के हो सिनेमा हलमा लागू भएको बक्स अफिस? प्रत्यक्ष–अप्रत्यक्ष कसलाई छ फाइदा?

काठमाडौं । लामो समयको बहसपछि नेपाली सिनेमा उद्योगमा बक्स अफिस प्रणाली लागू भएको छ । बक्स अफिससँगै यस क्षेत्रका केही फिल्मकर्मी बक्स अफिस लागू गरेको ‘जस’ आफूले लिन हानथाप गर्न थालेका छन् ।

‘जस’ जसले लिन खोजेपनि बक्स अफिस लागू भएपछि निर्माताले पारदर्शी रुपमा आफ्नो फिल्मका कति दर्शक काटियो भन्ने इन्टरनेटका माध्यमबाट सहजै जानकारी पाउने भएका छन् ।

काठमाडौंका २० सिनेमा घरमा मंगलवारदेखि लागू भएको बक्स अफिस प्रणालीपछि साउन ४ गते रिलिज हुने सिनेमाको टिकट पनि इ–टिकेटिङकै माध्यमबाट विक्री गरिएको छ ।

बक्स अफिसको प्रत्यक्ष फाइदा फिल्म निर्माता र सरकारलाई हुनेछ । 

स्वभाविक रुपमा पहिले ‘मार’ मा परेका निर्मातालाई अब हलवालाको एक म्यासेजको भरमा फिल्मको व्यापारमा विश्वास गर्नुपर्ने स्थितिबाट मुक्ति मिलेको छ ।

यति हुँदाहुँदै पनि बक्स अफिसको छली गरिन्छ कि भनेर फिल्म निर्मातामा शंका भने उत्पन्न भएको छ । बक्स अफिस सिस्टम प्रयोग नगरी पुराना टिकट नै दिइने हो कि भन्ने शंका एकातिर छ, अर्कातिर चलचित्र विकास बोर्ड, राजस्व विभागका कर्मचारी र निर्माताले पनि बक्स अफिसको पारदर्शितामा विशेष ध्यान दिएका छन् ।

केही दिन पहिले काठमाडौंको एक हलले बक्स अफिसको सट्टा पुराना टिकट विक्री गरेको भन्दै हंगामा मच्चिएको थियो । पछि उक्त हलले बक्स अफिसमा समस्या आएको कारण देखाउँदै पुराना टिकट विक्री गरेको बताएको थियो ।

चलचित्र विकास बोर्डमा निकिता पौडेल अध्यक्षमा नियुक्त भएसँगै उनले बक्स अफिसको मुद्दालाई महत्त्व दिएकी थिइन् । त्यस्तै चलचित्र निर्माता संघले पनि बक्स अफिसलाई नै मुख्य मुद्दा बनाएर आन्दोलन समेत गरेको थियो ।

विकास बोर्डले बक्स अफिस लागू गर्न भन्दै बक्स अफिस कार्यान्वयन समिति गठन भएसँगै र बक्स अफिस सरकारको बजेटमै सम्बोधन भएपछि यसले तीव्र महत्त्व पाएको थियो ।

फिल्मले ठ्याक्कै कतिको व्यापार ग–यो भन्ने यकिन नहुँदा वितरक तथा फिल्म निर्माताले दर्शकलाई समेत झुक्याउँदै आएका थिए । विदेशमा फिल्म राम्रो भएको समाचार प्रभाव पारेर आफ्नो फिल्म चलाउन निर्माताले आफ्नो फिल्मलाई करोड क्लबमा पुगेको भन्दै केक काट्ने गर्थे ।

अहिले यो क्रम पनि लगभग रोकिएको छ ।

अब बक्स अफिस लागूसँगै निर्माता मात्र हैन, दर्शकले पनि फिल्मको वास्तविक व्यापारको जानकारी पाउनेछन् । काठमाडौं उपत्यकाका मल्टिप्लेक्स र सिंगल थिएटर गरी २० हलमा बक्स अफिस लागू भइसकेको छ भने माघ १ गतेबाट नेपालभर बक्स अफिस लागू गरिने बोर्ड अध्यक्ष निकिता पौडेल बताउँछिन् ।

अब निर्माताले इ–टिकेटिङका माध्यमबाट आफ्नो वास्तविक व्यापारको आँकडा पाउनेछन् । कुन हलमा कति टिकट विक्री भयो भन्ने जानकारी पनि फिल्म निर्माताले लगइन गरेका आधारमा आफ्नो मोबाइलमा हेर्न पाउनेछन् । फिल्मको व्यापार हेर्न निर्मातालाई कोड प्रदान गरिएको छ । उक्त कोडका माध्यमबाट फिल्म निर्माताले व्यापारका बारेमा जानकारी पाइरहेको बताइएको छ ।

बक्स अफिसको औपचारिक घोषणासँगै प्रश्न उठ्ने गरेको छ – के नेपालमा बक्स अफिस प्रणाली पारदर्शी र प्रभावकारी होला?

