चुनावले छुन नसकेको त्यो भिड

देशलाई निर्वाचनले छोपिसकेको छ । निर्वाचन आउन अब ८ दिन मात्रै बाँकी छ । आफ्नो ठाउँको मुहार फेर्ने प्रतिबद्धताका साथ विभिन्न दलका उम्मेदवारहरुलाई अहिले घरदैलो गर्दै भ्याइनभ्याइ छ ।

हरेक पार्टीको घोषणपत्रमा युवालाई रोजगारी दिने भन्ने विषयले प्राथमिकता पाएको छ । तर सयौँको संख्यामा दक्ष जनशक्ति दैनिक विदेशिनु यहाँको विडम्बना हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर एकछिन मात्र नियाल्यो भने यहाँको तितो यथार्थ प्रस्टिन्छ । वैदेशिक रोजगार विभागका अनुसार रोजगारीकै सिलसिलामा दैनिक १२ सयको हारहारीमा नेपालीहरु विदेशिने गरेका छन् ।

घोषणापत्र केवल चुनवको बेलामा जनतालाई आशा देखाएर आफू सत्ताको शिखर चढ्ने भर्‍याङ मात्रै रहेछ भन्ने अघिल्लो स्थानीय तहको निर्वाचनदेखि आजसम्मको मितिमा आइपुग्दा पुष्टि भइसकेको छ ।

दैनिक हजारौँको संख्यामा दक्ष युवा जनशक्ति विदेशिने खबरले नै मन कटक्क खान्छ । तर देश हाँक्ने ठाउँमा पुगेकाहरु आफ्नो देशको अर्थतन्त्रको सबैभन्दा ठूलो स्रोत रेमिट्यान्स हो भन्न अलिकति पनि लाज मान्दैनन् ।

मानून् पनि कसरी ? त्यही रेमिट्यान्सको पैसाले संसारका सुख यहीँ किन्न पाएकै छन् । आफ्ना आसेपासे र आफन्तहरुलाई एक कल फोनको भरमा रोजगारी दिएकै छन् । किन देख्नुपरेको छ र उनीहरुलाई आफ्नो परिवार छोडेर अर्काको मुलुकमा गएर काम गर्ने युवाहरुको पसिना ?

विभिन्न आश्वासनसहित युवाहरुलाई रोजगारी दिन गाउँ–गाउँ पुगेका प्रत्येक राजनीतिक दलका उम्मेदवार आफ्नै गाउँका युवायुवती विदेश गइरहेको कुराबाट बेखबर हुन्छ । नेपालका एकथरी युवायुवती निर्वाचनमा होमिइरहँदा अर्काथरी युवायुवतीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छोड्नेको लाममा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले विदेशीने युवाहरुको लर्को नै छ । उज्वल भविष्यको खोजीमा हजारौँ युवायुवतीहरु आफ्नो मार्कसिटलाई फाइलमा कैद गर्दै पासपोर्ट बनाउन बाध्य हुन्छन् ।

देशमा निर्वाचन आउन ८ दिन मात्र बाँकी रहँदा विदेशिन लागेका देलखाका रविन्द्र थापा यसरी आफ्नो वेदना पोख्छन् ।

‘निर्वाचन भनेर मात्रै के गर्नु ? अघिल्लो पटकको निर्वाचनमा पनि भोट हालेको हो । भोट माग्न आउने बेलामा नानाथरी सपना देखाए’, उनले भने, ‘घर–घरमा सिंहदरबार लिएर आउँछौँ भने तर खै ५ वर्ष बित्यो पेट पाल्न पनि धौधौ भएपछि विदेशिन लागेको हुँ ।’

थप्दै उनले भने, ‘आज मसँगै २ सय ३५ जना कोरिया जाँदै छन् । सबै युवाहरु नै हुन् । सबैको पीडा एउटै नै छ ।’

जे भए पनि आफूले चाहेको उम्मेदवारलाई भोट हालेर जिताउन उनलाई रहर थियो । यसरी चुनावकै मुखमा विदेशिनु रहर नभएर बाध्यता भएको उनको भनाइ थियो ।

‘धेरै पटक मैले नसोचेको होइन । तर देशमै बसेर के गर्ने भन्ने कुरा सम्झँदा कहाली लाग्छ । भोलि विवाह गर्नुपर्ला बालबच्चा, बुबाआमाको जिम्मेवारी पनि सम्हाल्नु छ’, उनले भावुक हुँदे भने, ‘यहाँ बसेर केही नहुने देखेपछि आज कोरिया जाँदै छु ।’

अलमलिएका युवा जमात : 

नेपालमा पछिल्लो समयलाई मज्जाले नियालेर हेर्ने हो भने अधिकांश युवाहरु पार्टीको झण्डा बोक्न, आमसभा, हड्ताल र पार्टीका कार्यक्रममा देखिने गरेका छन् ।

