महानगरको महासंग्राममा महारथीहरू, बाजी कसले मार्ला ?

काठमाडौं । महानगरको चुनावलाई सबै पार्टीहरूले यतिबेला आफ्नो प्रतिष्ठाको लडाइँको रूपमा लिएका छन् । त्यसैले पनि महानगरको नेतृत्व आफ्नो पोल्टामा पार्न यतिबेला सत्ता गठबन्धनका दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच राम्रै प्रतिस्पर्धा हुने देखिएको छ ।

महानगरको लागि उम्मेदवार चयनमा सत्ता गठबन्धनभित्रकै दलहरूबीच लामै समयसम्म रस्साकस्सी नै चल्यो । अन्ततः सबै महानगरमा सत्ता गठबन्धनले मेयरको पदमा बाँडीचुँडी उम्मेदवार चयन गरे ।

उता नेकपा एमालेले पनि भरतपुरमा राप्रपासँग तालमेल गर्नेगरी अन्य सबै महानगरमा मेयरको उम्मेदवारी दिएका छ ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका, पोखरा महानगरपालिकामा एकीकृत समाजवादी, भरतपुर महानगरपालिकामा माओवादी र वीरगञ्ज महानगरपालिकामा जसपाले आफ्नो उम्मेदवार चुनावी मैदानमा उतारेको छ ।

२०७४ मा भएको निर्वानमा काठमाडौं र पोखरा महानगरपालिकामा मात्र जित हासिल गरेको एमाले यस पटक सबै महानगर आफ्नै पक्षमा पर्ने दाउमा छ भने सत्ता गठबन्धनका पार्टीहरू एकआपसमा मिलेर भए पनि सबै महानगर आफ्नै कब्जामा पार्ने र एमालेलाई एक्ल्याउने रणनीतिमा देखिन्छ ।

अर्कोतर्फ सत्ता गठबन्धनकै कारण नेपाली कांग्रेस भने आफैँमा गिजोलिएको छ । आफ्नो पक्कड क्षेत्र अरुलाई सुम्पिनु गलत भएको भन्दै पार्टीभित्रैबाट असन्तुष्ट आवाजहरू उठिरहेका छन् । भरतपुर र पोखरामा त सत्ता गठबन्धनको विपक्षमा कांग्रेसका बागी उम्मेदवारहरू नै खडा भइसकेका छन् ।

२०७४ को चुनावी नतिजा र अहिलेको अवस्थालाई केलाउने हो भने महानगरको चुनावी परिणामलाई यसरी आकलन गर्न सकिन्छ ।

काठमाडौं महानगरपालिका

यसअघिको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले जित हात पारेका थिए । ६४ हजार ९१३ मतका साथ जित हात पारेका शाक्यले नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतले पराजित गरेका थिए ।

काठमाडौं महानगरको चुनावी माहोल हेर्ने हो भने कांग्रेस र एमालेकै बीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । तर, नेकपा एमालेबाट अलग्गिएका माधव नेपालको नेकपा एकीकृत समाजवादीले एमालेको मतभारमा कति प्रभावित पार्छ भन्ने एकिन नभएकाले यसै भनिहाल्ने अवस्था पनि छैन ।

यस पटक काटमाडौंमा सत्ता गठबन्धनले कांग्रेसकी सिर्जना सिंह र एमालेले केशव स्थापितलाई अघि सारेको छ । सिंह प्रकाशमानकी पत्नी हुन् भने स्थापित ०५४ सालमा महानगरको मेयर भइसकेका तथा राष्ट्रियसभाका पूर्वसदस्य हुन् ।

यस पटकको निर्वाचनमा लौरो चुनावी चिह्नका साथ स्वतन्त्र उम्मेदवारमा उठेका बालेन साह सत्ता गठबन्धन र एमालेका लागि टाउको दुखाइ बनेका छन् ।

०७४ को चुनावमा पनि विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेकी रञ्जु दर्शनाले ल्याएको २३ हजार मतलाई हेर्दा युवामा एक खाले छुट्टै छाप छोडेका बालेनले कसको कति मत काट्ने हुन् भन्नेमा दुवै पक्ष चिन्तित देखिन्छ । तर, थपिएका करिब २१ हजार नयाँ मतदाताले निर्णायक भूमिका खेल्नेछन् ।

भरतपुर महानगरपालिका

पछिल्लो राजनीतिक घटनाक्रमले चुनावी रणसंग्रामको रूपमा विकसित भएको भरतपुर महानगरमा यस पटक सबैको नजर रहनेछ । सत्ता गठबन्धनबाट माओवादीले पाएको मेयरमा फेरि पनि रेणु दाहाल नै दाहोरिने आसमा छिन् भने जिल्लाका रुस्ट कांग्रेसी नेताहरू केन्द्रको निर्णयलाई नमान्ने पक्षमा देखिन्छन् ।

०४९ मा भरतपुर नगरपालिकाका उपमेयर भइसकेका वरिष्ठ अधिवक्ता तथा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् । सत्तारूढ गठबन्धनले प्रमुखमा माओवादीकी रेणु दाहाललाई उम्मेदवार बनाएपछि चितवन कांग्रेसभित्र असन्तुष्टि तीव्र छ  ।

