भगवान बनाउने मान्छेहरु (फोटो फिचर)

काठमाडौं । सधैं सुन्दै आएका छौं, ‘हामीलाई भगवानले बनाएका हुन् ।’

कहिलेकाहीँ राम्रो मान्छे देख्दा ‘यसलाई त भगवानले फुर्सदमै बनाएका रहेछन्’ भनेर भगवानलाई नै सम्बोधन गरिन्छ ।

भगवानको आफ्नै लीला छ ।

कसैले भगवानलाई देखेको छैन । विश्वास गरेको छ ।

हामीले आस्था गरेका भगवानको रुप भने मूर्तिमा कुदिएको छ, त्यही रुपलाई हामीले पूजा गरिरहेका छौं ।

ती मूर्तिमा मान्छेको लगानी छ । कला छ ।

ललितपुरको च्यासल पुग्दा मूर्ति बनाउनेहरूले ढुंगालाई आकार दिएर भगवान् बनाउँदै थिए । केही तयारी मूर्तिहरु सजाएर राखिएका थिए पसलमा ।

मूर्ति बनाउन सजिलो छ त? हाम्रो प्रश्नमा सुमित दनुवारले उत्तर फर्काए, ‘सोचेजस्तो सजिलो छैन, लाहा पकाउँदा हात पोल्छ, मूर्ति बनाउँदा हात काट्ने सम्भावना पनि त छ नि ।’

उनको काम खासगरी मूर्तिमा रंग लगाउनु हो ।

भगवान् बनाउँदै गर्दा

च्यासलमा मूर्ति बनाउनेहरू बिहान पाँच बजे नै आफ्ना पसलका ढोका खोल्न थाल्छन् ।

कच्चा पद्धार्थलाई भगवानको आकार दिन थाल्छन् ।

हामी च्यासल पुग्दा कोही मूर्ति बनाउने माटो ठीक पार्दै थिए भने कोही मूर्तिलाई आकार दिँदै थिए ।

कोही बनिसकेको मूर्तिमा रंग लगाउँदै थिए । 

सुमितका अनुसार साना ठूला, सामान्य, विशेष गरेर प्रत्येक व्यक्तिले महिनामा ६ देखि सातवटा सम्म मूर्ति बनाउन भ्याउँछन् ।

यहाँ निर्मित मूर्तिहरू स्थानीय बजारदेखि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा समेत ‘पुग्ने’ गर्छन् ।

‘विशेष मूर्तिका डिजाइनहरू भने गोप्य राखिन्छन् । त्यस्ता मूर्तिहरू अत्यन्तै महंगा पनि हुन्छन् ।’ सुमित सुनाउँछन् ।

महिनाको ७० हजारसम्म कमाइ

एकातिर देशका होनहार युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका छन् ।

अर्कातिर त्यही युवा समूहका मूर्तिकारहरूले आफ्नो लागि स्वदेशमै रोजगार सिर्जना गरिरहेका छन् ।

भगवानका मूर्ति बनाएरै आफ्नो परिवार पाल्दै आएका उनीहरु कामदेखि सन्तुष्ट पनि छन् ।

त्यहीँ छेउमै अर्का युवक आफ्ना खुट्टाका औंलाले भगवानको हात च्यापेर आकार मिलाइरहेका थिए ।

उनको नाम राजु तामाङ । स्थायी घर नुवाकोट । 

एक्काइस वर्षका राजुले सामान्य तरिकाले काम गर्दा पनि महिनामा १५ देखि २० हजारसम्म कमाउने गरेका छन् । 

‘राम्ररी काम गरेको महिना ६÷७ वटा मूर्ति बनाइसक्छु । ७० हजारसम्म कमाइ हुन्छ ।’ मिलेका दाँत देखाउँदै उनी मुस्कुराए ।

यही कमाइले उनको सात जनाको परिवारको जीवन चलिरहेको छ ।

यता विजय तामाङको कथा भने अलिक भिन्न छ । उनी मूर्ति बनाएर महिनामा नभएको पनि ४० देखि ५० हजारसम्म कमाउँछन् ।

तर उनीमाथि परिवारको गर्जो टार्नुपर्ने जिम्मेवारी छैन । त्यसैले आफ्नै लागि कमाउँछन् र आफ्नै लागि जमाउँछन् । 

पाँच वर्षदेखि यो काममा लागेका उनलाई शुरुमा काम सिक्न दुई वर्ष लाग्यो । अहिले भने उनी कामसँग रमाइरहेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?