राजनीतिक झण्डामुनि बन्धक बन्नु नेपाली युवाहरुकोे नियती हो । के विभिन्न राजनीतिक दलको झण्डा बोक्दै हिँड्ने देशका युवाहरुको कर्तव्य हो त ? सबै युवाहरुले यो विषयमा सोच्नुपर्ने देखिन्छ ।

देशमै कुनै पेसा, व्यवसाय वा रोजगारी गरी खान उपयुक्त वातावरण नभएको भने पक्कै हो । हरेक क्षेत्रमा राजनीतीकरण हुँदा राजनीतिको कित्तामा बाँडिन नचाहने वा कुनै पार्टीको छायामा बस्न नचाहने युवा राज्यबाट प्रदान गरिने हरेक अवसरबाट वञ्चित हुनुपर्ने तितो यथार्थ पनि हाम्रोसामु विद्यमान छ ।

यसरी विभिन्न परिस्थिति र देशको राजनीतिक अवस्थाले गाँजेका अधिकांश युवायुवतीले विकल्पका रुपमा वैदेशिक रोजगारलाई चुन्ने गरेका छन् ।

युवा नेतृत्वको अभाव : 

हरेक पटक राजनीतिक बहस हुँदा चर्चा हुने विषय भनेकै देश हाँक्ने स्थानमा भएका नेतृत्व हो । युवाले देश चलाउनुपर्छ भन्दै देशका प्रत्येक चियापसलदेखि फाइभस्टारमा गफिने युवाहरु जब नेतृत्व परिवर्तनको बेला आउँछ तिनै पुराना अनुहारका अगाडि घुँडा टेक्छन् ।

केही समयअघि मात्रै नेपालका तीन ठूला राजनीतिक दलको महाधिवेशन सम्पन्न भयो । तीनै पार्टीका अध्यक्षमा उही पुरानै अनुहार दोहोरिए । तीनै पार्टीका अध्यक्षले महाधिवेशनमा आफूलाई अध्यक्षको पदमा उठ्दा भनेको वाक्य, ‘म आफ्नो चाहनाले उठेको होइन पार्टीमा रहेका साथीहरुको होडबाजीका कारण उठेँ ।’

युवा जो नेतृत्वमा पुगेका छन्, उनीहरु पनि युवालाई उत्पादनसँग जोड्नुभन्दा पनि आफू र आफ्ना दलको पछि हिँड्ने बनाउने अग्रसर देखिन्छन् ।

चरम नातावादले घेरिएको दृश्य :

नेपालमा कुनै युवासँग शिक्षा, योग्यता र दक्षता भएर मात्रै पुग्दैन । रोजगारी पाउन धेरै युवाले विभिन्न प्रकारको हन्डर खाएका छन् । तर, राजनीतिक शक्तिसम्म पहुँच भएको खण्डमा जागिर घरसम्म पछ्याउँदै आउने दृश्य नेपालका लागि नौलो होइन ।

युवाहरु संसारका जुन कुनामा रहे पनि देशको अर्थतन्त्र र समाजलाई निरन्तर गति दिन सघाइरहेकै छन् । अर्काको मुलुकमा ४५ डिग्रीको चर्को घाममा पसिना बगाएर कमाएको पैसाको मूल्य राज्यसत्ता हाँक्ने शासकहरूले नबुझेका पनि होइनन् । तर स्थिति भने जहाँको तहीँ ।

यो तस्बिर हेर्नुहोस् :

तस्बिरमा देखिएको यो दृश्य हेर्नेलाई पनि सहज थिएन । विमानस्थलवरपर यस्ता थुप्रै दृश्य भए पनि त्यो दृश्यले सबैको ध्यान खिचेको थियो । बाबुछोराका न त बुबा आफ्नो छोरोसँग छुट्न चाहन्थ्यो न त बालक नै बुबा छोडेर आमासँग जान चाहिरहेको थियो । तीनै जनाका आँखाबाट आँशु पोखिएका थिए । भोलिको सुन्दर भविष्य खोज्दै आफ्नो सानो नानीलाई छाडेर विदेशिनुको पीडा उसको आँखाबाट झरिरहेका थिए ।

गोदे बच्चालाई छोडेर धन कमाउने आशमा विदेशिनु उनको रहर पक्कै पनि थिएन । देशमै राम्रो रोजगारीको अवसर पाएका भए यसरी आफ्नो परिवार छाडेर उनी विदेशिनुपर्ने अवस्था पक्कै आउने थिएन हाेला ।

परिवारबाट टाढिनु कसैलाई पनि रहर हुँदैन । सबैभन्दा पहिला आफ्नो भविष्य नै हेर्नुपर्ने हुँदा घरपरिवारबाट टाढा जानुपर्ने बाध्यतालाई सरकारले कहिले हटाउला ?

देशमै रोजगारीको अवसर सिर्जना गरेर दैनिक हजारौँको संख्यामा अर्काको देशमा जान बाध्य युवालाई नरोकेसम्म नेपाल समृद्धिको बाटोमा जान सक्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?