यी हुन् महानगरदेखि नगरसम्मका चर्चित स्वतन्त्र उम्मेदवार

यस पटकको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या निकै छ । राजनीतिप्रति मानिसहरूको बढ्दो वितृष्णा, सरकारी काममा आफैँले पाएको दुःखका कारण पनि स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढेको स्वतन्त्र उम्मेदवारका भनाइबाट प्रस्ट हुन्छ ।

कतै पार्टीबाट टिकट नपाएर त कतै गठबन्धनका कारण रुष्ट भएकाहरूले पनि स्वतन्त्ररूपमा उम्मेदवारी दिँदा यस पटक स्वतन्त्र उम्मेदवारी दिनेहरूको संख्या बढेको देखिन्छ ।

यस पटक स्वतन्त्र उम्मेदवार दिएका मध्ये केही सामाजिक सञ्जालदेखि मिडियासम्म चर्चित भए । तीमध्ये केही स्वतन्त्र उम्मेदवार यस्ता छन् ।

१ बालेन साह

विगत दुई महिनादेखि फेसबुक, इन्स्टग्राम, ट्वीटरजस्ता सामाजिक सञ्जालका भित्ताहरू बालेनको चर्चाले भरिएका छन् । यस पटकको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चित उम्मेदवार हुन्, बालेन साह । युवाबीच र्‍याप गीतमार्फत चिनिएका बालेनको पूरा नाम हो, बालेन्द्र साह । रामनारायण साह र ध्रुवदेवी साहका छोरा बालेन काठमाडौंको नरदेवीमा हुर्केका हुन् । पेसाले इञ्जिनियर रहेका उनी भूकम्पपछिको पुनर्निर्माणमा देशका विभिन्न भागमा रहेर उनले काम गरिसकेका छन् ।

युवापुस्ता राजनीतिमा नआएसम्म परिवर्तन नहुने सोच भएका बालेनले तीन वर्षपहिलेदेखि नै काठमाडौंको मेयरमा उम्मेदवारी दिने मनसाय बनाइसकेका थिए । काठमाडौं महानगरको मेयरका लागि यस पटक उनले स्वतन्त्ररूपमा उम्मेदवारी दिएका छन् ।

९० हजार ८ सय ३५ भोट ल्याएर विजयी हुने दाबी गरेका साहको यो भनाइलाई उनकै समर्थकहरूले पनि अलि ओभर कन्फिडेन्ट भयो कि ? भनेर समाजिक सञ्जालमा चर्चाको विषय बनाए । बालेनकै उम्मेदवारीले गर्दा काठमाडौंको चुनावी माहोल झनै तातिएको छ ।

उनलाई निर्वाचन ओयोगले लौरो चुनावचिह्न दिएको छ । लौरो चुनावचिह्नलाई लिएर ‘बा आमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ भन्ने पंक्ति अहिले युवामाझ निकै चर्चित भएको छ ।
केशव स्थापितले उनलाई अन्तर्राष्ट्रिय फटाहा भनेर भनिरहँदा साह भने स्थापित मेरो चुनावको ब्रान्ड एम्बासडर हुन् भन्दै उनीजस्ता बुढापाकाले गर्दा नै आफ्नो चुनावी प्रचार भइरहेको बताउँछन् ।

हाइलाइट भएका उम्मेदवारलाई जनताले खुलेर मतदान गरेको इतिहास काठमाडौंमा छैन । तर बालेनले इतिहास बदल्लान वा फेरि दोहोर्‍याउलान्, त्यसको लागि परिणामसम्म प्रतीक्षा गर्नै पर्छ ।

२ जगन्नाथ पौडेल

स पटकको स्थानीय तह निर्वाचनको अर्का चर्चित पात्र हुन्, जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेल तत्कालीन भरतपुर नगरपालिकामा २०४९ सालमा उपमेयर समेत भइसकेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमै भरतपुरको चुनावमा माओवादी केन्द्रसँग तालमेल गर्न हिच्किचाएका कांग्रेसी नेताहरू यस पटक पनि माओवादीसँग तालमेल गर्ने केन्द्रको निर्णयप्रति खुलेरै विरोधमा उत्रिएका छन् । त्यही विरोधको उपज हो, जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी ।

उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्रीदेखि राज्यमन्त्रीसम्मले उनको ढोका ढक्ढकाए । तर उनी आफ्नो निर्णयबाट पछि हटेनन्, बरु अनुशासनको कारबाही भोग्न तयार रहेको बताए ।

तत्काल प्रदेशसभा सदस्य बनाउनेदेखि प्रतिनिधिसभामा समेत लैजाने र मन्त्री बनाउने प्रस्तावसमेतलाई नमानेका पौडेल भुइँकटहरको मतदान चिह्नका साथ मैदानमा छन् । यता ७१ वर्षका पौडेले बागी उम्मेदवारी दिएपछि कांग्रेसबाट कारबाहीमा परेका छन् ।

पाँचदलीय गठबन्धनको भागबन्डाको आधारमा भरतपुर महानगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । जहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल मेयरमा उठेकी छिन् ।