त्यसो त नेपालमा प्रायः काम गुटकै आधारमा हुने गर्छ, चाहे त्यो राज्यसत्ता नै किन नहोस् । यसको प्रभाव फिल्म क्षेत्रमा देखिने सम्भावना हुँदै नभएको होइन । तर, अहिले भने बक्स अफिस लागूसँगै निर्माता आफ्ना टिकट कतै छली त गरिएको छैन भन्नेमा सचेत समेत हुन थालेका छन् ।

बक्स अफिस लागू गर्न बनेको समितिका संयोजक नरेन्द्र महर्जनले अहिले बक्स अफिस लागू हुनु नै ठूलो उपलब्धि भएको बताउँछन् । सात वर्षदेखिको परिकल्पना र सोच बल्ल पूरा भएको, टेन्डर प्रक्रियादेखि जाँच र ट्रायल गर्दै लागूको अवस्थासम्म आइपुगेको उनी बताउँछन् ।

‘बल्ल विधिवत् रुपमा लाइभ गरेका छौं, आर्थिक वर्ष पारेर काठमाडौंका २० सिनेमा हलमा लागू भएको छ’, महर्जनले भने, ‘तत्कालै देखिएका त्रुटिलाई सुधार गरेर माघ १ गतेदेखि मोफसलमा लागू गर्छौं ।’

अहिले बक्स अफिस लागू आएपनि केही त्रुटि देखिन सक्ने उनले बताए । पोखरा हेटौंडा, नारायणगढ लगायतका शहरमा अहिले नै लागू गर्न सकिने भएपनि त्रुटिको पहिचान गर्न अहिले काठमाडौंमा मात्र लागू गरेको उनले स्पष्ट पारे ।

‘अब आउट अफ भ्यालीको काम शुरु गर्छौं, माघ १ गतेदेखि नै मोफसलका हलमा इ–टिकेटिङ सिस्टम जोड्ने योजना छ, केही त्रुटि आयो भने सफ्टवेयर अपडेट गर्ने मात्रै हो’, उनले अगाडि थपे, ‘भयंकर भूकम्प आयो या इन्टरनेट नै भएन भने अर्को कुरा हो, होइन भने बक्स अफिस प्रणाली अब पूर्ण लागू हुन्छ ।’

बक्स अफिसमा कति कमाइ भयो, त्यसको ब्याकअप पनि राख्ने व्यवस्था गरिएको छ । केही गरी सर्भरमा समस्या आयो भने पनि ब्याकअपबाट फिल्मको व्यापारको आँकलन गर्न सकिने महर्जनले बताए ।

यदि कसैले सिस्टमलाई नै प्रयोग नगरेर चोर बाटो अपनाए भने उनीहरुलाई कानूनी कारबाही हुने समेत उनले खुलाए । ‘राज्यको मूल कानून छ, त्यही अनुसार कारबाही गर्ने हो, यदि सिस्टमको दुरुपयोग भएको पाइएमा कानूनी कारबाही नै हुने हो, किनकि यो राज्यको नीतिमै परेको कुरा हो ।’, उनले भने ।

बक्स अफिसले कसैलाई घाटा छ त?

त्यसो त बक्स अफिस लागू गर्नुपूर्व यसलाई लागू गर्न नदिन ठूलो चलखेल भएको पनि सुन्नमा आएको थियो । केही चलेका हलले बक्स अफिस आवश्यक नभएको भन्दै तर्किन समेत खोजेका थिए । हलवालाले लामो समयदेखि टिकटको वास्तविक हिसाब नदिएको आरोप पनि खेप्दै आएका थिए ।

यसरी हेर्ने हो भने बक्स अफिसले हलवालालाई घाटा हुने देखिन्छ ।

तर, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बक्स अफिसले कसैलाई पनि घाटा नपार्ने बताउँछन् । लामो समयदेखि विवादमा अल्झेको बक्स अफिस लागू भएपछि बक्स अफिस आफ्नो कारणले लागू भएको भन्नेमध्ये एक आकाश अधिकारी पनि हुन् ।

उनका अनुसार बक्स अफिस प्रणालीका लागि राजस्व कार्यालयले दुई जना कर्मचारी नै खटाएको छ । त्यस्तै नेपाल टेलिकमले पनि एक कर्मचारी खटाएको छ ।

अध्यक्ष अधिकारीले यो बक्स अफिस प्रणाली उत्कृष्ट बक्स अफिस प्रणाली भएको बताए । ‘प्रत्येक हलको आफ्नै आइडी र पासवर्ड छ, त्यस्तै निर्माताले पनि आफ्नो फिल्मको टिकट कति काटियो भनेर तत्कालै हेर्न पाउँछन्’, उनले थपे, ‘यो प्रणालीले कसैलाई घाटा हुने देखिँदैन, बरु सबैलाई फाइदा हुने देखिन्छ, अझ सरकारले त पहिलो दिनबाट नै कर उठाउन थालिसक्यो ।’

सिस्टमका हिसाबले यो प्रणाली प्रभावकारी र पारदर्शी भएको आकाशले दाबी गरे । साथै उनले बक्स अफिसको सबै लगानी राज्यले आफै गरेको र यसका लागि आफूहरुले सचेत मात्र गराएको पनि बताए ।

