदवार र केही चर्चित स्वतन्त्र उम्मेदवारबीच रोचक भिडन्त हुने देखिएको छ ।

काठमाडौं महानगरभित्रको भोटको समीकरण यहाँको बस्तीअनुसार फरक हुने भएकाले पनि परिणाम आकलन गर्न त्यति सहज छैन ।

अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा भित्री सहरबाट अधिकांश भोट एमालेलाई गएको थियो । बदलिएको राजनीतिक समीकरणले त्यही अवस्था फेरि नदोहोरिन पनि सक्छ । तर, स्थापितको पक्षमा उपत्यकाका भित्री सहर तथा मुख्य गरी नेवार समुदायहरूको बढी समर्थन छ ।

स्थापितको गुठीहरूसँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेकाले उनलाई केही सहज देखिन्छ । २०५४ देखि नै काठमाडौंमा आफ्नो स्थान बनाउँदै आएका उनलाई काठमाडौंवासीको राम्रै समर्थन रहेको बुझिन्छ । उता कहिल्यै विवादमा नआएको र सत्ता गठबन्धनका ५ राजनीतिक पार्टीको समर्थन रहेकोले गणेशमान सिंहको पारिवारिक विरासत सिंहको चुनाव जित्ने बलियो आधार हो ।

यता, राजनीतिक दलको कुरा गरिरहँदा भोटको समीकरणमा मुख्य प्रभाव स्वतन्त्ररूपमा उठेका बालेनको पनि पर्न जान्छ । बालेन स्वतन्त्र रूपमा उठेपनि अहिले स्थापित राजनीतिक दलमाथि भारी भइरहेका छन् । तर, काठमाडौंमा दलीय शासन व्यवस्थाकै जग रहेकोले स्वतन्त्रतर्फबाट जित्ने सम्भावना न्यून रहेको देखिन्छ ।

महानगरको उम्मेदवारको चर्चामा रहेको अनुहार हो,राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ । कलाकारिताबाट परिचित उनी पनि चुनाव जितेर महानगर हाँक्ने आशमा छन् । तर, काठमाडौं महानगरमा राप्रपाको प्रभाव खासै नरहेका कारण उनको उपस्थितिले चुनावमा खासै फरक नपर्ने देखिन्छ ।

२०७४ को चुनावमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका राजुराज जोशीलाई नेकपा एमालेको तर्फका उम्मेदवार विद्या सुन्दर शाक्यले २० हजार बढी मतान्तरले पराजित गरेका थिए । शाक्यले ६४ हजार नौ सय १३ मत पाउँदा कांग्रेसका उम्मेदवार जोशी ४५ हजार २६९ मतमा सीमित भएका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा प्रमुख पदका लागि उम्मेदवारी दिनेहरूको संख्या २८ मात्र थियोतर यस पटक ५५ जनाको उम्मेदवारीले गर्दा ठूला पार्टीको मत काटिने र परिणाममै असर हुने देखिएको छ ।

काठमाडौं महानगरमा यसपटक कुल ५५ जना उम्मेदवार छन् । जसमा २० जना दलीय व्यवस्थाबाट छन् भने ३५ जना स्वतन्त्र उम्मेदवार छन् । विभिन्न दल र स्वतन्त्र उम्मेदवारका बीच बाँडिने भोटले पनि चुनावी मत परिणामलाई सोचेभन्दा विपरीत बनाउन सक्ने सम्भावना त्यतिकै रहेको छ ।

पाँचदलीय गठबन्धन बनाउँदा पनि एमालेले चुनाव जित्यो भने त्यसले शीर्ष नेतृत्वको साख गिराउने पक्का छ । तर, एमालेले हार्दा त्यति ठूलो फरक नपर्ने देखिन्छ । हामी एक्लै थियौँ । हामीलाई हराउन सबै पार्टी लागिपरे भनेर चित्त बुझाउने ठाउँ रहन्छ ।

काठमाडौंलाई व्यवस्थित बनाउने उद्देश्यका साथ चन्द्रशमशेरले १९७६ मा सफाइ अड्डाका रूपमास्थापना गरेको काठमाडौं २००३ मा म्युनिसिपालिटी हुँदै २०१० सालमा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा म्युनिसिपालिटीलाई काठमाडौं नगरपालिका नामाकरण गरियो । ०१७ को राजनीतिक परिवर्तनसँगै ०१९ मा काठमाडौं म्युनिसिपालिटीको नाम काठमाडौं नगर पञ्चायत राखियो र०४६ को राजनीतिक परिवर्तनसँगै ०४७ मा पुनः काठमाडौं नगरपालिका नै नामकरण गरियो ।

२०५२ सालमंसिर २९ गते देशकै पहिलो महानगरपालिकाका रूपमास्थापित भएको काठमाडौं महानगर देशको सबैभन्दा पुरानो र जनसंख्याको आधारमा सबैभन्दा ठूलो महानगर पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?