३ राजानन्द माण्डव्य

यस पटकको स्थानीय तहको निर्वाचनमा धेरै स्थानीय तहबाट स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । त्यसैमध्येका एक हुन्, राजानन्द माण्डव्य । उनी काभ्रेको बनेपा नगरपालिकाबाट मेयर पदमा स्वतन्त्र उम्मेदवार हुन् ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ३ काक्रे घर भएका माण्डव्य राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय झण्डा दिवसको संस्थापक रहेका छन् । उनी विश्व हिन्दू युवा संघका केन्द्रीय प्रवक्तासमेत हुन् ।

दलको सिण्डिकेट तोड्न मेरो उम्मेदवारी हो भन्न रुचाउने उनी ठूला दलहरूको बीच लड्न गाह्रो भएपनि जित्छु भन्ने आत्मविश्वासका साथ स्वतन्त्र रुपमा बनेपा नगरपालिकाको मयर पदमा चुनाव लड्दै छन् ।

प्रत्येक घरमा खानेपानी धाराको व्यवस्थापन गर्छु भनेर घोषणा पत्रमा उल्लेख गरेका माण्डव्यको चुनाव चिन्ह पनि पानीको धारा नै रहेको छ । यसपटको निर्वाचनमा पार्टी प्रतिनिधि होइन जनप्रतिनिधि रोज्न उनले आम मतदातालाई आग्रह गरेका छन् ।

४ गणेश पौडेल

अर्का चर्चित स्वतन्त्र उम्मेदवार हुन्, पोखराका गणेश पौडेल । लेखकको रूपमा चिनिने पौडेल सामाजिक अभियन्ता समेत हुन् । ‘पैँताला’ उपन्यासका लेखक उनले नेपाली भाषामा अनुवाद गरेको जोन स्टेनबेकको ‘अफ माइस एन्ड मेन’ मुसा मानुषको नाममा प्रकाशित भएको छ ।

पार्टीमा देखिने गैरराजनीतिक क्रियाकलापबाट दिकदार भएका पौडेलले सामाजिक सञ्जालमा ‘आउनुस्, केही गरौँ । अति भो, ‘अटेरी’ गरौँ ।’ भन्दै पोखराको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

अप्सरा अधिकारीको प्रस्ताव र सरोज जिसीको समर्थनमा पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल र उनको अटेर समूहले विभिन्न वडाको अध्यक्षमा समेत उम्मेदवारी दिएको छ ।

पोखरामा गठबन्धनविरोधी भावना बढेको र स्थानीय तहमा दलीयभन्दा स्वतन्त्र उम्मेदवारले काम गर्न सक्छन् भन्ने मान्यता बढ्दै गएकोले पनि आफूहरूको जित हुने उनले बताउँदै आएका छन् ।

५ नरसिंह व्यञ्जनकार

८१ वर्षका नरसिंक व्यञ्जनकार यस स्थानीय तह निर्वाचनको जेठा उम्मेदवारमध्येका एक हुन् । उनले अहिलेसम्म कुनै चुनाव हारेका छैनन् । २०२९ सालदेखि निरन्तर जित्दै आएका व्यञ्जनकारले यस पटक पनि ललितपुर महानगरपालिकाको वडा नं १० को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पहिलो पटक २०२९ ललितपुर नगरपालिका वडा नम्बर १ बाट चुनाव लड्दा कांग्रेसका उम्मेदवारलाई पराजित गरेका व्यञ्जनकार २०४९ मा कांग्रेसबाटै निर्विरोध भए थिए । गत चुनावमा फेरि व्यञ्जनकारले कांग्रेसका कर्मलाल व्यञ्जनकारलाई नै ९७ भोटले हराएका थिए ।

२०२९ सालदेखि सुरु भएको उनको राजनीतिक यात्रा अहिलेसम्म अपराजित रहँदै आएको छ । ५० वर्षको राजनीतिक यात्रा र ८० नाघेको उमेरले उनलाई अहिले पनि समाज सेवा गर्न रोकेको छैन । अझ आश्चर्य त के छ भने उनी भोट माग्न कुनै र्‍याली, सभाजस्ता कुनै गतिविधि गर्दैनन् । तर पनि सधैँ जित व्यञ्जनकारकै हुनेगरेको छ ।

२ हजार ७ सय ६६ मतदाता रहेको ललितपुर महानगर–१० मा यस पटक व्यञ्जनकारको प्रतिस्पर्धामा उनकै भतिज रवीन व्यञ्जनकारले कांग्रेसबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै धनगढी उपमहानगरपालिकामा मेयरको उम्मेदवारी दिएका गोपाल हमाल, सुन्दर हरैँचा नगरपालिकामा मेयरको उम्मेदवार दिएका प्रकाश भट्टराई, बूढानीलकण्ठ नगरपालिकाका सुमित खरेल, डोल्पाको ठूलोभेरी नगरपालिकाका प्रेम बहादुर बोहोरा, अछामको बन्नी गढी गाउँपालिकाका अध्यक्ष पदमा उम्मेदवार दिएका तारा प्रसाद पाण्डे केही चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?