'हैट ! राजा भन्या राजा हो !'
ना ७ ख १६०२ नम्बरको सवारीमा लेखिएको एक वाक्य हो यो । सवारी साहित्य अर्थात् सवारी साधनका बाहिर लेखिने साहित्यका स–साना ‘डोज’ ।
यस्ता साहित्यिक डोजले हरेक दिन हाम्रो यात्रालाई रमाइलो बनाइरहेका हुन्छन् । पट्यारलाग्दो जाममा परेका बेला आफ्ना अघिपछि भएका सवारी साधनमा लेखिएका यस्ता कुराहरु बसिबियाँलोकोे राम्रो माध्यम पनि बन्ने गरेको छ ।
पहिले, ट्रकमा मात्रै देखिने यस्ता शायरी भनाइ आजकल टेम्पो, मान्छे बोक्ने सवारी साधनहरुमा पनि देख्न सकिन्छ । लेखिने ठाउँ मात्र नभएर लेखिने कुराहरु पनि समयसँगै रुपान्तरित हुँदै आएका छन् ।
पहिला, देश, प्रकृति, आमासम्बन्धि सवारी साहित्यहरु लेखिन्थे भने आजकल माया, प्रेम जस्ता मनोरञ्जनात्मक विषयमा बढी लेखिएको पाइन्छ ।
किन कोरिन्छन् यस्ता शब्दहरु ?
'वर्षौंदेखि प्रचलनमा रहेका यस्ता साहित्यहरु आखिर किन लेखिएका होलान् ?', गोंगबु बसपार्कमा बसमा यात्रु भर्दै गरेका सह-चालकलाई हामीले सौध्यौं ।
'रमाइलोका लागि ।', उनले हाँस्दै सुनाए ।
ती सह-चालकलाई रमाइलो लागेपनि केही चालकले भने यस्ता कोटेशनले दुर्घटना कम गर्नमा पनि भूमिका खेलिरहेका हुन्छन् ।
‘द्रूत गतिमा हिँडिरहेका सवारी साधन पनि लेखिएका शायरी पढ्न रोकिन्छन् ।’ एक चालकले भन्दै थिए, 'दिनमा कति यात्रु बसमा चढ्छन्, केही त यिनै शायरी पढेर पनि रमाइरहेका हुन्छन् ।'
सवारी साहित्यको सन्देश
‘छोरी जन्माऊ मोबाइल नदेऊ, छोरा जन्माऊ बाइक नदेऊ ।’
काठमाडौंबाट दाङ जाँदै गरेको ना ६ ख ९२५ नम्बरको गाडीमा यस्तै लेखिएको थियो । एकछिन रमाइलो लाग्ने यो भनाइले मोबाइल र बाइकका बेफाइदाका बारेमा पनि राम्रैसँग बुझाउँछ । कतिले यसलाई ट्रक साहित्य पनि भन्छन् ।
सर्वसाधारणमा कहिलेकाहीँ यस्ता सन्देशमूलक लेखहरुको शायरीको प्रभाव पर्न जान्छ । कतिपय अवस्थामा सवारीधनीले आफ्ना गाडीहरु चिन्न सजिलो होस् भनेर पनि सबै सवारी साधनमा एउटै साहित्य कोर्ने गरेका छन् ।
यसो गर्नाले आफ्ना गाडीहरु अरुको भन्दा भिन्न हुने र टाढैबाट छुट्याउन सजिलो हुने उनीहरुको बुझाइ छ ।
केही साहित्य भने फगत् मनोरञ्जनकै लागि मात्रै लेखिएका हुन्छन् ।
'झक्कास गाडीको बिन्दास टुर, चक्लेटी कान्छाको आफ्नै सूर !', बसका ड्राइभर देख्दा पनि झकास नै देखिन्थे ।
पढ्नुस्, सवारीमा लेखिएका रमाइला शायरीहरुः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया