स्थानीय तह निर्वाचन : यसरी खटिँदैछन् प्रहरी, सेना, सशस्त्र र म्यादी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ ।

३० वैशाखमा हुनलागेको स्थानीय तह निर्वाचनमा विकट स्थानमा मतपत्र, मतपेटिका र निर्वाचन सामग्री ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मीको अभाव हुने हुँदा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गर्दै आएको महत्वपूर्ण प्रतिष्ठान र संरचनाहरूको सुरक्षा व्यवस्थाको जिम्मा पनि सेनालाई दिइने भएको छ ।

निर्वाचनको समयमा गरिने आपतकालीन उद्धारमा जनशक्ति र सामग्री परिचालनका लागि हेलिकोप्टर परिचालन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । निर्वाचनको समयमा भेटिन सक्ने विष्फोटक पदार्थलाई निष्क्रिय पार्न बम डिस्पोजल टोली परिचालन गर्ने जिम्मेवारी पनि सेनालाई दिइएको छ ।

नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि मतदाताको चापदेखि विगतका घटनासम्मलाई हेरेर अति संवेदनशील निर्वाचन केन्द्रहरू चयन गरेको छ ।

निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै अति संवेदनशील भनिएका ठाउँमा आवश्यकताअनुसार ११ जनाभन्दा धेरै सुरक्षाकर्मीहरू खटाइउने योजनामा नेपाल प्रहरी छ ।

नेपालको जनघनत्वको अवस्था भौगोलिक बनावट, राजनीतिक, सामाजिक र आर्थिकरूपले हरेक ठाँउमा फरक–फरक रहेको छ । जनघनत्वका हिसाबले आवश्यकताअनुसार सुरक्षाकर्मीहरू खटाइनेछ ।

नेपाल प्रहरीले हालै मात्र प्रहरी महानिरीक्षक (आईजीपी धिरज प्रताप सिंहलाई पाएको छ । आईजीपी सिंहले कार्यभार सम्हाल्नासाथ आसन्न स्थानीय तह निर्वाचनलाई भयरहित तवरले सम्पन्न गराउने प्रतिबद्धता गरेका थिए ।

आईजीपी सिंहले एकै चरणमा सम्पन्न हुनलागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवं सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका छन् ।

आईजीपी सिंहले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा उपत्यका एवं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् ।

निर्वाचनलाई निष्पक्ष एवं भयरहित तवरले सम्पन्न गराउन आफ्नो व्यावसायिकता प्रदर्शन गर्ने अवसरको रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षामा खटिने सबै प्रहरी अधिकृत तथा जवानहरूले निर्भिकता र व्यावसायिकताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरे ।

निर्वाचनविशेष सुरक्षा योजनामा के–के छन् ?

नेपाल सरकार, गृह मन्त्रालयबाट तयार स्थानीय तह निर्वाचन, एकीकृत सुरक्षा योजना, २०७८ अनुसार तीनै तहका सुरक्षा निकायहरू संयुक्तरूपमा परिचालित हुनेछन् ।

निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीलाई खटाइनेछ । प्रहरीकै नेतृत्वमा एक लाख म्यादी प्रहरी पनि मतपेटिकाको सुरक्षार्थ खटिनेछन् । सामान्य, संवेदनशील र अति संवेदनशील सुरक्षा चुनौती भएका मतदान केन्द्रमा आवश्यकताअनुसार तीन प्रहरीदेखि ८ म्यादी प्रहरीसम्म पहिलो सुरक्षा घेरामा खटिनेछन् ।

सीमा नाका तथा शंकास्पद स्थानमा चेकजाँच, सूक्ष्म निगरानी र गस्ती गर्ने जिम्मेवारी पनि प्रहरीलाई दिइएको छ । घरेलु हतियार, विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, आयात तथा प्रयोगलाई नियन्त्रण गर्ने जिम्मा पनि प्रहरीलाई दिइएको छ ।

मतदान सकिएपछि मतगणनास्थलको सुरक्षा गर्ने जिम्मेवारी पनि प्रहरी र म्यादी प्रहरीलाई दिइएको छ ।

सुरक्षामा सशस्त्र दोस्रो घेरामा :

सशस्त्र प्रहरी बललाई निर्वाचनको दोस्रो घेरामा प्रयोग गरिनेछ । सुरक्षा उपस्थितिका लागि विभिन्न क्षेत्रमा मोबाइल तथा पैदल गस्ती गर्ने जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ ।

म्यादी प्रहरी काठमाडौं उपत्यकामा कति ?

निर्वाचनमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन म्यादी प्रहरीको पनि व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकामा मात्रै ४ हजार ७ सय ११ म्यादी प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकामा खटिने प्रहरीको संख्या ?

देशको राजधानी काठमाडौंमा १ हजार ७ सय ९६ प्रहरीले निर्वाचनलाई भयरहित बनाउनेछन् । त्यस्तै, ललितपुरमा ८ सय ७ जना प्रहरी खटाइने छ । र भक्तपुरमा ६ सय १५ जना प्रहरी खटाइने छ ।

म्यादी प्रहरीबाटै आचारसंहिता उल्लंघन : 

केही समययता मदी प्रहरीहरूले बर्दी लगाई नाचेको टिकटक भिडियो बनाउनेजस्ता कुराहरू सामाजिक सञ्जालमा निकै चर्चामा रहेका छन् । अझै, म्यादी प्रहरीको बर्दी लगाएर भिडियो बनाउँदै लागूपदार्थ प्रयोग गर्न प्रेरित गर्ने खालको भिडियो बनाउने एक जनालाई त प्रहरीले हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

म्यादी प्रहरी छनौट तथा परिचालनसम्बन्धी मापदण्ड, २०७८ अनुसार आचरणविपरीतका क्रियाकलाप गर्ने म्यादी प्रहरीहरूलाई सचेत गराउनेदेखि सेवाबाट बर्खास्त गर्नेसम्मका कारबाही गर्नेगरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?