गठबन्धन बोकेर हिँडेको कांग्रेसलाई धर्मसंकट

२०७४ को स्थानीय तह निर्वाचनमा देशका धेरै पालिकाहरुमा रहर लाग्दो उपस्थिती देखाएको नेपाली कांग्रेस यतिबेला गठबन्धनको गोलचक्करमा फसेको छ ।

भलै कम्युनिस्ट गठबन्धनका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसले आफ्नो पहिलो दलको ताज कायम राख्न सकेन । ५ वर्षको चुनावी चक्र पूरा भएर नयाँ निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भागबण्डामै रुमल्लिरहेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरू भागबण्डा मिलाउन जोडतोडले लागिरहे पनि आशातित प्रगति हुन सकेको छैन । सोमबार पनि गठबन्धनका शीर्ष नेताहरूसहित चुनावी तयारी समितिका नेताहरू दिनभरजसो छलफलमा बसे । छलफलका क्रममा दलीय अडानले महानगर र उपमहानगरको भागबण्डा समेत टुंगिएन ।

मंगलबार पुनः बैठक बसेर सहमति जुटाउने प्रयास हुने बताइएको छ । यहीबीचमा स्थानीयस्तरमा समेत गठबन्धनको बेमेल यतिसम्म बढेको छ कि कतिपय जिल्लाहरूमा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’को नाममा गठबन्धन नै भत्किसकेको समाचारहरू सार्वजनिक भइरहेका छन् ।

सरकारले घोषणा गरेको मिति अर्थात् वैशाख ३० को निर्वाचन आउन अब २३ दिनमात्र बाँकी छ । निर्वाचन आउन जम्मा तीन साताको समय रहँदा गठबन्धनमा अन्योलता र बेमेल कायमै रहेको हो ।

कांग्रेसभित्रै विरोध

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेससहित गठबन्धनमा आबद्ध दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर अघि बढ्ने संस्थागत निर्णय त गरेसँगै यसअघिको निर्वाचनमा चितवनलगायत ठाउँमा माओवादीसँग सहकार्य गरेर अघि बढ्दा घाटा लागेको भन्दै कांग्रेसभित्रैबाट विरोध भइरहेको छ ।

त्यसो त गठबन्धनको देशैभर तालमेल गरेर जाने निर्णयप्रति व्यापक विरोध हुन थालेपछि आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णयमा नेताहरू पुगे । स्थानीय तहमा कमजोर बन्दै जनाआधार गुमाउँदै गइरहेको माओवादी र भर्खरै एमालेबाट आएको एकीकृत समाजवादीलाई लिएर अघि बढ्दा केही सिट बढी जित्न सकिए पनि त्यसले कार्यकर्तामाझ नराम्रो असर पार्नसक्ने भन्दै कांग्रेसभित्रै असन्तुष्टिहरू पैदा भएको हो ।

यता तराईकेन्द्रित राजनीतिमा रहेको जनता समाजवादी र स्थानीय तहमा कमजोर अवस्थामा रहेको राष्ट्रिय जनमोर्चालाई बोकेर कांग्रेसलाई फाइदा नपुग्ने कतिपयको टिप्पणी छ ।

देशभरि तालमेल गरेर जाने निर्णय गरेसँगै सबैभन्दा बढी असन्तुष्टि चितवनमा देखिएको छ । यसअघिको निर्वाचनमा चितवनको भरतपुर महानगरमा गठबन्धन गरी कांग्रेसले हालका मेयर रेणु दाहाललाई जितायो । पुनः चितवनमा माओवादीले आफ्नो दाबी रहेको बताएपछि थप तरङ्ग पैदा भएको छ भने नेपाली कांग्रेस चितवनले तालमेल गरेर गए अब माओवादीले आफ्नो पार्टीलाई स्वीकार गर्नुपर्ने बताउँदै आएको छ ।

केन्द्रीय नेताहरूसँग समेत भेटघाट गरी फर्किएका चितवनका कांग्रेसीहरूले मेयरमा माओवादीको उम्मेदवार भएमा परिणाम जे पनि आउन सक्ने भन्दै चेतावनी दिँदै आएका छन् । त्यसो त शनिबार केन्द्रले गठबन्धन लादेर अघि बढ्न लागेमा आफूहरू स्वतन्त्र रहने भन्दै भरतपुर १७ का ५० जना कांग्रेस कार्यकर्ताहरूले राजीनामा दिएका छन् ।

देशभर कांग्रेससँग अन्य दलको तालमेलले समस्या उत्पन्न गरिरहेको भनिरहेका बेला यसअघिको निर्वाचनको परिणामका कारण पनि कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने दबाब पनि बढ्दो छ ।

कांग्रेसले यसअघि पनि माओवादी केन्द्रसँग भरतपुर महानगरसहित देशभर एक दर्जनभन्दा बढी स्थानमा सहकार्य गरेर अघि बढेको थियो । तर तालमेल गरे पनि परिणाम भने मिश्रित आयो । जस्तो कि पोखरा महानगरमा तालमेल गरेर जाँदा पनि मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भए भने ललितपुरमा एमाले र राप्रपाको तालमेल हुँदा पनि कांग्रेस विजयी भएको थियो । यता काठमाडौं महानगरमा हेर्ने हो भने राप्रपा एमाले गठबन्धन हुँदा मेयरमा गठबन्धनबाट जिते पनि उपमेयरमा भने कांग्रेसको उम्मेदवारको जित हासिल गरेको थियो ।

निर्वाचनको मिति घोषणा गर्नुअघि नै तालमेलको विरुद्धमा आवाज उठाउँदै आइरहेका कांग्रेसका केही पदाधिकारीहरू अहिले पछि हटेका छैनन् । पार्टीले गठबन्धन गरेर अघि जाने तयारी थाले पनि कांग्रेस महामन्त्री गगनकुमार थापा अझै गठबन्धनको विपक्षमा छन् । पार्टी बैठकहरूमा अझै कांग्रेस एक्लै लड्नुपर्ने सुझाव दिँदै आइरहेका छन् भने देशका विभिन्न ठाउँहरूमा उपस्थित सार्वजनिक कार्यक्रमहरूमा तल्लो तहले नचाहेमा अझै गठबन्धन हुन नसक्ने बताउँदै आइरहेका छन् ।

यता गठबन्धनको विषयमा विरोध आएपछि नेताहरूले स्थानीय आवश्यकताका आधारमा भन्दै छलफललाई तीव्रता दिइरहेका छन् । कांग्रेसका तल्ला तहका कार्यकर्ताहरू भने अहिले कांग्रेसबाहेक अन्य दलहरूको चुनावचिह्नमा मत माग्दा आउने आम निर्वाचनमा समेत मतदातामा असर पर्ने बताउँछन् ।

त्यति मात्र नभएर गठबन्धनका बैठकहरूमा दलहरूको अडानका कारण समेत भागबण्डामा असर पर्ने देखिन्छ । स्थानीय निर्वाचनमा उम्मेदवार मनोनयनको लागि अब ६ दिन मात्र मनोनयको समय रहेको छ । तर दलहरूबीच गठबन्धनको लागि अझै सहमति हुन नसक्दा निर्वाचनमा नै असर पर्ने देखिन्छ ।

यस्तो छ अघिल्लो निर्वाचनको मतपरिणाम

नेपाली कांग्रेस

नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १०५ मेयर र १६१ गाउँपालिका अध्यक्ष गरी २६६ पालिकामा जित हासिल गरेको थियो । त्यसैगरी ८४ पालिकामा उपमेयर र १३९ गाउँपालिका उपाध्यक्ष गरी २२३ स्थानमा जित हासिल गरेको थियो ।

नेकपा एमाले

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ७५३ स्थानीय तहमध्ये १२३ मेयर र १७१ पालिका अध्यक्षसहित २९४ पालिकाको नेतृत्व गरेको थियो भने १३७ जना उपमेयर र १९५ गाउँपालिका उपाध्यक्षसहित ३३२ स्थानमा जित हासिल गरेको थियो ।

माओवादी केन्द्र

गत स्थानीय निर्वाचनमा ७५३ स्थानीय तहमध्ये माओवादी केन्द्रले ३४ पालिकामा मेयर र ७२ स्थानमा गाउँपालिमा अध्यक्ष गरी १०६ स्थानमा जित हासिल गरेको थियो भने ४३ स्थानमा उपमेयर र ६८ स्थानमा उपाध्यक्षसहित १११ स्थानमा जित हासिल गरेको थियो ।

समाजवादीको हविगत

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी अस्तित्वमा छ । सो क्रममा आगामी स्थानीय तहको निर्वाचनमा एमालेको केही मत एकीकृत समाजवादीले काट्ने देखिन्छ । देशभर राम्रो संगठन बनाउन नसके पनि गठबन्धन गरेर जाँदा एकीकृत समाजवादीले समेत केही स्थानमा जित हात पार्ने देखिन्छ । तर देशभर आकर्षक महानगरसहित उपमहानगर र पालिकाको दाबी एकीकृत समाजवादीले गर्दै जाँदा गठबन्धनलाई उम्मेदवार छनोटमा थप सकस पर्ने देखिन्छ ।

गठबन्धनको गाँठो

सर्वोच्चको फैसलापछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भंग भयो । सत्ताबाट बाहिरिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुरलाई प्रधानमन्त्री बनाउने कसरतमा लागे । अन्ततः सर्वोच्चको परमादेशको बलमा २०७८ साल असार २९ गते कांग्रेससहित ५ दलको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए ।

तत्कालीन समयमा सरकार सञ्चालनको लागि देउवालाई प्रधानमन्त्री बनाइयो । बिस्तारै उक्त गठबन्धनलाई आगामी स्थानीय तहको निर्वाचनसम्म लैजाने खेल सुरु भयो । तर पार्टीभित्र र बाहिरबाट त्यसको विरोध हुन थाल्यो । प्रतिगमनलाई परास्त बनाउने उद्देश्य राखेर बनाइएको गठबन्धनले आगामी निर्वाचनमा जाँदा २०७४ सालको केस दोहोरिएला भन्दै बारम्बार कांग्रेस सचेत देखिएको थियो ।

यता नेकपा एमाले भने निरन्तर गठबन्धन भत्काएर एक्लाएक्लै निर्वाचनमा जानुपर्ने भन्दै कडा प्रतिरोधमा उत्रिन थाल्यो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनलाई एकपछि अर्को गाली गर्दै त्यसलाई छिन्नभिन्न बनाउने दाउमा लागे । उनले कहिले ५ वटा बाख्राको समूह, कहिले गोरु ब्याएर बाच्छा पाएको त कहिले स्यालहरूको हुइँया भन्दै तुच्छ बहसमा उत्रिए । त्यसो त अन्ततः गठबन्धनलाई गाली गरी फुटाउने दाउ सफल नभएपछि आफैँ गठबन्धनतिर लागेका छन् ।

सुरुमा एक्लाएक्लै लड्ने भन्दै हिँडेका एमाले अध्यक्ष ओलीले अहिले राप्रपासँग टुक्रिएको कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग तालमेल गरेर जाने निर्णय गरिसकेका छन् भने तराईका अन्य दलहरूसँग समेत तालमेल गरेर अघि बढ्ने दाउमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?