‘बक्स अफिस कस्तो होला भन्ने धेरैमा खुल्दुली पनि छ, अहिलेको सिस्टमले निर्माताले आफ्नो पिल्मले कुन हलबाट कति कमायो भन्ने प्रत्यक्ष जानकारी दिन्छ, निर्माताले हरेक दिन आफ्नो फिल्मले गरेको व्यापार डाउनलोड गरेर हेर्न सक्नुहुन्छ ।’, अधिकारीले बताए ।

यता बक्स अफिस लागू भएको केही दिनमै निर्माताहरुले भने फिल्मवालाहरुले टिकटमा छली गर्न थालेको आरोप लगाउन थालेका छन् ।

बिहीवार काठमाडौंको गुण सिनेमा हलमा पनि यस्तै टिकटमा छली भएको पाइएको चलचित्र ‘भैरे’ का निर्माताले बताएका थिए ।

भैरैका निर्मातामध्येका एक प्रेमप्रसाद पौडेलले ग्वार्कोमा रहेको गुण सिनेमा प्रालिले टिकटमा छली गरेको भिडियो पनि पठाएको थियो । निर्माता पौडेलले बताएअुनसार टिकट काउन्टरमा टिकट काटिरहेका स्टाफले पहिले भैरे टिमलाई ६४ वटा टिकट विक्री भएको बताएका थिए । तर, हलमा झण्डै नब्बे जनाले फिल्म हेरिरहेका थिए ।

पौडेलले भने, ‘हामीलाई पहिले ६४ वटा टिकट विक्री भएको भनियो, पछि हामीले सोध्दा भने हलमा भएका दर्शक जति नै टिकट विक्री भएको बताइयो, हामीले प्रश्न सोधिसकेकाले पनि हुनसक्छ ।’

तर, हलका तर्फबाट महेश श्रेष्ठले भने विकास बोर्डलाई जानकारी गराएर नै हलका पुराना टिकट काटेको बताउँछन् । ‘हामीले यो समस्या बक्स अफिसमा पनि जानकारी गराएका थियौं, बेलाबेलामा कम्प्युटर ह्याङ हुन्छ, त्यस्तो अवस्थामा हामीले पुराना टिकट बेच्छौं, तर निर्मातालाई हिसाब दुवै टिकट जोडेर दिन्छौं ।’, उनले भने ।

श्रेष्ठले निर्माताले सोध्नुभन्दा पहिले नै आफूले टिकटको विक्री गरेको बताउँछन् तर निर्मातालाई भने काउन्टरमा टिकट बेच्ने स्टाफले दर्शक घटाएर विक्री भएको टिकट बताएका थिए ।

महेश श्रेष्ठ भने आफूहरुले पहिले नै टिकट बारेमा जानकारी गराएको बताउँछन् ।

पहिले कम टिकट देखाएर ठगी गर्न खोजियो या झुक्कियो भन्नेमा यत्तिकै भन्न सकिने अवस्था छैन । यद्यपि अन्तिममा महेश श्रेष्ठले दर्शक हलमा भएजति नै हिसाब देखाएको बताएका थिए ।

‘हामीले निर्मातालाई मार्नु हुँदैन भनिरहेका हुन्छौं, हामी किन त्यसो गथ्र्यौं, बक्स अफिस सिस्टम बाहेकका टिकट बेचे पनि निर्मातालाई सही हिसाब बताएका हुन्छौं ।’, गुणका महेश श्रेष्ठले थपे, ‘हामीले सही हिसाब दिएका छौं यदि नभएको भए चिटिङ हुन्थ्यो ।’

त्रुटि देखिएका छन्, सुधार हुन्छः निकिता पौडेल

यता चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बक्स अफिस प्रणालीमा केही त्रुटि देखिएको स्वीकार्छिन् । अहिले परीक्षण समयमा रहेकाले सामान्य त्रुटि देखिनु स्वभाविक भएको र ती त्रुटिलाई हरेक दिनजसो सुधार्दै लगेको उनी बताउँछिन् ।

‘सफ्टवयेरमा केही त्रुटि देखिएका छन्, सिस्टम अझै पूर्ण भइसकेको छैन, अपग्रेड गरिरहेका छौं’, अध्यक्ष पौडेलले भनिन्, ‘हरेक दिन सुध्रिँदै गएको छ, बक्स अफिसको नतिजा राम्रो आइरहेको छ, निर्माताले आफ्नो फिल्मको रिपोर्ट हेर्न पाएका छन् ।’

बोर्ड अध्यक्ष पौडेलले भनिन्, ‘खास ठूलो समस्या देखिएको हैन, सिस्टम अपग्रेड भइरहेको छ, पूर्ण तयारीका साथ मोफसलका हलमा पनि बक्स अफिस सिस्टम समयमै लागू गर्छौं ।’

साथै बक्स अफिस लागू भएसँगै निर्मातालाई धेरै सहज भएको बताइन् । यता निर्माताले पनि बक्स अफिस लागू भएपछि करोड क्लबमा प्रवेश गरेको भन्दै केक काट्न छोडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?