गठबन्धनको अन्तरकथा : अस्तित्वको लडाइँमा कांग्रेस कार्यकर्ता

‘कुनैबेला हाम्रो पार्टीमा पनि सुकिलामुकिला हाबी हुनेछन्, त्योबेला सच्चा कार्यकर्ताले उनीहरुविरुद्ध संघर्ष गर्नुपर्नेछ ।’ : वीपी कोइराला

अहिले यस्तै भएको छ नेपाली कांग्रेसमा । पार्टीभित्र र बाहिर सुकिलामुकिलाको प्रभाव बढ्दा तल्लो तहका कार्यकर्ताहरू अस्तित्वको खोजीमा विद्रोह गरिरहेका छन् ।

८ दशकदेखि कांग्रेसले प्रयोग गर्दै आइरहेको ‘रुख’ चिह्नमा मत हाल्न पाउनुपर्ने भन्दै देशका धेरै स्थानमा भइरहेको संघर्षलाई वीपीले भनेको संघर्षका रूपमा लिन सकिन्छ ।

कांग्रेसको राजनीतिमा यस्तो पहिलो पटक मात्र भएको होइन, यसअघि पनि भएको थियो । तर नेतृत्वले बारम्बार अरु चिह्नमा भोट हाल्नुपर्ने बाध्य बनाएपछि कांग्रेसका देशभरका कार्यकर्ताहरू सन्तुष्ट छैनन् ।

कांग्रेस गठबन्धनमा गएर स्थानीय निर्वाचनमा धेरै सिट ल्याउने ध्याउन्नमा लागे पनि कांग्रेसका शीर्ष नेताहरूले आफ्नै जिल्लामा भने पार्टी मिलाउनबाट चुकेका छन् ।

हाल पार्टी र देशकै नेतृत्व गरिरहेका शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा होस् या वरिष्ठ नेता रामचन्द्र पौडेलको तनहुँ, पार्टी मिलाउन चुकेको छ नेतृत्व । देउवाको गृहजिल्लामा पार्टी सभापति कर्ण मल्ल पार्टीबाहिर छन् । वरिष्ठ नेता पौडेलको जिल्लामा त पार्टीका पूर्वसहमहामन्त्री गोबिन्दराज जोशी पार्टीबाट निष्काशित भएसँगै एमालेसँग तालमेल गरेर सूूर्यमा मत मागिरहेका छन् । अहिलेको राष्ट्रिय आवश्यकता भएको प्रतिक्रिया दिँदै गठबन्धन बनाउन आफ्नो ठूलो भूमिका रहेको बताउने रामचन्द्र आफ्नै जिल्लामा पार्टी मिलाउने कुरामा च्युत भएका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा धेरै स्थानहरूमा गठबन्धन गरेसँगै रुष्टिएका कांग्रेसीहरू यस पटक गठबन्धन नहोस् भन्ने चाहन्थे । तर जे नचाहेको त्यही भयो । गठबन्धन भयो, भागबण्डा भयो । त्यसमा पनि भरतपुर महानगरपालिकामा माओवादी केन्द्रसँगको तालमेलमा त्यहाँको कांग्रेसले व्यापक असन्तुष्टि देखायो ।

२०७४ को निर्वाचनमा पनि भरतपुरमा माओवादीसँग कांग्रेसले तालमेल गरेर जाने निर्णय गरेपछि विद्रोह भएको थियो । अहिले पनि चितवनमा ठ्याक्कै त्यस्तै अवस्था छ । विद्रोहको अवस्था पहिलेभन्दा अहिले झन् ठूलो भएर देखिएको छ ।

एकातिर एमालेले राप्रपासँग तालमेल गरेको छ भने अर्कातिर गठबन्धनको ठूलो दल कांग्रेसबाटै बागी उम्मेदवारी पर्नुले गठबन्धनको उम्मेदवारलाई निर्वाचन जित्न ठूलो कसरत गर्नुपर्ने देखिन्छ ।

यसअघि माओवादी केन्द्रलाई प्रमुख दिएका कारण यस पटक सकेसम्म गठबन्धन नगर्ने यदि गठबन्धन नै भएमा कांग्रेसले प्रमुख पाउनुपर्ने चितवन कांग्रेसको माग थियो ।

कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतका नेताहरूले निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने भन्दै आवाज उठाउँदै आएका थिए । तर पार्टी र गठबन्धनलाई नै ठूलो संकट आउने देखिएको भन्दै गठबन्धनले आवश्यकताका आधारमा मिल्ने गरी तालमेलको बाटो फुकायो ।

नगरपालिका, गाउँपालिका र वडास्तरमा स्थानीय आवश्यकताका आधारमा भनिए पनि महानगर र उपमहानगरमा भने माथिबाटै निर्णय लाद्ने किसिमले निर्णय भयो । यो निर्णयले कांग्रेसमा थप तरंग पैदा भएको थियो ।

भरतपुर माओवादीको भागमा परेसँगै त्यसको विवाद कांग्रेसमा पार्टीभित्र मात्र नभएर बाहिर नै छताछुल्ल हुन पुग्यो । भरतपुरमा कांग्रेसबाट मेयरको उम्मेदवार बनाउनका लागि चितवन कांग्रेसले लामो संघर्ष गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेणु दाहाललाई मेयरको उम्मेदवारको रूपमा अघि बढाइयो ।

उसै त रुस्टिएका कांग्रेसी कार्यकर्ताहरू अझ माओवादी र कांग्रेसको झण्डा सँगै सिलाएर मत माग्न हिँडेपछि त्यसले गलत सन्देश गएको बाहिरी मान्छेले मात्र होइन कांग्रेसकै नेतृत्व तहले समेत त्यसको महसुस पछि मात्र गरेका थिए ।

यसले कांग्रेसले यसअघिको गल्तीबाट पाठ सिक्छ भन्ने धेरैको आकलन फेल खाएको छ । कांग्रेस स्थानीय निर्वाचनमा एक्लै जानुपर्नेमा नेतृत्वतहका केही नेताहरूसहित कांग्रेसको युवा नेताहरू त्यसको खिलापमा थिए । तर हाल सत्ता साझेदार गरिरहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धनको प्रमुख दल कांग्रेससँग लगाइरहेको बारम्बारको घुर्कीपछि अन्ततः गठबन्धनबाटै निर्वाचनमा जाने निर्णय भयो ।

सुरुबाटै सभापति देउवा गठबन्धनमा जाने कुरामा राजी देखिएका थिए । त्यसअघि गठबन्धन नभएमा माओवादीले बारम्बार जोसँग पनि मिलेर जाने घुर्कीपछि दिएपछि देउवा गठबन्धनबाहेक निर्वाचन नहुनेजस्तो सोचमा पुगे भने केही युवा नेताहरू कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा बारम्बार पार्टी बैठकदेखि सार्वजनिक कार्यक्रमसम्म आवाज उठाउँदै आए । तर अन्तिममा देउवाको लाइनले जितेपछि गठबन्धनको गाँठो फुकाउनका लागि आवश्यकताका आधारमा गठबन्धन भनियो ।

यसको मतलब आवश्यकताको आधारमा नभनिएको भए धेरै उपमहानगर र महानगरमा कांग्रेसले एक्लै लड्ने तयारी गर्नेथियो । सोही कारण पनि केन्द्रबाटै निर्णय लादेर तल्लो तहका कार्यकर्ताहरूलाई बाध्य बनाउने रणनीति अख्तियार भयो । जसको परिणामस्वरूप धेरै कांग्रेसीहरू त्यसको विरुद्धमा जाने भएसँगै पार्टीले बागी उम्मेदवारी दिनेहरू त्यसको समर्थक र प्रस्तावकलाई समेत पार्टीबाट निकाल्ने धम्की दियो । त्यसलाई टसमस नगरी सामना गर्दै चितवनका कांग्रेसहरू बागी उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएका छन् ।

भरतपुर महानगरमा गठबन्धनविरुद्ध उम्मेदवारी परेसँगै कांग्रेस र गठबन्धनले बागी उम्मेदवारी झिकाउन ठूलो कसरत ग¥यो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको ठाडो आदेशमा राज्यमन्त्री उमेश श्रेष्ठ र गृहमन्त्री बालकृष्ण खाँणलाई चितवन पठाएर उम्मेदवारी झिक्ने प्रयास असफल हुन पुग्यो । भरतपुरमा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन प्रचण्ड समेत चितवन पुगे पनि त्यो सफल हुन सकेन ।

गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरूको उम्मेवारी फिर्ता नभएपछि गठबन्धनले बागी उम्मेदवारहरूलाई कारबाही गर्ने उर्दी जारी गर्दै स्वतः पार्टीबाट निकालेको छ । तर आफूहरू पञ्चायत कालमा समेत कारबाहीबाट नडराएको भन्दै कुनै पनि हालतमा नडराउने उनीहरूको अडानसहित निर्वाचनमा होमिएका छन् ।

संघीयता लागू भएपछिको पहिलो पटक २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रलाई मत हाल्दा पक्कै खुसी थिएनन् त्यहाँ कांग्रेसी कार्यकर्ताहरू । निर्वाचनपछि आम मतदाताको प्रतिक्रिया सुन्दा त्यहाँका कांग्रेस कार्यकर्ताहरू खुसी थिएनन् । जसको कारण यस पटक निर्वाचनको घोषणा हुनुभन्दा पहिलेदेखि नै चितवनमा गठबन्धनको विरुद्धमा आवाज उठिरहेको थियो ।

तर, भरतपुरको प्रमुखका लागि रुखमा मत माग्ने र मतदान गर्ने रहर तुहियो । त्यसको साटो चितवन कांग्रेसले भुँइकटहर उपहार पाएको छ । गठबन्धनविरुद्ध बागी उम्मेदवार जगन्थान पौडेलले निर्वाचन आयोगले स्वतन्त्रहरूलाई प्रदान गरेको चिह्नमध्ये भुँइकटहर रोजेका छन्÷पाएका छन् ।

पूर्वसांसद समेत रहेका पौडेल निर्वाचन आयोगले दिएको भुइँकटहर चिह्न लिएर निर्वाचनमा होमिएका छन् । उनले आफूलाई पार्टी र गठबन्धनबाट विभिन्न अफरहरू आए पनि आफू त्यसमा दृढ संकल्पका साथ रुखचिह्नमा मतदान गर्नबाट बारम्बार वञ्चित गर्न नहुने बताउँदै आइरहेका छन् ।

कांग्रेसले बागी उम्मेदवारी दिनेहरूसहित प्रस्तावक र समर्थकलाई समेत उम्मेदवारी नझिकेमा पार्टीबाट स्वतः निलम्बनमा पर्ने बताएसँगै देशभरबाट धेरै पुराना कार्यकर्ताहरू पार्टीबाट निकालिएका छन् । त्यीमध्ये चितवनमा कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बनेका पोडेलको प्रस्तावक रहेका कृष्णलाल सापकोटा एक हुन् । उनी उमेर र कांग्रेसमा आबद्धताका हिसाबले पार्टी सभापतिभन्दा सिनियर हुन् । २०१७ सालमा पहिलो पटक कांग्रेसको क्रियाशील बनेका सापकोटा जीवनको उत्तराद्र्धमा पार्टीबाट निकालिँदा केही निराश देखिन्छन् । तर यो निर्वाचनमा जसरी पनि पार्टीभित्रको संघर्षमा लाग्ने बताएका छन् ।

आफूलाई पार्टीभित्रबाट निकाले पनि आफूभित्र भएको प्रजातन्त्र कसैले खोसेर लान नसक्ने दाबी उनको छ ।

‘पार्टीबाट निकाल्दा मलाई न केही चिन्ता लाग्यो न कुनै दुःख, म ०१७ सालमा कांग्रेसको क्रियाशील सदस्य रिन्यु भएको थियो । उनले त्यही बेला पहिलो पटक महाधिवेशनमा भाग लिएको थिएँ । त्यसपछि २०१७ साल पुसमा राजाले प्रजातन्त्र समाप्त गरे । त्यसको ३० वर्ष क्रियाशील रिन्यु भएन । दुई–दुई वर्षमा रिन्यु भएन । तर त्यो कागज रिन्यु नभए पनि म कांग्रेस भइरहेँ । कागज अरुले लान सक्छ । तर मभित्र भएको र मेरो मनभित्र विकास भएको प्रजातन्त्रको तस्बिर कसैले खोस्नै सक्दैन’, उनले भनेका छन् ।