०६० सालमा राष्ट्रियसभामा समेत मनोनीत भइसकेका पौडेललाई जिल्लाका पूर्वपार्टी सभापतिदेखि वरिष्ठ नेताहरूको समेत साथ दिएका छन् ।

०७४ को स्थानीय तह निर्वाचनमा पनि भरतपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो । तलमेल फेरि दोहोरिएको भए पनि अहिलेको अवस्था फरक छ ।

उता नेकपा एमाले ५ सय ५९ मतले मात्र पछाडि परेको त्यो समयलाई बदल्ने दाउमा छ । राप्रपासँगको तालमेलमा भरतपुरको नेतृत्व यस पटक आफ्नो हात पार्ने दाउमा रहको एमालेलाई कांग्रेसभित्रको अन्तरद्वन्द्वले केही हदसम्म राहत दिने देखिएको छ ।

यसरी हेर्दा भरतपुरमा यस पटक पनि निकै चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरको मेयरमा यस पटक पुरानै अनुहार दोहोरिने प्रबल सम्भावना रहेको छ । सत्ता गठबन्धनबाट कांग्रेसले पाएको मेयर पदमा अहिलेकै मेयर चिरीबाबु महर्जनलाई पुनः उम्मेदवार बनाएको छ ।

ललितपुर महानगरमा त्यति धेरै जोड–घटाउको झमेला देखिँदैन । तुलनात्मकरूपमा कांग्रेस आफैँ बलियो रहेको ललितपुरमा यसअघि तेस्रो स्थानमा रहेको माओवादीको पनि समर्थन हुँदा चिरीबाबु महर्जनलाई राम्रै निन्द्रा पर्ने देखिन्छ ।

उता एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार थपिएका करिब १० हजार नयाँ मतदाता र चिरीबाबुप्रति रुष्ट पालिकावासीले आफूलाई नै मत हाल्नेमा विश्वस्त छन् ।

२०७४ मा पनि आमनेसामने भइसकेका महर्जन र व्यञ्जनकारमा यस पटक कसले बाजी मार्ला त्यो भने वैशाख ३० ले नै बताउला ।

विराटनगर महानगरपालिका

२०७४ मा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएको विराटनगर महानगरपालिकामा यस पटक पनि नेपाली कांग्रेसले नै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको छ ।

विशेषगरी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एमालेको समान अवस्था रहेको विराटनगरमा यस पटक पनि नेपाली कांग्रेस नै दोहोरिने सम्भावना प्रबल छ ।

महानगरभरि मेयरको उम्मेदवारीमा सबैभन्दा कम उम्मेदवार रहेको विराटनगरमा जोड–घटाउ सजिलो देखिएको छ । सत्ता गठबन्धनमा जसपा पनि रहेकाले उसको पूर्ण सहयोग कांग्रेसलाई जाने हुँदा एमाले स्वतः अल्पमतमा पर्ने देखिएको छ ।

२०७४ को आँकडाअनुसार विराटनगरको दुई तिहाइ मत सत्ता गठबन्धनसँग रहेकाले एमालेलाई यहाँको निर्वाचन निकै सकसपूर्ण रहनेछ ।

पोखरा महानगरपालिका

ठूलै रस्साकस्सीका बीच पोखरामा उम्मेदवार चयन गरेको नेकपा एमाले यस पटक आफैँसँग चुनाव लड्दै छ । सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीले पोखरामा मेयर पद पाएको छ । यसअघिको निर्वाचनमा एउटै पार्टीको रूपमा रहेका यी दुई पार्टी पोखरा महानगरको निर्वाचनमा आमनेसामने हुँदै छन् ।

बल्लबल्ल चयन गरेको उम्मेदवार दीपक पौडेलले सुन चोरेको भिडियो एकाएक भाइरल भएपछि एमालेले उम्मेदवार परिवर्तन गर्दै तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर तथा प्रदेश सांसद कृष्णबहादुर थापालाई मेयर पदका लागि अघि सारेको छ । त्यस्तै समाजवादीले धनराज आचार्यलाई मेयर पदमा उठाएको छ ।

२०७४ मा आधाभन्दा बढी पाख्रेलीले भोट हालेर जिताएको एमाले यस पटक भने ढुक्क देखिँदैन । अघिल्लो निर्वाचनमा १३ हजार मतले पछाडि परेको नेपाली कांग्रेस पोखराले पार्टीसँग असन्तुष्टि हुँदाहुँदै पनि केन्द्रको निर्णयअनुसार यस पटक नेकपा एसलाई सघाउनेछ ।

वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरको चुनाव यस पटक त्रीकोणात्मकरूपमा रोचक हुने देखिएको छ । यसअघि तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा जितेका विजय सरावगी पार्टी परिवर्तन गर्दै एमालेबाट पुनः मेयरमा उठ्दै छन् भने सत्ता गठबन्धनमा रहेको तत्कालीन संघीय समाजवादी फोरम र हालको जनता समाजवादीले मेयरमा आफ्नो उम्मेदवार खडा गरेको छ ।

यसअघि सीमित मत पाएको एमाले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेर भए पनि मेयर पद फुत्काउने दाउमा छ भने सत्ता गठबन्धनको सहयोगमा फेरि पनि आफ्नै पार्टीको भागमा मेयर पद जित्ने दाउमा जसपा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?