गठबन्धनको कारण फरक चिह्नमा मतदान गर्न लगाउने कांग्रेस नेतृत्वको निर्णयले भोलिका दिनमा पार्टीको आन्तरिक जीवनमा थप संकट पैदा गर्ने देखिन्छ । किनकि रुखमा मत हाल्न खोजेका कांग्रेसलाई भुँइकटहरमा मत हाल्न बाध्य बनाइनुले संघीय निर्वाचनमा समेत यसको असर पर्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

कुरा भरतपुरको मात्र होइन । गठबन्धनका कारण पोखरा र काठमाडौंमा समेत केही विद्रोहको आवाज उठेको छ । पोखरा महानगरपालिका गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको भागमा परेसँगै गठबन्धन नै टुट्ने अवस्थामा पुगेको थियो ।

लामो छलफलपछि पनि कुरा नमिलेपछि पोखराका कांग्रेसीहरू सभापति शेरबहादुर देउवालाई भेट्न समेत आए । तर देउवाले जसरी पनि गठबन्धन फुट्ने अवस्थामा पु¥याउन नहुने भनेपछि केही थामिएका कांग्रेसीहरू आफ्नो अडानबाट पछि हट्न बाध्य भएका थिए ।

त्यसो त पोखरामा पनि कांग्रेसका तर्फबाट गठबन्धनविरुद्ध ३ जनाले उम्मेदवारी दिएका थिए । अन्ततः २ जनाले उम्मेदवारी फिर्ता गरे भने १ जनाको उम्मेदवारी कायम रहेको छ ।

यता काठमाडौं महानगर कांग्रेसको भागमा परे पनि देउवाले परिवारवाद लादेको भन्दै विरोधका आवाज उठेको छ । हाल काठमाडौं महानगरमा गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयरको उम्मेदवार छिन् । उनी कांग्रेसका सर्वोच्च कमाण्डर गणेशमान सिंह र मंगलादेवी सिंहकी बुहारी हुन् । राजनीतिमा उनको आफ्नै पहिचान भए पनि लामो समयदेखि राजनीतिमा निष्क्रिय रहेका कारण काठमाडौं महनगरबाट मेयरको उम्मेदवार बन्ने कुरामा उनको परिवार फ्याक्टर हाबी भएको आरोप उनीमाथि छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका उनका श्रीमान प्रकाशमान सिंहले अन्तिम अवस्थामा देउवालाई गरेको सहयोगको कारण सिर्जनालाई मेयरको उम्मेदवार बनाइएको आरोप आइरहेको छ । यसअघि हाल काठमाडौं महानगरबाट उपमेयर बनेकी हरिप्रभा खड्गीको नाम चर्चामा रहे पनि अन्ततः उनले मेयरको उम्मेदवारमा बाजी मारेकी हुन् ।

गठबन्धनमा आबद्ध दलका नेताहरूको कुरा सुन्दा शीर्ष नेताहरू नै त्यसमा सन्तुष्ट देखिँदैनन् ।

अन्त्यमा देशभरको स्थानीय तहमा आफ्नो दलको प्रभुत्व कायम राख्नका लागि सबै राजनीतिक दलहरूले एक–अर्कासँग तालमेल गरिरहेका छन् । यसले देशभर गठबन्धनमा आबद्ध दलहरूको पोल्टामा नेतृत्व पर्ने देखिएको आकलन गरिएको छ ।

त्यसो त सकेसम्म गठबन्धन भत्काउने दाउमा रहेको नेकपा एमाले पनि बाँकी रहेका साना दललाई साथमा लिएर निर्वाचनमा होमिएको छ ।

स्थानीय निर्वाचनमा एउटा राजनीतिक दल, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अर्को राजनीतिक दलसँग तालमेल गरेर जानाले दलगत कार्यकर्ता र मतदातामा नकारात्मक असर पर्ने देखिन्छ ।

यसरी हरेक निर्वाचनमा फरक–फरक राजनीतिक दलहरूसँग तालमेल गर्दै जाने हो भने दलहरूको चुनाव चिह्नप्रति मतदाताको मनस्थितिमा नकारात्मक असर पर्ने विश्लेषकहरूको भनाइ छ । मुद्दा र राजनीतिक एजेण्डा विल्कुल फरक भएका राजनीतिक दलहरू समेत निर्वाचनबाट सत्ता हत्याउने खेलमा गठबन्धनमा लागेका छन् । त्यसले उनीहरुका लागि चुनावी परिणाम राम्रो देखिए पनि भावी राजनीतिमा असर पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?